‘मदर मुन’को तक्मा, प्रधानमन्त्रीको संशयपूर्ण धम्की

मंसिर १४ गते धादिङको घाटबेँसीमा आयोजित एक कार्यक्रममा सहभागी भएर फर्किने क्रममा हामी चढेको गाडी साँझ सात बजे नौबिसेमा रोकियो। खाजा खाएर पुनः काठमाडौँको फर्कन गाडी चढ्नै लाग्दा मेरो कानमा एउटा आवाज ठोक्कियो। करिब ४५ वर्षका एक अधवैँशे भनिरहेका थिए, ‘खै ओलीमाथिको आश पनि व्यर्थै होला जस्तो छ।’ किन त्यसो भनेका होलान् भनेर उनीतिर फर्केर हेर्दैथिएँ, टेबलमा रहेका अर्का एक बृद्धसँग उनले भनिहाले, ‘सरकारका क्रियाकलाप हेर्दा त देशाँ धार्मिक युद्ध पो होलाजस्तो छ!’

उनले भनेको ‘धार्मिक युद्ध’ शब्द थानकोटको जामजस्तै मस्तिकमा जाम भइरह्यो। उनले किन त्यसो भनेँ भन्ने भेउ काठमाडौँ आइपुगेपछि मात्र पाएँ। कोठामा आएर टिभी खोल्दै गर्दा प्रधानमन्त्री केपी शर्मा ओली एसिया प्यासिफिक समिट उद्घाटन गर्दै रहेछन्। खाना खाएर ओछ्यानमा ढल्किएपछि ट्वीटर खोलेँ। हेर्दै जाँदा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, नेताहरु भीम रावल, घनश्याम भुसालहरु आफ्नै नेताविरुद्ध असन्तुष्टिको आगो ओकलिरहेका रहेछन्। बल्ल मस्तिकको क्यासेटमा धादिङका अधवैँशेले भनेको ‘धार्मिक युद्ध’को चक्का घुम्न थाल्यो। थानकोटको जाम खुलेजस्तै मस्तिस्कको जाम हट्यो।

एसिया प्यासिफिक समिटका नाममा उपत्यकामा सञ्चालित सवारीसाधनमा लगाइको जोरविजोर प्रणालीले सर्वसाधरण आजित बनेका रहेछन्। त्यसविरुद्ध प्रदर्शन हुँदा केही गिरफ्तार भएका रहेछन्। भलै सोही दिन जनस्तरको व्यापक विरोधका कारणले सरकार जोरविजोर प्रणालीबाट पछि हट्यो। एउटा विवादित संस्थाले गरेको कार्यक्रममा सरकारको यतिविघ्न सक्रियता रहनुको कारण के थियो? जसले समिट अवधिभर प्रधानमन्त्री ओलीलाई सोल्टी होटलमा बास बस्न बाध्य बनायो? अस्पतालबाट केही महिनाअघि डिस्चार्ज भएका उनको स्वास्थ्यप्रति आम जनताको चासो छ। आफ्नो बिरामी प्रधानमन्त्री बालुवाटारमा आराम गरिरहेका होलान्, ठानिरहेका नागरिकहरु तब ब्युँतिए, जब उहाँ बालुवाटार होइन एनजिओका विदेशी पाहुनालाई सहज होस् भनेर होटल सोल्टीमै बस्नु भएको रहेछ।

जनताले दुईतिहाइ बहुमतको तक्मा लगाइदिएकै थिए। विचरा प्रधानमन्त्रीलाई त्यही बहुमतको तक्मा सहन गर्न कठिन बनिरहेका बेला ‘चर्चकी असली माता’ले सुनको तक्मामा एक लाख डलरको पाती लगाइदिएपछि नागरिक झसङ्ग भएका छन्। ओहो! हाम्रा ओजश्वी प्रधानमन्त्रीको घाँटीमा के झुण्डिएको? जनताको दुईतिहाइको सम्मान नागरिकहरुको नजरबाट देखिन थाल्यो, विस्तारै–विस्तारै! माधव नेपालले परबाट ऐना देखाइदिएपछि गलाको सुनको तक्मा टलक्क टल्किएको मात्र देखियो। ‘होली वाइन’का नाममा रेबरेण्ड मुनको शुक्रकिट सेचन गरिसकेपछि माधव कामरेडको मुहारमा छाएको कान्ति ऋषि धमलासँगको अन्तरवार्तामा बेस्सरी छचल्कियो। आफ्नै सहकर्मी भीम रावल र घनश्याम भुसालसँगको अबको भेटमा ओली र नेपालको ‘बडी ल्याङ्ग्वेज’ भित्र–भित्र कल्पिरहेँ।

निर्मला पन्त र सुशासन अवार्ड


१३ वर्षीया निर्मला पन्तको बलात्कारपछि हत्या भएको चार महिना बितिसक्यो। सिंगो मुलुक न्याय खोजी रहेछ। सरकार मस्त निद्रामा छ। विचरा कुम्भकर्ण त आरोप मात्र न खेप्न विवश छ। निर्मलालाई न्यायको गीत सत्तारुढलाई कर्कस लाग्छ। र भनिन्छ यो सरकारविरूद्धको षड्यन्त्र हो। नागरिकहरु टोलटोलबाट भनिरहेछन्, न्याय माग्नु षड्यन्त्र हो भने पटक–पटक त्यस्तो षड्यन्त्र गरिरहन्छौँ। न्याय माग्न टाँसिएका पोस्टर प्रहरी लगाएर उप्काइन्छ? लोकतन्त्रमा विरोध गर्न पाइन्न, गिरफ्तार गरिन्छ। निर्मलाबारेमा समाचार नदिन उर्दी लगाइन्छ। र, विरोधको खण्डनमा उतारिन्छन्, सरकारका प्रवक्ता। भन्छन्, ‘मलाई रेविज लागेको छैन।’

चिकित्सा विज्ञानका धुरन्धरहरु भन्छन् हो, सरकारलाई रेबिज लागेको छैन। लागेको के हो त? न्याय नदेख्ने, अपराध नदेख्ने, नागरिक नदेख्ने, डलर देख्ने, होलीवाइन मात्र देख्ने कुन्नी के रोग पो हो यो? विचरा चिकित्सकहरु अवाक छन्। हो हजुर यस्तो रोग के हो चिकित्सा विज्ञानसँग जवाफ छैन। सायद दुईतिहाइको चमत्कार होला। सुखी नेपाली समृद्ध नेपालको भरिँदै गरेको धुन पो होला।

वाइडवडी जहाज खरिदका विषयमा विवाद चर्किएको छ। जनताले सिटामोल सहजै नपाउने अवस्थामा छ। राष्ट्रपतिलाई करोडौँका विलासी गाडी खरिद गर्ने सरकारी योजना छ। सरकार भएको प्रत्याभूति भएनभन्दा स्वयं प्रधानमन्त्री सामाजिक सुरक्षा योजना कार्यक्रमको उद्घाटनमा जताजतै सरकार भएको अनुभूति गराउन पोस्टर टाँसिएको बताउँदैछन्। सरकारको आलोचना गर्न पाइन्न, गरिहाले प्रधानमन्त्रीले थला पारिदिने धम्की दिन्छन्। सायद आलोचना पचाउने ब्राण्डको हाजमोला उत्पादन हुन थालिसक्या छैन क्यारे!

योभन्दा गज्जबको सुशासन के पो होला? बलात्कारपछि हत्या गरिएकी छोरीका लागि न्याय माग्दा–माग्दै बाउ बौलाएका छन्। आमा विक्षिप्त छिन्। यस्तो सुशासनको कर्म देख्न क्षमता चाहिन्छ। विचरा भोका–नाङ्गा गरीव नेपालीसँग त्यत्रो ज्ञानको दायरा कहाँ पो छ र? क्षमता त विश्वले चिन्छ। विदेशीले चिन्छ। हो, चिन्यो कोरियाको विवादित चर्चले। र, लगाइदियो सुशासनको सुनकै तक्मा।

पैसा, पैसा, पैसा …


असली माताले त चिनिन्। तर, नेता भीम रावलले चिनेनन् क्यार आफ्नै नेता। र त मागरिहेछन् युनिभर्सल पिस फाउण्डेशन नामक संस्था र चलखेल भएको भनिएको पैसाको हिसाब। देशभरका जनप्रतिनिधिलाई ‘ब्लेसिङ’मा आउन निःशुल्क जहाज भाडा, बस्न र खान निःशुल्क हुने भन्दै निम्ता गरिएछ। कार्यक्रममा सरकारको लगानी कति छ? कुल लगानी कति भयो र पैसा कसरी, कहाँबाट आयो? धर्मान्तरणको उद्देश्यले पिस फाउण्डेशनका नाममा नेपालमा वार्षिक कति पैसा भित्रिन्छ? यसको छानबिन हुन्छ कि हुँदैन प्रधानमन्त्रीज्यू? कि सुशासन अवार्ड पाएपछि यी तमाम विषयमा मौन बस्ने वाचा गर्नुभएको छ? फाउण्डेशनका नेपाल अध्यक्ष एकनाथ ढकालले वार्षिक कति रकम भित्र्याउँछन्, र कहाँ लगानी गर्छन्? त्यसको दुरुस्त टिपोट प्रमले राख्नुभएकै होला। यो विषयमा चुप रहने हो भने ढकालले विदेश यात्रा गराइदिएको र खर्चपानी दिएको कुरा पुष्टि हुन्छ। र, यसको मूल्य नेपाल र नेपालीले लामोसमयसम्म चुकाउनु पर्नेछ। सायद, छिट्टै प्रधानमन्त्रीज्यूले त्यो पनि सार्वजनिक गर्नुहुन्छ नै होला।

हुन त, प्रधानमन्त्री ओलीले जनतासँग प्रधानमन्त्री कार्यक्रममा यो समिट धार्मिक नभएको दावी गरेपनि अन्ततः त्यो भएरै छाड्यो। असली माताले नेपाललाई क्रिश्चियन राष्ट्र बनाउन आह्वान गरिन्। कामरेड नेपालले ताली ठोके। ओली साक्षी बने। कस्तो गज्जब। हो त, संविधान अनुसार नेपाल धर्म निरपेक्ष राष्ट्र पो हो। र यहाँ जुनसुकै धर्मावलम्बीलाई कार्यक्रम गर्न छुट छ। के गर्नु बुझ्दैनन् विचरा रावल र भुसालहरु। बारम्बार भनिरहेका छन्, सरकार एउटा धर्मप्रचारको संस्थाको कार्यक्रममा लम्पसार पर्न मिल्थ्यो त? जवाफ तीनकै सहकर्मी नेपाल र ओलीले देलान् नै। संविधानको धारा २६ को उपधारा २३ मा जबरजस्ती धर्म परिवर्तन गराउन र अर्काको धर्ममा खलल् पर्ने खालका काम वा व्यवहार गर्न, गराउन नहुने व्यवस्था छ। यस्तो अवस्थामा नेपाललाई क्रिश्चियन राष्ट्र बनाउन आग्रह गर्ने हानको कार्यक्रममा सरकारको सक्रियता सहभागिता हुनुको अर्थ के? अझ चर्किएर पो सोध्छन् रावल। अर्का अबुझ भुसालको झन् गर्जन्छन् र भन्छन्, ‘पैसाको आडमा धर्मान्तरण गरेर पशुपति र गौतम बुद्धको पवित्रभूमिमा परेड खेल्ने, खेलाउने काम सह्य हुनसक्छ? कदापि हुँदैन।’

यो असह्य भो, जनमत संग्रह गरौँ


संविधान घोषणाको तीन वर्ष बितिसक्दा पनि धर्मसम्बन्धी विवाद किन कायम छ। धर्मनिरपेक्ष राखेर के बिग्रियो? किनभने धर्मान्तरण गराउने, विशेष गरेर क्रिश्चियन मिसनरीहरूको जगजगी छ। नेपालको भूसंस्कृति मासिन्छ कि भन्ने ठूलो डर छ। तथ्य भन्छ –वार्षिक १० प्रतिशतका दरले त हो क्रिश्चियन बढेको।

लामो समयको द्वन्द्वको अन्त्य पश्चात २०६३ सालमा जारी भएको अन्तरिम संविधानमा नेपाललाई हिन्दु राष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्र बनाइयो। द्वन्द्वको अन्त्य र शान्तिको अनुभूति गर्न नेपाली जनताले देशलाई धर्मनिरपेक्ष बनाउँदा चुपचाप बसेका होइनन् र? आजका मितिसम्म पनि धार्मिक दृष्टिकोणले सबै धर्मवलाम्बीहरूले एकअर्काको अस्तित्व स्वीकारेकै छन्। नेपालमा धार्मिक सहिष्णुता छ, रहनुपर्छ। तर, यसको मतलब धर्मनिरपेक्षताको नाममा अर्बौ डलर खन्याएर सनातन धर्ममाथि प्रहार गर्ने र धर्मान्तर गराउने स्वतन्त्रता रहनुपर्छ भन्ने होइन, एकैस्वरमा मीन विश्वकर्मा, लक्ष्मणलाल कर्ण र पशुपति राणा पो भन्दैछन्।

कमल थापा एक दशकयता रटानमा छन्, ‘यसै धर्मनिरपेक्ष घोषणा गरिएको होइन, यो त कसैले बोकाइदिएको एजेण्डा थियो।’ जुन एजेण्डा तत्कालिन पुनर्स्थापित संसदले पारित गरायो। यसो हुनुमा सबै कुनै एक दलको मात्रै दोष छैन, सबै दल उत्तिकै छन्। सायद, त्यो बेला पैसाको आडमा धर्मान्तर तीव्र हुनेछ भन्ने हेक्का राखिएन। अब दलहरूको चेत खुल्न आवश्यक छ। सत्तारूढ दल स्वघोषित यशुकी छोरीसँग आशिर्वाद थाप्न गइसक्यो। कम्तिमा प्रतिपक्षी नेपाली कांग्रेसले हिन्दु राष्ट्रबारेमा जनमत संग्रह गर्ने एजेण्डालाई प्रधान बनाओस्। महामन्त्री शशांक कोइराला यसै भन्दैछन्। षडयन्त्रपूर्वक नेपाललाई धर्मनिरपेक्ष घोषणा गरियो शेखर पनि भन्दैछन्।

र, अन्त्यमा यो ‘ब्लग’को आशय मुलुकमा धार्मिक द्वन्द्व हुनुहुँदैन र पैसाको आडमा धर्मान्तर हुनहुँदैन भन्ने नै हो। यसका लागि दुई विकल्प छन्, आर्थिक प्रलोभनमा धर्मान्तरण रोकौं, होइन भने जनमतसंग्रह गरौँ। यो अवस्थामा क्रिश्चियन मिसिनरी चक्रव्यूहबाट मुलुकलाई बचाउने हो भने जनमत संग्रह गर्नुको विकल्प छैन। आखिर लोकतन्त्रमा जनता नै सर्वैसर्वा हुन्। आगे असली माताका चेलाहरुकै मर्जी।

मंसिर २३, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्