८ नेपालीसहित ९ युवती बेपत्ता प्रकरण

हराएका ८ युवतीको तत्काल खोजी गर्न माग गर्दै दिल्लीमा लगातार प्रदर्शन

दिल्लीस्थित नेपाली राजदूताबास अगाडि प्रदर्शन गरिँदै। तस्बिरः इन्द्रकमल जैरु/देश सञ्चार

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीको बाह्रखम्बा रोडस्थित नेपाली दूताबास अगाडि अहिले प्रदर्शन भइरहेको छ।

नेपाली राजदूताबासको चरम् लापरबाहीका कारण दिल्लीको कुख्यात वेश्यालय जीबीरोडबाट उद्दार गरी राखिएका ८ नेपालीसहित ९ जना युवती बेपत्ता भएपछि प्रदर्शन सुरु भएको हो।

आइतबार दिल्लीस्थित नेपाली समुदायको अगुवाईमा प्रदर्शन भएको हो। प्रदर्शनको अगुवाई अन्तर्राष्ट्रिय नेपाली समाज भारतको दिल्ली राज्य समितिले गरिहेको छ। समितिका संयोजक वीरेन्द्र सिंहका अनुसार युवतीहरुको खोजीका लागि दवाव दिन राजदूताबासमा ज्ञापनपत्र पनि बुझाउनेका कार्यक्रम रहेको छ।

घर पुर्याइदिन आग्रह गर्दै करिब १ वर्षदेखि हारगुहार गरिरहेका ८ नेपाली युवतीहरुसहित ९ जना दिल्लीको दिलशाद गार्डेनस्थित संस्कार आश्रमबाट गत १ डिसेम्बरको रातमा बेपत्ता भएका हुन्।

बेपत्ता भएका नेपाली किशोरीहरुमा १६ वर्षदेखि २२ वर्षसम्मका रहेका छन्। उनीहरुमध्ये ३ जना नुवाकोटका, २ जना काभ्रेका तथा तेह्रथुम, मकवानपुर र सिन्धुपाल्चोक १–१ जना रहेका छन्।

प्रदर्शनमा सहभागीले ‘प्रवासी नेपालीहरुको प्रश्न? लापरवाही किन भयो एक वर्ष?, राजदूताबास, चेलीहरुलाई नसोच बोझ, संस्कार आश्रमबाट बेपत्ता पारिएकालाई खोज, भाग्यवश चेलीहरु जीबी रोडबाट बँचे, घर जान्छु भनिरहेका उनीहरु कहाँ पसे?, अरु देशका दूताबासको सुनिँदैन यस्तो केस, हाम्रो दूताबास काम लागेन दिल्लीमा नभएकै बेस’ लगायतका नारा लगाइरहेका छन्।

जीबी रोडका कोठा नम्बर ६४ र ५६ मा रहेको जानकारी पाइएपछि दिल्ली महिला आयोगले अपराध शाखाको सहयोगमा २४ र २५ नोभेम्बर २०१७ मा दिन २ पटक छापा हानेर १७ जनाको उद्दार गरेको थियो। त्यसमध्ये १४ जना नेपाली किशोरी थिए।

त्यसपछि उनीहरुलाई क्याटेलिस्ट नामक आश्रय गृहमा राखिएको थियो। त्यस दौरान क्याटेलिस्ट आश्रय गृहबाट नै ४ किशोरीहरु बेपत्ता भएका थिए। उनीहरुको अहिलेसम्म अत्तोपत्तो छैन।

बाँकी रहेका १० जना मध्ये २ जनालाई कोर्टको माध्यमबाट आफन्तलाई बुझाइएको थियो। ८ किशोरीहरुलाई गत ४ मे २०१८ देखि संस्कार आश्रममा पठाइएको थियो। गत १ डिसेम्बरको रातदेखि उनीहरु बेपत्ता भएका हुन्।

मंसिर २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्