विवाह पञ्‍चमीको पाँचौ दिन ‘मटकोर’को रौनक

पहेँलो सारीमा सजिएकी दुलही सीताले गरिन् नगर परिक्रमा

जनकपुरधाम- विवाहपञ्‍चमीको पाँचौ दिन मंगलबार ‘मटकोर’ विधि भव्‍य रुपले सम्पन्‍न भएको छ। मिथिलाको विधिविधान अनुसार जनकपुरधाम स्थित गंगाासागर पोखरीबाट मडवाका लागि पवित्र माटो उत्खनन् गरिने विधिलाई मटकोर भनिन्छ। पोखरीबाट उत्खनन् गरिएको उक्त माटो जानकी मन्दिरमा ल्याएर ‘मडवा’ बनाउने गरिन्छ।

त्रेतायुगमा सीता र रामको विवाहका लागि यज्ञवेदी निर्माण गर्न गंगा सागरबाट पवित्र माटो उत्खनन गरी लगिएकाले बर्षेनि विवाह पञ्चमी महोत्सवमा यहाँबाट माटो लगिने परम्परा रहेको जानकी मन्दिरका सह-महन्थ रामरोशन दास वैष्णवले जानकारी दिए।

मिथिलाको विधिविधान अनुसार बेहुली पक्षबाट मटकोर गरी दुलही सीतालाई पहेँलो रङ्गको सारी, चोलो लगायत नयाँ लुगा लगाई सागरमा नुहाउने गरिन्छ। मटकोरमा जानकी मन्दिरबाट बाजागाजा तथा झाँकीसहित स्थानीय महिलाहरु सहितको टोली पुगेर जनकपुरधामको गंगासागरमा माटो लिईसकेपछि नगर परिक्रमा गर्ने प्रचलन समेत रहेको छ।

मटकोर कार्यमा श्रद्धालु महिला संलग्न भई विवाह सम्बन्धी सान्दर्भिक गीतलाई लोक भाकामा गाउने परम्परा छ। मटकोर कार्य सम्पन्न भएपछि मिथिलाञ्चलमा बदाम, पुरी र खीर वितरण गर्ने चलन रहेको जानकी मन्दिरका रामतपेश्वर दास वैष्णवले जानकारी दिए। मिथिलाको वैवाहिक पद्धति तिलकोत्सव तथा मटकोर एउटा महत्वपूर्ण विधि हो।

यही मटकोरको माटोबाट विवाह पञ्चमीका दिन जानकी मन्दिरमा भगवान श्री राम र माता सीताको विवाहका लागि यज्ञबेदी निर्माण गरिने छ भने त्यही वेदीमा शुभविवाहका दिन सातफेरा घुमाउने गरिन्छ। मंसिर २६ गतेका दिन राम सीताको शुभविवाह कार्यक्रम हुनेछ।

मंसिर २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्