प्रदेश २ को नाम मधेश राख्नुपर्छ: महतो

विराटनगर- संविधान संशोधनका विषयमा सरकार गम्भीर नभएकाले राष्ट्रिय जनता पार्टी राजपा सरकारमा सामेल नहुने राजपा संयोजक राजेन्द्र महतोले बताएका छन्। विराटनगरमा मङ्गलबार आयोजित एक कार्यक्रममा संयोजक महतोले सरकारलाई समर्थन दिए पनि सरकारले संविधान संशोधनमा चासो नदेखिएकोमा आक्रोश ब्यक्त गरे।

त्यसैगरी कार्यक्रममा प्रदेश नम्बर दुईको राजधानीका रुपमा जनकपुरको विकल्प नभएको महतोले बताए। ‘प्रदेश नम्बर दुईको राजधानी जनकपुर र नाम मधेश प्रदेश हुँदा सबैको भावना समेटिन्छ,’ उनले भने।

जनकपुर ऐतिहासिक तथा धार्मिक हिसाबले समेत सबैको भावनालाई समेट्ने भएकाले राजधानी हुनुपर्ने बताएका संयोजक महतोले अरुको बारेमा त्यती साह्रो भनिरहनुपर्ने आवश्यक्ता नभएको स्पष्ट पारे। यस विषयमा धेरै विवाद नहुने बताएका महतोले प्रदेश र राजधानीको नाम प्रदेश सभा बैठकले टुङ्ग्याउने र उसैको अधिकारको विषय भएको प्रस्ट्याए। वर्तमान संघीय सरकार प्रत्येक कुरामा असफल हुँदै गएको बताएका महतोले सरकारलाई दिँदै आएको समर्थन फिर्ता हुनसक्नेतर्फ पार्टीभित्र पनि छलफल भइरहेको बताए।

मंसिर २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्