राज्यलाई दवाव दिन जुटे प्रवासी नेपाली

आठ नेपालीसहित ९ युवती बेपत्ता प्रकरणः नेपालीले घेरे दिल्लीस्थित राजदूताबास (फोटो फिचर)

दिल्लीस्थित नेपाली राजदूताबास। र, प्रदर्शनमा उत्रिएका नेपाली। तस्बिरहरुः इन्द्रकमल जैरु/देश सञ्चार

नयाँ दिल्ली – भारतको राजधानी दिल्लीको कुख्यात वेश्यालय जीबी रोडबाट उद्दार गरी राखिएका ८ नेपाली युवतीहरु आश्रमबाट बेपत्ता भएको घटनाको विरोधमा प्रवासी नेपालीहरुले नेपाली राजदूताबासबाहिर प्रदर्शन गरेका छन्।

अन्तर्राष्ट्रिय नेपाली समाज भारतको दिल्ली राज्य समितिको अगुवाईमा दिल्लीस्थित दूतावासबाहिर नारावाजीसहित प्रदर्शन गरिएको हो। मण्डी हाउस मेट्रो स्टेशनबाट शुरु भएको र्याली राजदूताबासनजिकै पुग्नै लाग्दा प्रदर्शनकारीहरुले नारा चर्काएका थिए। साथै दिल्ली पुलिसले प्रदर्शनकारीहरुलाई कडा निगरानी र सुरक्षा घेरामा राखेको थियो।

प्रदर्शनकारीहरुले ‘प्रवासी नेपालीहरुको प्रश्न? लापरबाही किन भयो एक वर्ष?, राजदूताबास, चेलीहरुलाई नसोच बोझ, संस्कार आश्रमबाट बेपत्ता पारिएकालाई खोज, भाग्यवश चेलीहरु जीबी रोडबाट बँचे, घर जान्छु भनिरहेका उनीहरु कहाँ पसे?, अरु देशका दूताबासको सुनिँदैन यस्तो केस, हाम्रो दूताबास काम लागेन दिल्लीमा नभएकै बेस’ लगायतका नारा लगाएका थिए।

दूताबास पुगेपछि समाजका संयोजक वीरेन्द्र सिंहको नेतृत्वमा ४ सदस्यीय प्रतिनिधि मण्डलले दूताबासका प्रतिनिधिलाई १३ सूत्रीय माग समेटिएको ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमा बेपत्ता नेपाली महिलाहरुलाई तुरुन्त खोजी गरिनुपर्ने, सीमामा फितलो सुरक्षा जाँचका कारण नेपाली महिला बेचबिखनमा पर्ने गरेकाले सीमामा सुरक्षा जाँचको व्यवस्थापनमा कडाई गरिनुपर्ने, दूताबास जनपक्षीय हितका विषयमा जिम्मेवार बन्नुपर्ने, नेपाल–भारत सीमामा हुने समस्याहरुको स्थायी समाधानका लागि माथिल्लोस्तरबाटै पहल हुनुपर्ने, भारतमा नेपालीहरुले नागरिकताको आधारमा काम गर्ने वातावरण मिलाउनु पर्ने लगायतका १३ बुँदे माग समेटिएका छन्।

अन्तर्राष्ट्रिय नेपाली समाज भारतको दिल्ली समिति संयोजक वीरेन्द्र सिंहले दूताबासको गैरजिम्मेवारीविरुद्ध विरोध प्रदर्शन गरी दूताबासका अधिकारीलाई ज्ञापन बुझाएको बताएका छन्। दूताबासले घटनाबारे दुःख प्रकट गरेको र नेपाली महिलाहरुले खोज्नका लागि भारतीय प्रशासनलाई दवाव दिएको जानकारी दिँदै नेपालीहरु महिलाहरु भेटिने आश्वासन दिएको सिंहले बताए।

दूताबासले यस मुद्दालाई गम्भीरतापूर्वक नलिए आफुहरु सयौंको संख्यामा आएर दूताबास घेराउ गर्ने उनले चेतावनी दिएका छन्। घर पुर्याइदिन आग्रह गर्दै करिब १ वर्षदेखि हारगुहार गरिरहेका ८ नेपाली युवतीसहित ९ जना दिल्लीको दिलशाद गार्डेनस्थित संस्कार आश्रमबाट गत १ डिसेम्बरको रातमा बेपत्ता भएका थिए। बेपत्ता भएका नेपाली किशोरीहरुमा १८ वर्षदेखि २२ वर्षसम्मका रहेका छन्। उनीहरुमध्ये ३ जना नुवाकोटका, २ जना काभ्रेका तथा तेहथुम, मकवानपुर र सिन्धुपाल्चोक १–१ जना रहेका छन्।

जीबी रोडका कोठा नम्बर ५६ र ६४ मा रहेको जानकारी पाइएपछि दिल्ली महिला आयोगले अपराध शाखाको सहयोगमा २४ र २५ नोभेम्बर २०१७ मा दिन २ पटक छापा हानेर १७ जनाको उद्दार गरेको थियो। त्यसमध्ये १४ जना नेपाली युवती थिए। त्यसपछि उनीहरुलाई क्याटेलिस्ट नामक आश्रय गृहमा राखिएको थियो।

त्यस दौरान क्याटेलिस्ट आश्रय गृहबाट नै ४ किशोरीहरु बेपत्ता भएका थिए। उनीहरुको अहिलेसम्म अत्तोपत्तो छैन। बाँकी रहेका १० जना मध्ये २ जनालाई कोर्टको माध्यमबाट आफन्तलाई बुझाइएको थियो। ८ किशोरीहरुलाई गत ४ मे २०१८ देखि संस्कार आश्रममा पठाइएको थियो। गत १ डिसेम्बरको रातदेखि उनीहरु बेपत्ता भएका हुन्।

 

मंसिर २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्