विभिन्न क्षेत्रका अगुवाको उदाहरणीय कार्य

‘मर्निङ वाक’ जाँदा बनेको योजनाले बृद्धाश्रमका लागि जुट्यो तीन लाख

नेपालगञ्ज – ‘मर्निङ वाक’ जाने एउटा समूह। त्यो समूहमा डाक्टर, अधिकारकर्मी, अधिवक्ता, राजनीतिज्ञ, निजामति कर्मचारी, स्कूल सञ्चालक, व्यवसायी र पत्रकार छन्। पानी पर्दा होस् या हावाहुरी चल्दा यो समूहका व्यक्ति बिहान सडकमा निस्किन छोड्दैन। यी बाह्रैमासे मर्निङ वाकर हुन्।

मर्निङ वाकको एक दिन। चिया पिइरहँदा गफ भयो, केही नयाँ काम गरौँ। तिहारको आसपास थियो। देउसीभैलोको माहौल। गफैगफमा एउटा सहमति भयो, एकदिन निश्चित घरमा देउसीभैलो खेल्ने र उठेको रकम बृद्धाश्रमलाई दिने।

मेडिकल कलेज नेपालगञ्जका प्रबन्धक निर्देशक डा. सुरेश कनोडिया, भेरी अञ्चल अस्पतालका पूर्व मेडिकल सुपरीटेन्डेन्ट डा. प्रकाशबहादुर थापा, भेरीका डा. बद्री चापागाई, इन्सेकका क्षेत्रीय संयोजक भोला महत, पत्रकार श्रीराम सिग्देल, राजनीतिज्ञ रत्न खत्री, निजामती कर्मचारी कृष्णबहादुर रोकाय, माइती नेपालका केशव कोइराला, बार नेपालगञ्जका अध्यक्ष विकास आचार्य, पूर्वअध्यक्ष सुनिल श्रेष्ठ, स्कूल सञ्चालक ईश्वरप्रसाद पोखरेल, व्यवसायी नारायणदत्त ढकाल, सञ्जीव बस्नेत, कृष्ण जिसी, राजीवविक्रम शाहको टोली लक्ष्मीपूजाको दिन कलाकारलाई लिएर देउसीभैलो खेल्न निस्कियो।

भुडी घटाउन मर्निङवाक गर्ने यो समूहले आठ ठाउँमा देउसीभैलो खेल्यो। नेकपाका नेता विजयकुमार गुप्ता, मेडिकल कलेजका डा. कनौडिया, डा. विनोद थापा र डा. गोपाल श्रेष्ठले ५१–५१ हजार दक्षिणा दिए। उद्योगपति कन्हैयालाल वैद्यले ३१ हजार, प्रदीप छाजेडले २५ हजार र वेष्टर्न बिजनेश गु्रपले २५ हजार र चम्पालाल बोथराले २१ हजार दिए। एकदिनको देउसीभैलोमा ३ लाख ६ हजार रुपैयाँ जम्मा भयो।

कलाकारलाई पारश्रमिक, उनीहरुलाई खाजा, गाडी र नृत्य प्रशिक्षकलाई पुरस्कार गर्दा २९ हजार ५ सय खर्च भयो। बाँकी रह्यो, २ लाख ७६ हजार पाँच सय। त्यसमा मर्निङ वाकका टोलीले २३ हजार ५ सय थपेर तीन लाख रुपैयाँ पुर्याए।

त्यो तीन लाख रुपैयाँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर सोमबार नेपालगञ्जको नीलसागर असहाय, अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रलाई दिइएको छ। मर्निङ वाक गु्रपका अगुवा डा. कनोडियाले एक समारोहका बीच केन्द्रकी अध्यक्ष सरिता खनाललाई तीन लाख रुपैयाँका चेक हस्तान्तरण गरे। डा. कनोडिया, डा. चापागाई र महतले बृद्धा, असहाय, अशक्तलाई थोरै भएपनि सहयोग गर्न पाउदा खुशी लागेको बताए।

नीलसारगमा अहिले ३८ जना छन्। राज्यको सहयोगबिना दाताहरुको सहयोगले यो चलेको छ। ‘जन्मदिन, स्मृति दिवसका अवसरमा हामीलाई सहयोग गर्छन्,’ केन्द्रकी अध्यक्ष खनालले भनिन्, ‘परोपकारीले गर्दा अहिलेसम्म केन्द्र चलेको छ।’

वि.संं. २०७३ मा खनालले सुनको औठी र चेन बेचेर नीलसागरको शुरुवात गरेकी थिइन्। उनलाई अमन सुवेदीले साथ दिए। विस्तारै नील सागरमा सहयोगको दायरा फराकिलो हुँदै गएको छ। दाताहरुले मासिक सहयोग गरेका छन्। भवन बनाउनका लागि जग्गादान गरेका छन्।

केन्द्रकी अध्यक्ष खनालले बागेश्वरी मन्दिर होस् या सडकलाई भीख माग्ने या असहाय अशक्त व्यक्ति मुक्त गराउनु पर्ने बताइन्।

मंसिर २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्