हवल्दार चौधरीमाथि प्रहरी प्रधान कार्यालयले छानबिन गर्ने

विराटनगर – फौजदारी कसुरको मुद्दा चलाइएका बहालवाला प्रहरी हवल्दार सवदनारायण चौधरीको विषयलाई लिएर प्रहरी प्रधान कार्यालय काठमाडौँले छानबिन थालेको छ।

विराटनगरस्थित प्रदेश नम्बर एक प्रहरी कार्यालयमा कार्यरत हवल्दार चौधरीलाई केही समयअघि एउटा घटनामा कारबाही गर्ने क्रममा त्रुटी भेटिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन अघि बढाएको प्रहरी प्रवक्ता एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका हुन्।

प्रहरी हवल्दार सवदनारायण चौधरीलाई फौजदारी कसुरमा मुद्दा चलाइए पनि मोरङ प्रहरीले निलम्बन नगरेको घटना पछिल्लो पटक धेरै विवादित बन्न पुगेको थियो।

बहालवाला हवल्दारलाई मुद्दा चलाउँदा मोरङ प्रहरीबाट गम्भीर लापरबाही गरिएको विषय उठान भएकाले छानबिन थालिएको सुवेदीको भनाइ छ।

घटनाका विषयमा प्रहरी प्रधान कार्यालयले डिआइजीको नेतृत्वमा रहेको उजुरी छानबिन शाखालाई छानबिनको जिम्मेवारी सुम्पिएको छ।

सुवेदीले भने, ‘घटनामा संलग्न प्रहरीलाई जोगाउने क्रममा वास्तविकता बङ्ग्याएर अनुसन्धान गरिँदा प्रहरी संगठनकै ठूलो बदनाम भएको छ।’ उनले छानबिनका क्रममा सम्बन्धित प्रहरी कार्यालय र प्रहरी हवल्दारसँग पनि आवश्यक कुरा बुझ्ने बताए।

जिल्ला प्रशासन कार्यालय मोरङ, जिल्ला सरकारी वकिल कार्यालयसँग समन्वय गरेर आवश्यक प्रमाण संकलन गर्दै घटनाको छानबिन गरिने भएको छ।

मंसिर २४, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्