ललितपुरलाई पोखराले दियो १६७ रनको लक्ष्य, लेभीले बनाए ८४ रन

काठमाडौँ- दक्षिण अफ्रिकी ब्याट्सम्यान रिचर्ड लेभीको शानदार ब्याटिङपछि पोखरा राइनोजले एभरेस्ट प्रिमियर लिग-इपिएल क्रिकेटमा ललितपुर प्याट्रियट्सलाई एक सय ६७ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको पोखराले निर्धारित २० ‌ओभरमा ४ विकेट गुमाएर एक सय ६६ रन जोड्यो।

लेभीले ८४ रन बनाए। उनले ३९ बलमा ९ छक्का र तीन चौका हिर्काए। विकेटकिपर विनोद भन्डारीले अविजित ३४ रन बनाए। कायल कोएट्जरले १९ र पल कौलिनले १९ रनको योगदान गरे। लेभीले कोएट्जरसँग पहिलो विकेटका लागि ९७ रनको साझेदारी गरेका थिए।

यसअघि टोलीको पहिलो खेलमा आईतबार लेभीले ७९ रन बनाएका थिए। त्यस खेलमा पोखराले दुई सय १६ रनको लक्ष्य दिएपनि भैरहवा ग्लाडियटर्सले जित हात पारेको थियो। पहिलो खेलमा पराजित भएको ललितपुरले दोस्रो खेलमा चितवन टाइगर्सलाई हराएको थियो।

ललितपुरविरुद्ध पोखराले सुरुको १० ओभरमा ९७ रन बनाएपनि अन्तिम १० ओभरमा अपेक्षित रन जोड्न सकेन। पवन सर्राफले चार ओभरमा ३१ रन दिएर तीन विकेट लिए।

मंसिर २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्