निजी विमानमा जन्ती बनेर जनकपुर आउँदै छन् मुख्‍यमन्त्री आदित्यनाथ

जनकपुरधाम- बुधबार हुने विवाहपञ्‍चमी समारोहमा सरिक हुन भारत उत्तर प्रदेशका मुख्‍यमन्त्री योगी आदित्यनाथ आफ्‍नै निजी विमानबाट जनकपुर आउने भएका छन्। उनी बुधबार बिहान १० बजे जनकपुर आउन लागेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले देश सञ्‍चारले बताए।

उनले भने, ‘मित्रराष्ट्र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्‍यनाथ बुधबार बिहान १० बजे उहाँ विवाहपञ्चमी समारोहमा सहभागी आफ्‍नै निजी विमानमा आउँदै हुनुहुन्छ।’

उनले देशमा अब प्रदेश सरकार स्थापना भइसकेकोले यस वर्ष भव्यरुपमा विवाहपञ्चमी मनाउने निर्णय गरिएको मन्त्री यादवले बताए।

उनले भने, ‘प्रदेशका लागि, जनकपुरको लागी विवाहपञ्चमी ठूलो पर्व हो। यसवर्षदेखि प्रदेश सरकारले भव्यताका साथ विवाहपञ्चमी मनाउने निर्णय गरेको छ भने यही अवसरमा मित्रराष्ट्र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री जनकपुर आउन लागेका हुन्।’

सुरक्षा व्यवस्था कडा


जनकपुरको ‘अतिथि देवो भवः’ संस्कार अनुसार अतिथिलाई आदर सत्कार गर्न ९० प्रतिशत तयारी भइसकेको र बाँकी १० प्रतिशत तयारी मंगलबार रातिसम्म पूरा हुने कानुन तथा गृहमन्त्री यादवले बताए।

बुधबार १० बजे जनकपुर विमानस्थलमा आइपुग्ने योगीलाई सुरक्षा दिन प्रदेश २ सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ। योगीको सुरक्षाका लागी २५ सय नेपाल प्रहरी, ७ सय सशस्त्र प्रहरी परिचानल गरिएको छ। ३ सय सैनिक परिचालन गरिएको छ र २ सय ५० जना सादा पोसाकका प्रहरी परिचालन गरिएको गृहमन्त्री यादवले जनाएका छन्।

यस्तै नगरको ठाउँ ठाउँमा सिसिटीभी क्यामेरा जडान गरिएको र २ वटा ड्रोन क्यामेराले पनि गतिविधि निगरानी गर्ने व्यवस्था मिलाइएको उनले बताए।

जनकपुरमा योगीको कार्यक्रम

साढे १० जनकपुर पुग्ने योगीले सर्वप्रथम जानकी मन्दिर पुगेर आधा घण्टा जति पूजा गर्ने कार्यक्रम छ, त्यसपछि सबै मन्त्रालयहरु रहेको ‘मधेश भवन’ जाने कार्यक्रम रहेको जनाइएको छ।

योगीको मधेशभवनमा मिथिला संस्कृति अनुसार स्वागत गरिने साथै योगीसाथै आएका साधुसन्तहरुलाई दिवाभोजमा सहभागी गराउने कार्यक्रम रहेको छ।

मिथिलाको ५६ प्रकारको भोजन गराइसकेपछि योगीको ऐतिहासिक बाह्रविघा गई स्वंयम्वर कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ।

मंसिर २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्