गोल गरेर पनि बेखुशी सालह, तर किन ?

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लिभरपुलले महत्वपूर्ण जित निकाल्दै शीर्ष स्थानमा आफूलाई फेरि लैजान सफल भयो ।

लिभरपुलको जितमा मोहम्मद सालहको ह्याट्रिकको भूमिका महत्वपूर्ण रह्यो । १८ महिनाअघि इटालियन क्लब रोमाबाट लिभरपुल आएका सालहले प्रिमियर लिग क्लबमा दोस्रो ह्याट्रिक गरे । उनले २५, ४८ र ७७ औँ मिनेटमा गोल गरेका हुन् ।

उनले यसअघि गएको मार्च १७ मा वोट्फोर्डसँगको खेलमा चार गोल गरेका थिए ।

शनिबार राति बोर्नमाउथलाई उसकै मैदानमा ४–० ले हराउने क्रममा ह्याट्रिक गरेका सालह खुशी देखिएनन् । सालह पहिलो गोलको क्रममा केही अफसाइड देखिएका थिए तर उनको गोलले मान्यता पायो ।

उनी पहिलो गोलमा त्यति खुशी देखिएनन् । तर तेस्रो गोलमा भने उनी उत्साहित देखिए । फ्यानहरुले ट्वीटरमा सालहलाई खुशी हुन आग्रह गरेका छन् र उनको पहिलो गोल पनि उत्कृष्ट रहेको उल्लेख गरेका छन् ।

मंसिर २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्