भारतजस्तो देशको राजदूत बन्न म योग्य व्यक्ति हुँ: निलाम्बर आचार्य

काठमाडौँ – भारतका लागि नेपाली राजदूतमा सिफारिस गरिएका निलाम्बर आचार्यले आफू भारतजस्तो देशको राजदूत बन्न योग्य रहेको बताएका छन्।

आइतबार संसदीय सुनुवाई समितिमा आफ्ना कुरा राख्दै आचार्यले भारतको राजदूत हुनका लागि पाको र राजनीतिक पृष्ठभूमि भएको व्यक्ति हुनुपर्नेमा आफूमा त्यो योग्यता रहेको बताएका हुन्।

‘भारतको राजदूत हुनका लागि पाको र राजनीतिक पृष्ठभूमि भएको व्यक्ति हुनुपर्छ, त्यो मै हुँ, मेरो उमेर ७५ वर्ष भएपनि सम्बन्धलाई राम्रोसँग अघि बढाउन म सक्षम छु,’ उनले भने।

आचार्यले नेपाल-भारत सम्बन्धमा केही आशंकाहरु रहेकोले त्यसलाई हटाउन पनि आफ्नो भूमिका सक्षम हुने बताए।

‘नेपाल र भारतबीचको समबन्ध जुन बाटोमा छ, यसमा धेरै आशंकाहरु पैदा भएका छन् म त्यसलाई निमिट्यान्न पार्ने ढंगले अगाडि बढ्नेछु,’ उनले भने।

आचार्यले दुवै पक्षले खुलस्त ढंगले आफ्ना कुरा नराखेसम्म घनिष्ठतामा देखा परेका आशंका नहट्ने बताएका छन्।

मंसिर २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्