सुनसरीमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान, एकजनाको मृत्यु

सांकेतिक तस्बिर ।

काठमाडौँ – सुनसरीमा प्रहरी र अज्ञात समूहबीच गोली हानाहान हुँदा एकजनाको मृत्यु भएको छ ।

कोशी गाउँपालिकाको वडा नम्बर ७ मुसरी टोलमा गस्तीमा रहेको प्रहरीटोलीमाथि अज्ञात समूहले गोली चलाएको र जवाफी फायरिङ्गका क्रममा एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्र फुयालले जानकारी दिए ।

उनले राजमार्गबाट तीन किलोमिटरको दूरीमा रहेको क्षेत्रमा चोरी डकैति नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयबाट तैनाथ प्रहरीटोलीमाथि एक्कासी गोली प्रहार भएको तर प्रहरीतर्फ कुनै क्षति नभएको जानकारी दिए ।

उनले चार/पाँच जनाको समूहमा रहेका व्यक्तिहरुले प्रहरीमाथि आक्रमण गर्न खोज्दा जवाफी फायरिङ्गमा मृत्यु भएका अन्दाजी ३५ वर्षका व्यक्तिको सनाखत हुन नसकेको बताए ।

उक्त समूहमा रहेका अरु व्यक्तिहरु भने भारततर्फ भागेको फुयालले जानकारी दिए । मृतकको साथबाट गोली लोड गरिएको दुईवटा नलकटुवा पेस्तोल र खल्तीमा चार राउण्ड गोली बरामद गरिएको प्रहरीले जनाएको छ ।

मृतकको शव परिक्षणका लागि धरान अस्पतालमा राखिएको छ ।

मंसिर २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्