‘पन्छी’ गाएर हिट भएका अमित ‘नेपाल आइडल’बाट बाहिरिँदा..

काठमाडौँ – सांगीतिक रियालीटी शो नेपाल आइडलबाट बुटवलका अमित बराल बाहिरिएका छन् ।

पुष्पन प्रधानको ‘पन्छी’ बोलको गीत गाएपछि लोकप्रियताको शिखर चढेका बराल शुक्रबार नेपाल आइडलबाट भक्कानिदै बाहिरिएका हुन् । दर्शकको भोटका आधारमा उनले नेपाल आइडलबाट बाहिरिनु परेको हो ।

यसअघिको कार्यक्रममा अमितले पुष्पन प्रधानको स्वरमा रहेको ‘पन्छी’ बोलको गीत गाउँदा निर्णायकहरु मञ्चमै रोएका थिए । त्यसपछि सोही गीतका गायक प्रधानलाई नै कार्यक्रममा बोलाएर अमितसँगै गीत गाउन लगाइएको थियो ।

पुष्पनले आफ्नो गीतको विधाता नै अमित भएको भन्दै कार्यक्रममा उद्घोष गरेपछि उनको चर्चा थप चुलिएको थियो । शुक्रबार प्रस्तोताले नेपाल आइडलबाट अमित आउट भएको उद्घोष गरेलगत्तै अमित आँसु झारेर रुन थालेका थिए ।

अमितले नेपाल आइडलको अडिसनदेखि हालसम्म दिएका प्रस्तुतीको झलक देखाउदा उनको आँखामा आँसु छचल्किरहेको थियो । आँशु पुछ्दै आफूलाई सम्हालेर बोलेका अमितले आफ्नो सांगीतिक जीवनलाई अझै माथि पुगाउन निरन्तर प्रयास गर्ने बताए । उनले नेपाल आइडलमा ‘पन्छी’ गीत गाउन पाउँदा आफूलाई धेरै गर्भ लागेको सुनाएका थिए ।

नेपाल आइडलको उत्कृष्ट चारमा सुुमित पाठक, अस्मिता अधिकारी, रवि ओड र बिक्रम बराल पुगेका छन् ।

मंसिर २२, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्