नादिया मुराद

‘यौन दासी’ देखि नोबेल पुरस्कार विजेतासम्म

बेचिएर यौन दासी बनेकी एक चेली जसले आफ्नो पीडामा शोक गरेर नबसी आफू र अरुहरुको न्यायका लागि आवज वुलन्द बनाएकी छन् ।

यी कामको कदर स्वरुप उनले सन् २०१८ को नोबेल शान्ति पुरस्कार पाउँदै छिन्, इराककी नादिया मुराद । यो वर्षको नोबेल शान्ति पुरस्कार नादिया मुराद र डेनिस मुकवेगले पाउँदैछन् सोमबार नर्वेको ओस्लोमा हुने विशेष समारोहका बिच ।

इराकको कोजोकी नादिया २५ वर्षकी भइन् । नोबेल शान्ति पुरस्कारसम्मको यात्राको क्रममा उनले बोल्न नसकिने वा भन्न नसक्ने पीडा भोगेकी छन् । अल्पसंख्यक यजिदी समुदायकी नादियाले साहसका साथ आफ्नो कथा भनेकी छन् ।

उनी सन् २०१४ मा अपहरणमा परेकी थिइन् । अरु यजिदी महिला तथा युवती र किरोशीसँगै अपहरणमा परेकी नादियामाथि बलात्कार भयो । उनी बेचिइन् र यौन दासीका रुपमा प्रयोग गरियो । उनीहरुलाई बिद्रोही संगठन इस्लामिक स्टेट (आइएस) का लडाकुले अपहरण गरेका थिए ।

यसरी अपहरणमा पर्नेमा नौ वर्षका बालिका पनि छन् । झण्डै सात हजार यजिदी महिला तथा किशोरीलाई यौन दासीको रुपमा प्रयोग गरेका थिए । त्यसध्ये तीन हजार जना अहिले परिवारमा फर्किएका छन् । एक हजारलाई पुनर्स्थापना गरिएको छ भने तीन हजार महिला तथा किशोरी अझै बेपत्ता छन् ।

नादिया जस्तै लामिया एजी बाशर पनि धेरै पटक किनिइन् र बेचिइन् । ल्याण्ड माइनले उनी नराम्रोसँग घाइते भइन् । अहिले उनी स्वतन्त्र भएकी छन् र सचेतनाका लागि बोल्न थालेकी छन् ।

अपहरण गरिएका महिला तथा किशोरीहरुलाई बजारमा लगेर बेच्ने गरिएको खुलेको थियो । उनीहरुको मोलतोल हुने गर्थ्यो । महिला तथा किशोरीहरुलाई ह्वाट्स एपसहितका सामाजिक सञ्जाल मार्फत पनि किन्ने वा बेच्ने गरिएको थियो ।

इराकको उत्तरी क्षेत्रमा बस्दै आएका आदिवासी यजिदीमाथि आइएसले सन् २०१४ मा ज्यादती सुरु गरेको हो । त्यहाँ हजारौँको आमहत्या भएको संयुक्त राष्ट्रसंघले जनाएको छ । आइएसले धार्मिक रुपमा अल्पसंख्यक यजिदी समुदायलाई घृणा गर्ने गरेका थिए ।

यौन दासीका रुपमा प्रयोग गरिएका महिला तथा किशोरीमाथि उनीहरुले गर्ने व्यवहार निकै भयानक र डरलाग्दो हुने गरेको थियो । केहीको हत्या पनि भएको छ ।

आइएसको हिंसाका कारण विस्थापित भएका यजिदीहरु अहिले क्याम्पमा छन् । उनीहरुलाई आधारभूत आवश्यकताकै अभाव छ ।
आइएसको चङ्गुलबाट मुक्त भएकी नादियाले अहिले यजिदीका लाग विश्वव्यापी अभियान चलाउँदै आएकी छन् ।

यहि प्रयासका लागि उनले नोबेल शान्ति पुरस्कार पाएकी हुन् । आइएसबाट भयानक यातना भोगेका सबै यजिदी महिला तथा किशोरीका लागि न्यायको माग गर्दै उनले अभियान चलाएकी छन् ।

नादियालाई आइएसका लडाकुले सन् २०१४ को सेप्टेम्बरमा अपहरण गरेका थिए र उनलाई यौन दासीका रुपमा प्रयोग गरिएको थियो । तर उनी त्यहि वर्षको नोभेम्बरमा आइएसको पकडबाट भाग्न सफल भइन् र न्यायका लागि वकालत गर्न थालिन् ।

उनले आफूमाथि भएको घटनाका बारेमा सन् २०१५ को डिसेम्बर १६ मा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकमा बताएकी थिइन् । उनले आफ्नो अनुभवलाई समेटेर ‘द लास्ट गर्ल : माई स्टोरी अफ क्याप्टिभिटी, एण्ड माई फाइट एग्नेस्ट द इस्लामिक स्टेट’ नामक पुस्तक लेखेकी छन् ।

तस्बिरहरु : बिबिसी, रोयटर्स, एएफपी