हेल्थ टिप्स

खतरनाक ‘रोटा भाइरस’बाट बच्चाहरुलाई कसरी जोगाउँने ?

काठमाडौँ – जाडो, मौसम सुरुभएसँगै विभिन्न खालका मौसमी रोगहरुको संक्रमण फैलने खतरा हुन सक्छ । त्यसो त जाडोयाममा सबैभन्दा धेरै ससाना बालबालिका र  ज्येष्ठ नागरिकहरुमा रोगहरुको संक्रमण उच्च रहने गर्दछ ।

तर जाडो मौसमको सुरुवातसँगै बालबालिकामा रोटा भाइरसका कारण संक्रमण हुने सम्भावना रहने भएकोले सचेत रहन डाक्टरहरुले आग्रह गरेका छन्। टेकु अस्पताल काठमाडौँका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले स्वाशप्रस्वाशको समस्यापछि रोटा भाइरसका कारण हुने झाडापखालाको संक्रमण सबैभन्दा खतरनाक रहेकोले यसबाट बच्न सुझाव दिए ।

नेपालमा मात्रै नभई विश्वभर रोटा भाइरसका कारण लाग्ने कोल्ड डायरियाको शिकार भई ज्यान गुमाउने बालबालिकाहरुको संख्या उच्च रहेको उनले बताए ।

डा. पुनले भने, ‘मरो अहिलेसम्मको अनुभवका आधारमा बच्चाहरूमा निमोनियापछि जाडोको समयमा देखिने सबैभन्दा ठूलो महामारी भनेको रोटा भाइरसका कारण लाग्ने झाडापखाला (कोल्ड डायरिया ) नै हो । जाडो याममा जति पनि झाडापखाला देखिन्छ, त्यसको ३५ प्रतिशतभन्दा बढी संक्रमणको कारण रोटा भाइरस नै हो । त्यसैले यसबाट बच्न सचेत रहनुपर्छ ।’

रोटा भाइरस जाडो मौसममा बढी सक्रिय रहन्छ । रोटा भाइरसले खास गरी पाँच वर्षमुनिका बालबालिकाहरूलाई बढी प्रभावित पार्छ । प्रायः पाँच वर्षभन्दा मुनिका बालबालिकाहरू यसको शिकार हुने गरेकोले यसलाई ‘बेबी किलर’ पनि भन्ने गरिएको डाक्टर पुनले बताए ।

रोटा भाइरस फोहोरमैला, पानी वा खानामा हुन्छ । यो भाइरस कुनै पनि माध्यमबाट शरीरमा गयो भने झाडापखाला लाग्ने गर्छ । विशेष गरी दिसामा भएको भाइरस खानेकुराको माध्यमबाट शरीरमा प्रवेश गरी झाडापखाला लाग्ने डाक्टर पुन बताउँछन् ।

बच्चालाई छुनुअघि र केही खुवाउनुपहिले साबुन पानीले राम्रोसँग हातधुने र सरफाईमा विशेष ध्यान दिन उनको सुझाव छ ।

पाँच वर्षसम्म बालबालिकाहरू हिँडडुल गर्ने र जे पायो त्यही मुखमा हाल्ने हुँदा उनीहरूमा यो भाइरस छिटो प्रवेश गर्छ । पछिल्लो समय मन्टेश्वरी विद्यालयमा विद्यार्थीहरु भर्ना गरिने भएकोले त्यहाँ कुनै बच्चामा यसको संक्रमण देखिएमा उसलाई निको नभएसम्म घरमै राख्न डा. पुनले सुझाव दिए ।

‘सरुवा रोग भएकोले भिडभाडमा रोटा भाइरसको संक्रमण फैलन सक्ने खतरा उच्च रहन्छ, दिसाबाट  पनि भाइरस अन्यमा सर्न सक्छ । साथै संक्रमित बच्चाहरुले खोक्दा समेत अन्यलाई सर्ने भएकोले त्यस्ता बच्चालाई निको नहुन्जेल विद्यालय पठाउँनु हुँदैन,’ डाक्टर पुनले भने ।

डा. शेरबहादुर पुन

बच्चाहरुमा रोगसँग लड्न सक्ने क्षमता एकदमै कम हुने भएकोले रोटा भाइरसको संक्रमण भएलगत्तै  झाडापखाला सुरु हुन सक्ने भएकोले सुरुवाति लक्षण देखिनासाथ उपचारका लागि डाक्टरलाई देखाउन डाक्टर पुनले सुझाव दिए ।

उनले पानी जस्तो पातलो दिसा भएमा, कोखा हानेमा, ज्वरो आएमा, बान्ता भएमा घ्यार घ्यार गरेमा हेलचेक्राई नगर्न आग्रह गरे ।

विश्वभर खतरनाक रुपमा रहेका रोटा भाइरसको संक्रमणबाट बच्न सबैभन्दा उत्तम विकल्प यसविरुद्धको खोप नै रहेको डा. पुन बताउँछन् ।

तर नेपालमा सरकारले यो खोपलाई अभियानका रुपमा सञ्चालन गर्ने तयारी गरेपनि व्यवहारमा लागु नगरेका कारण समस्या छ ।

तर निजी अस्पतालमा भने यो खोप पाइने गरेको छ ।

यसका साथै शुद्ध पानी, ताजा र सफा खानेकुरा मात्रै खुवाउनुपर्छ । घर वरपर बच्चाहरुले बढी उठबस गर्ने ठाउँसधैँ सफा राख्नुपर्छ । खाना खानुअघि र पछि साबुनपानीले राम्रोसँग हात धुनुपर्छ ।

मंसिर २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्