१२ जिल्लामा कृषिमा नमूना योजना

विचौलियाको ठगी रोक्न सहकारी बजार स्थापना गरिने, यसै वर्ष ६ करोड बजेट

दूध संकलन गर्दै दाङको एक सहकारीका कर्मचारी।

दाङ – प्रदेश ५ का १२ जिल्लामा सहकारी बजार स्थापना गरिने भएको छ। कृषि उपज संकलन, बिक्री वितरण कार्यमा बिचौलिया हावी हुँदा किसानले ठगिएको जनाउँदै किसानले उत्पादन गरेका सामग्रीको बजारीकरण गर्न सहकारी बजार स्थापना गर्न थालिएको हो।

भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सहकारी बजारको अवधारणा ल्याएको हो। सहकारी बजार स्थापना गर्न प्रदेश ५ मा ६ करोड रुपैयाँ बजेट छ।

प्रत्येक जिल्लामा एउटा सहकारी हुने छ। त्यो सहकारीलाई ५० लाखको दरले बजेट उपलब्ध गराइने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटाले बताए।

‘किसानले उत्पादन गरेको सामग्री सहकारीले खरीद गर्ने र सहकारीमार्फत ग्रेडिङ गरेर बिक्री गर्ने, किसानलाई कृषि सामग्रीहरु उपलब्ध गराउनेगरी सहकारीले काम गर्ने छ, विगतका वर्षहरुमा पनि यस मोडेलमा काम नभएका होइनन्, तर हामीले यसलाई नमूना बनाएर लैजान खोजेका छौँ,’ देवकोटाले भने, ‘कृषि उपजका सामग्रीहरु प्रशोधन गरेर बिक्रीवितरण गर्नेसम्मको क्षमता सहकारीको विकास गरेर लगिने छ।’

प्रदेश ५ स्तरीय सहकारी बजार स्थापनाको बिषयमा लमहीमा सरोकारवालाहरुसँग छलफल गरिएको छ। छलफलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री आरती पौडेलले किसानले उत्पादन गरेको कृषि उपजको उचित मूल्य निर्धारण गरेर बजारीकरण गर्ने उद्देश्यले सहकारी बजारको कार्यक्रम ल्याइएको बताइन्।

छलफलका सहभागी।

‘खेतबारीमा दुःख, मेहनत किसानले गर्ने तर, त्यसको बढी नाफा बिचौलियाले लिने परिपाटीको अन्त्य गर्न चाहन्छौँ,’ मन्त्री पौडेलले भनिन्, ‘किसानलाई धनी बनाउन उनीहरुले नै खोलेको सहकारीलाई बजारको रुपमा विकास गर्न चाहन्छौँ।’

प्रदेश सरकारले योजनाहरु कार्यान्वयन गर्न छलफल थालेपछि सरोकारवालाहरु उत्साहित भएका छन्। ‘कृषिसँग सम्बन्धित सहकारीलाई लक्षित गरेर कार्यक्रम बनाइएको पाइयो, मन्त्रालयले राम्रो कार्यक्रम अघि सारेको छ,’ उद्यमशील कृषि बहुउद्देश्यीय सहकारी संस्था लमहीका अध्यक्ष दिलीपराज खनालले भने, ‘सहकारी बजारहरुको उपकेन्द्रहरु खोलियो भने सजिलो हुन्छ।’

मंसिर २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्