अरु यात्रीहरुका साथमा अशोक सिलवाल ।

बाटोको कथा भन्ने साना सपनाजीवि एक यात्री

कुराको बिट मारेर छुट्टिने क्रममा उनले भने, ‘म त सपनाजीवि हुँ, त्यो पनि साना सपनाहरु । जहिलो साना सपनाहरुको पछि लागेको छु ।’

सपना, त्यो पनि सानो । उनका साना सपनाहरुलाई पछ्याउँदै अघि बढेको जीवनको एउटा पाटोबारे कुरा भएको रहेछ, कुराकानीको बिट मार्ने तरखर अघिसम्म ।

३५ वर्षका भए उनी, अर्थात अशोक सिलवाल । नुवाकोटको गाउँबाट काठमाडौँ खाल्डो पसेका उनले आफ्ना सपनाहरुको पोका फुकाउँदै लगे । पेशाले लामो समय पत्रकार रहे । त्यसपछि बिचमा सँगै शिक्षक बने । अनि अहिले मुलतः पर्यटनसँग जोडिएका छन् । उनी ट्राभल कम ट्रेकिङ्ग गाइड हुन् । र पत्रकारितासँग पनि जोडिइरहेका छन् ।

उनी गएको पाँच वर्षदेखि पर्यटनसँग जोडिएका छन् । आफूले देखेको ठाउँको कथा, अझ विशेष गरी बाटोको कथा यात्रीहरुलाई भनिरहेका छन् ।

कथा भन्ने यो पेशाले उनलाई जीवनको अर्थ खोज्न झक्झक्याएको छ । आफू भित्रबाट आफू चिन्न र अरुलाई पनि उनीहरुकै नजरमा देख्न सक्नु पर्छ भन्ने बुझाउँदै लगेको छ ।

साना सपनाहरुको रहस्य


११ दिदीबहिनी–दाजुभाइ मध्ये कान्छा अशोकले गाउँमै हुँदा पनि सदरमुकाम बसेर पढेका रहेछन् । त्यसपछि क्याम्पस पढ्न काठमाडौँ आए । बिदाको बेला घर जाँदा राजधानीको खबर अनि फर्किँदा गाउँको खबर लिएर आउने गरेको सम्झना अहिले पनि ताजा छ ।

उनले भनेका थिए, ‘त्यहि यताको खबर उता, उताको खबर यता पोको पारेर ल्याउने नजानिँदो क्रमले मलाई पत्रकारितामा जोडेको हुनु पर्छ । त्यो बेला पत्रकार बन्ने सानो सपना देखेँ र त्यसमै रमाएँ ।’

उनको खबरको पोको कहिले खाली हुँदैनथ्यो र अहिले पनि खाली छैन । खबरको दायरा फराकिलो भयो, पोकोको आकार पनि बढ्दै गयो ।
पढ्दै जाँदा उनलाई आफूले सिकेका कुरा अरुलाई बाँड्ने मन भयो । सपना देखे फेरि–शिक्षक बन्न पाए ।

शिक्षक बन्नु आफैमा ठूलो कुरा हो र यसको सपना देख्नु सानो हुँदै होइन । अशोक भने शिक्षणको आफ्नो सपनालाई पनि सानो भन्छन् । उनले क्याम्पस पनि पठाए र अहिले पनि जारी छ । तर त्यो भन्दा बढी पठाउन थालेपछि आफू साँचो अर्थमा विद्यार्थी बनेको जस्तो उनलाई लागेको छ र ‘सिकिरहेको छु’ भन्छन् ।

अहिले उनी मुलतः जोडिएको पर्यटन अर्थात आफ्नो यात्रामा अरु यात्रीलाई बाटो र त्यससँग जोडिएका कथाहरु सुनाउने पेशा ट्रेकिङ्ग गाइडको विलुप्त सपना सानैमा उनमा बसेको थियो ।

गाउँमा घुम्न पुगेको विदेशी विद्यार्थीहरुको समूहसँग सायद १० कक्षामा पढ्दा होला, उनको भेट भएको थियो । र त्यो बेला सामान्य अंग्रेजी जानेका उनले गाउँ घुमाएका थिए, केही विद्यार्थीलाई । अशोकले सम्झिए, ‘ती विद्यार्थीलाई आफ्नो गाउँ देखाउँदा नै मलाई यो घुम्ने–घुमाउने पेशामा रुची जागेको थियो । तर यसले आकार लिन लामो समय लाग्यो ।’

उनका लागि यात्रीहरुसँगको संगत त्यो पनि यात्राको सुत्रधारको रुपमा बाटो देखाउँदै र बनाउँदै हिँड्ने सपना पनि सानै लागेको हो । तर यसले दिएको विपनाको आनन्द भने ठूलो छ ।

‘माइल–स्टोन’ मोड


अलि–अलि पत्रकारिता अनि उस्तै ट्रेकिङ्ग गाइडको काम । अशोकको दैनिकी सामान्य थियो । काम चलिरहेको थियो । उनले भनेको जस्तै सपनाहरु देखेजस्तै केही बाँचेका थिए सपनाको जीवन । तर झण्डै चार वर्षअघि (२०७२ वैशाख १२) को भूकम्पले उनको जीवनमा नयाँ मोड ल्यायो ।

भूकम्पले घरहरु मात्रै हल्लाएन, उनको मन पनि हल्लायो । त्यो भन्दा बेसी एउटा गाउँ लाङ्गटाङ्ग, जसको खबर स्पष्ट रुपमा लामो समयसम्म पनि आएन कतै । उनलाई लाङ्गटाङ्ग गाउँको अवस्था जान्ने र त्यहाँको खबर साँचो अर्थमा बोक्ने रहर भयो ।

त्यसपछि केही विदेशीको टोली र काठमाडौँमा रहेका लाङ्गटाङ्गका केही व्यक्तिसहित उनी भूकम्प गएको दोस्रो हप्तापछि लाङ्टाङ्ग तिर लागे ।

भूकम्पले पूरै नामेट भएको गाउँको निशानी खोज्दै उनीसहितका टोली पहिलो पटक पुगेको थियो मानव बिहीन बनेका लाङ्गटाङ्ग गाउँमा । भूकम्प र त्यसपछिको हिम पहिरोले काला चट्टान र हिउँले घेरिएको लाङ्गटाङ्ग गाउँ कतै देखिएको थिएन । उनीहरु भत्केको र पुरिएको गाउँमाथिबाट हिँडे । कहिँ लास देखे, कहिँ खान ठिक्क पारेको खाना अनि कतै लुगा त कतै अरु दैनिक गुजाराका सामान देखे ।

लाङ्गटाङ्गको त्यो यात्रापछि अशोकले डकुमेन्ट्री बनाए । अनि सबैको सहकार्यमा पुनर्निर्माणको यात्रा सुरु भयो । अहिले लाङ्गटाङ्ग गाउँ पहिलेको भन्दा विकसित रुपमा उठेको छ । ‘अहिले बस्ती मात्रै उठेको छैन, सम्भावनाहरु सकिने रहेनछन् । सभ्यता पनि बाँचेको छ र जीविका अझ बलियो बनेर उदाएको छ लाङ्गटाङ्गमा ।’ अशोकले अघि भने, ‘मैले त्यो भत्किएको र यो अहिलेको फेरि ठडिएको अनि ठडिँदै गर्दाको लाङ्गटाङ्ग देखेको छु र अरुलाई पनि भनेको छु यसबारे । यसले जीवनलाई अघि हेर्नुपर्छ भन्ने दर्शन सिकाएको छ, साँचो रुपमा ।’

पयर्टक भर्सेज यात्री


जीवन दर्शनको कुरासँग जोडिने गर्छ यात्रा । उनी यात्रीहरुका सारथी हुन् र यात्री पनि । आफूलाई उनी पर्यटकको सहयात्री भन्दा पनि यात्रीको सहयात्री भन्न रुचाउँछन् । यसमा उनको तर्क छ, ‘यात्रीले बाटोको कथा सुन्छ, पर्यटकले गन्तव्यको ।’

साँचो अर्थातमा यात्राका लागि जहाँका लागि हिँडिएको छ त्यहाँसम्म पुग्दा पाइतालाले नापिने बाटोको कथा र त्यससँग जोडिएका जनजीविका मसिनापाटाहरु हेरिनु पर्छ । यसका लागि गन्तव्य केन्द्रित पर्यटक होइन, बाटोमा रमाउने यात्री मन पर्छ उनलाई ।

उनले भने, ‘अहिलेसम्म जहाँ गएको छु, त्यहाँको मात्रै कथा मैले मसँग हिँडेकाहरुलाई भनेको छैन । त्यो बाटोको कथा भनेको छु र उनीहरुका पनि सुनेको छु । अनि यसमै रमाइरहेको छु ।’

कुराकानीहरुकै बिचमा उनले आफूलाई लाङ्गटाङ्ग बासीले सद्भावना दूत बनाएको पनि बताएका थिए । अनि अन्त्यतिर सबैभन्दा प्रभावित पारेको क्षेत्र कुन होला भन्दा उनको प्रतिक्रिया यस्तो थियो, ‘सबै ठाउँका आफ्नै कथा छन् र ती सबै प्रिय छन् । तर लाङ्गटाङ्गको कथासँग आफू प्रत्यक्षसँग जोडिएकाले रमाइलो लाग्छ । तर मलाई हरेक नयाँ ठाउँ मात्रै होइन घुमिरहेकै ठाउँहरुको पनि नखोतलिएका कथा खोज्न थालेकाले प्रिय लाग्छ ।’

नेपालका धेरै ठाउँ पुगेका अशोक विदेश भ्रमण त्यति गएका छैनन् । तर उनले ७० भन्दा बढी देशका यात्रीलाई घुमाएका छन् र यहि कारण उनलाई आफूले पनि ती देशको यात्रा गरे जस्तो लाग्छ । किनकी, यात्रीले आफूसँगै आफ्नो भूगोल, संस्कृति र जनजीविका लिएर हिँड्छ ।

छुट्टिने बेला उनको सपनाको कुरा जोड्दै अबको सानो सपना केही छ भन्दा ‘त्यस्तो केही छैन, यात्रीहरुलाई कथा भन्न पाउँ अनि यात्राको कथा लेख्दा हुने सोही ठाउँको अर्को अर्थपूर्ण यात्रा गरिरहन पाउँ’ भने ।

सबै तस्बिर अशोक सिलवालले उपलब्ध गराएका हुन् ।