काठमाडौँबाट इटहरी जाँदा बाटैमा लुटिए एक यात्रु

विराटनगर – धनकुटा साँगुरीगढी गाँउपालिका घर भएका खगेन्द्र लिम्बू काठमाडौँबाट इटहरी आउने क्रममा लुटिएका छन्। धरान बसोबास गर्दै आएका लिम्बू १९ महिना दुबईमा परिश्रम गरी घर फर्किएका हुन्।

सोही क्रममा शनिबार ना६ख १५६१ नम्बरको रात्री बसमा अचेत अवस्थामा भेटिएका लिम्बू दाजुको छोरीको विवाहका लागि घर फर्किएका हुन्।

त्यही क्रममा बसभित्रै आइतबार बिहान अचेत अवस्थामा भेटिएको बसका चालकले बताएका छन्। इटहरीमा उनलाई ओराल्न खोज्दा अचेत अवस्थामा भेटिएपछि बसका कर्मचारीले विराटनगर ल्याएका थिए।

घटनालगत्तै आफन्तलाई खबर गरेपछि लिम्बूलाई कोशी अञ्चल अस्पताल पुर्याइएको थियो। उनको उपचार हुन त्यहाँ हुन नसकेपछि विराटनगरकै नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो।

आइतबार नोबेलमा भर्ना गरिएका लिम्बूको होस सोमबार दिउँसोबाट खुलेको थियो। होसमा आएका लिम्बूले धनुषाको ढल्केबरमा ओर्लिएर चिया खाएर गाडीमा चढेपछि आफूलाई केही पनि थाहा नभएको बताएका छन्।

अचेत अवस्थामा भेटिएका लिम्बूको साथबाट दुबईको ७ सय दिराम, नेपाली २६ हजार रुपैयाँ र १० ग्रामको सुनको औँठी लुटिएको लिम्बूका दाजु पे्रमकुमार लिम्बूले बताए। प्रेमले भने, ‘भाइसँग भएको रकम र सुन लुटिएको र मोबाइल र घाँटीमा लगाइएको सुनको सिक्री यथावत रहेको थियो।’

यात्राका क्रममा कुनै नशालु पदार्थ सुँघाएर बेहोस् बनाएपछि उनमाथि लुटपाट भएको हुनसक्ने आशंका आफन्त र प्रहरीको छ।

बस कर्मचारीका अनुसार बेहोस अवस्थामा भेटिएका लिम्बूको नजिकमा ट्राफिक जवान नरबहादुर आलेमगर बसेका थिए। आलेमगर महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका लागि रवना पत्र लिएर हिँडेका थिए।

घटनाबारे अनुसन्धानमा खटिएको प्रहरी टोलीले खगेन्द्र र ट्राफिक जवानबीच राति चिनजान र कुराकानी भएको जनाएको छ। तथापि, लिम्बू बेहोस भएको कुरा आलेमगरले इटहरीमा मात्रै थाहा पाएको प्रहरीको भनाइ छ। उनीमाथि प्रहरीले सोधपुछ सुरु गरेको छ।

प्रहरीले बसका बुकिङ क्लर्क मोरङ सुन्दरहरैंचा नगरपालिका अनिश राई र सहचालक सुनसरी भन्टाबारीका २१ वर्षीय शिवनारायण यादवमाथि सोधपुछ थालेको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी घनश्याम श्रेष्ठले प्रारम्भिक अनुसन्धान भइरहेको जानकारी दिएका छन्।

मंसिर २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्