डेढ विगहामा तामझामले वृक्षरोपण, संरक्षणको अभावले भयो उजाड

नेपालगञ्ज – साउनको ९ गते सीमा प्रहरी चौकी, जयसपुरमा सानोतिनो मेला नै लाग्यो। जिल्ला न्यायाधीश, नेपालगञ्ज उपमहानगरपालिकाका उपमयेयर, प्रमुख जिल्ला अधिकारी, एसएसपी, एसपी, उद्योग वाणिज्य संघका अध्यक्षलगायतको जमघट थियो।

त्यो जमघट प्रहरीको हरियाली अभियानले जुटाएको थियो। सीमा प्रहरी चौकीको मातहतमा रहेको करिव डेढ विगाह जमिनमा वृक्षारोपण गरिँदै थियो। गन्यमान्य व्यक्तित्वहरुले विभिन्न जातका बिरुवा रोपे।

जिल्ला न्यायाधीश विष्णु सुवेदी, उपमेयर उमा थापा, तत्कालीन प्रजिअ रमेश केसी, एसएसपीद्वय घनश्याम अर्याल र देवबहादुर बोहरा, एसपी टेकबहादुर तामाङ, उद्योग वाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले एक–एक वटा बिरुवा रोपे। आँप, लिची, अनार, अम्बा, सागुन, निबु रोपेर गन्यमान्य व्यक्तित्वहरुले फलाएर ‘खाने’ आशय व्यक्त गरे।

तर, दुर्भाग्य। डेढ विगाहमा रोपिएको एक हजार विरुद्धमा एउटा पनि बचेन। बिरुवा रोपेको केही दिन हरियाली देखिएको सीमा प्रहरी चौकीको परिसर अहिले उजाड भइसकेको छ। बिरुवा बचाउन तारबार गरिएपनि आवश्यक मलजल नपुर्याउदा गन्यमान्यहरुले खानेको भनेको फल नै लाग्न पाएन। बिरुवा नै नबचेपछि फल कहाँबाट लाग्नु?

सीमा प्रहरी चौकी जयसपुरमा फलफूलको बिरुवा रोपेको यो नै पहिलो होइन। त्यसअघि पनि त्यहाँ त्यसैगरी तामझामका साथ बिरुवा रोपिएको थियो। बिरुवा रोप्ने र स्याहार नगर्ने काम चलिरहेको छ।

सीमापछि प्रहरीले यसरी नै तामझाम गरेर इलाका प्रहरी कार्यालय जमुनाहाको परिसरमा फलफूलको बिरुवा लगायो। त्यहाँ अहिले केही बिरुवा देख्न सकिन्छ। बिरुवा रोप्न बनाएका धेरै ड्याङ त खाली नै भइसकेको छ। यी दुई ठाउँका घटनाले प्रहरीले बिरुवा बचाइहाल्छ नि भन्ने स्थानीयको भनाई मिलेको छैन।

त्यसो त स्थानीय पनि प्रहरीले बिरुवा रोपेकाले बाख्रा, गाइहरु जाने बित्तिकै कारबाहीमा परिन्छ भनेर सतर्क भएका थिए। स्थानीयले त्यस्तो डर धेरै महिना मान्नु परेन। स्याहार नपाएर बिरुवा आफैँ मरे।

‘सडकमा बसेर भारतबाट सामान बोकेर आएका मान्छेलाई चेक गर्ने कि, बिरुवामा पानी हालेर बस्ने?’ प्रहरीलाई गाह्रै थियो। थोरै जनशक्ति र त्यसमा पनि सडकमा जाँचमा बस्नु पर्ने बाध्यताले गर्दा बिरुवाको स्याहार हुन नसकेको त्यहाँका अधिकारीहरु बताउँछन्।

रुख रोपेर मात्रै हुँदैन, त्यसलाई स्याहार गरेर हुर्काउन गाह्रै हुन्छ। हाकिमहरुको लहडका भरमा विरुवा रोपिहाल्ने र पछि मासिदासम्म उनीहरु अर्कै जिल्लामा गइसक्ने घटनाक्रमले देखाएको छ। एक स्थानीयले भने, ‘यद्यपि, उनीहरुले बसुञ्जेल राम्रै गर्न खोजेकोमा दुई मत छैन, जयसपुरको हरियाली अभियानले भने प्रहरीलाई जिस्क्याइरहेको छ।’

मंसिर २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्