भोलि विवाहपञ्‍चमी !

जानकी मन्दिरमा दर्शन गर्न नेपाल-भारतका भक्तजनको घुइँचो

जनकपुरधाम- विवाह पञ्‍चमीको अघिल्लो दिन रामजानकी मन्दिरमा दर्शन गर्ने भक्तजनको भीड लागेको छ। त्रेता युगमा अयोध्‍याका रामले जनकपुरकी सीतासँग यही दिन विवाह गरेको संझनामा दर्शन गर्न आउने भक्तजनको भीड लागेको हो।

बिवाह पञ्चमीको अवसरमा जनकपुरधामस्थित रामजानकी मन्दिर परिसरमा भक्तजन । तस्बिर-रासस

जनकपुर यतिबेला नेपालका आन्तरिक तथा भारतका विभिन्‍न राज्‍यबाट भक्तजनहरुको आउनेक्रम जारी छ। जानकी मन्दिर परिसरमा विहानैदखेखि दर्शनका लागि भक्तजनहरु आइरहेको मन्दिर परिषद्‌ले जनाएको छ।

भोलि हुने विवाहपञ्‍चमी समारोहमा सरिक हुन भारत उत्तर प्रदेशका मुख्‍यमन्त्री योगी आदित्यनाथ आफ्‍नै निजी विमानबाट जनकपुर आउने भएका छन्। उनी बुधबार बिहान १० बजे जनकपुर आउन लागेको प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले देश सञ्‍चारले बताए।

उनी जनकपुर आउने भएपछि यहाँको सुरक्षा व्‍यवस्था कडा बनाइएको छ। जनकपुरको ‘अतिथि देवो भवः’ संस्कार अनुसार अतिथिलाई आदर सत्कार गर्न ९० प्रतिशत तयारी भइसकेको र बाँकी १० प्रतिशत तयारी मंगलबार रातिसम्म पूरा हुने कानुन तथा गृहमन्त्री यादवले बताए।

बुधबार १० बजे जनकपुर विमानस्थलमा आइपुग्ने योगीलाई सुरक्षा दिन प्रदेश २ सरकारले सुरक्षा व्यवस्था कडा पारेको छ। योगीको सुरक्षाका लागी २५ सय नेपाल प्रहरी, ७ सय सशस्त्र प्रहरी परिचानल गरिएको छ। ३ सय सैनिक परिचालन गरिएको छ र २ सय ५० जना सादा पोसाकका प्रहरी परिचालन गरिएको गृहमन्त्री यादवले जनाएका छन्।

मंगलबार विवाहपञ्‍चमीको पाँचौ दिन मंगलबार ‘मटकोर’ विधि भव्‍य रुपले सम्पन्‍न गरिएको छ। पहेँलो सारीमा सजिएकी दुलही सीतालाई नगर परिक्रमा गराइएको थियो।

यता, केन्द्रीय सरकारका तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियन्त्रणा दिए पनि अस्वस्थताका कारण सरकारका केन्द्रीय पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारी जनकपुर आउने कार्यक्रम रहेको छ।

मंसिर २५, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्