विधानसभा चुनावको परिणाम र प्रतिक्रिया

नरेन्द्र मोदी र अमित शाहले कल्पनै नगरेको राहुल गान्धीले गरेर देखाएका हुन् ?

सन् २०१९ को आम चुनावको ठीक अघि पाँच राज्यमा भएको विधानसभा चुनावको मतपरिणामलाई फाइनलअघिको सेमिफाइनल मानिएको थियो ।

यो सेमिफाइनलमा कांग्रेसले यस्तो देखायो कि, उ भारतीय जनता पार्टी (भाजपा) लाई उसकै गढमा चुनौती मात्रै दिन सक्ने होइन, सत्ताबाटै बाहिर पठाउन सक्छ ।

यी नतिजाले दिएको सबैभन्दा पहिलो कुरा यहि हो कि राहुल गान्धी नरेन्द्र मोदीको सामना राम्रोसँग गर्न सक्छन् । राहुल गान्धीले यो साबित गर्न सफल भए कि, उनी नरेन्द्र मोदीलाई चुनौती दिन सक्छन् र उनको सामना गर्न तथा हराउन पनि सक्छन् ।

वरिष्ठ पत्रकार एवम् गान्धी परिवारबारे जानकारी भएका रशीद किदवई भन्छन्, ‘स्पष्ट छ कि यी नतिजाले राहुल गान्धीको आत्मविश्वास बलियो बन्ने छ र सन् २०१९ मा उनी यो भन्दा पनि भव्य तयारीका साथ चुनावी मैदानमा जाने छन् ।’

राहुल गान्धीको यो जितमा मध्य प्रदेश र छत्तीसगढमा १५ वर्षदेखि रहेको भाजपा सरकारको अविश्वसनियताको भूमिका छ भने राजस्थानमा बसुन्धरा राज्य सरकारप्रति जनताको निराशा पनि कारक छ ।

तर यी चुनावमा राहुल गान्धीले आफूलाई नेताको रुपमा पनि विकसित गरेका छन् ।

वरिष्ठ पत्रकार संजीव श्रीवास्तव भन्छन्, ‘मध्य प्रदेशमा कमलनाथ, दिग्विजय सिंह र ज्योतिरादित्य सिंधिया मिलेर चुनाव लडिरहेको थिए, आन्तरिक होड पक्कै थियो तर राहुल गान्धी पार्टीलाई एकजुट गरेर राख्न सफल भए ।’

यति मात्रै होइन राहुल गान्धीले राजस्थानमा बाहिरबाट गएर सचिन पायलटले संगठनको काम गर्न सकुन् भन्ने पनि सुनिश्चित गरे । यस्तै अशोक गहलोत जस्ता अनुभवी नेता राज्यमा पुगेर चुनावी अभियानलाई बलियो बनाउनुमा पनि राहुलको भूमिका महत्वपूर्ण रह्यो । पायलत र गहलोतबिच आन्तरिक तनाव रहेको खबर आइरहे तर उनीहरुले मिलेर चुनावी रणनीति बनाए ।

राहुल गान्धीको मेहनत


छत्तीसगढमा राहुल गान्धीले आफ्ना नेताबिचको विवाद र खिचातानीको सामना गर्नु परेन तर त्यहाँ पार्टीसँगै प्रभावशाली नेता थिएनन् । यस्तोमा मान्न सकिन्छ कि छत्तीसगढका जनताले राहुलकै विश्वासमा मत दिएका हुन् ।

छत्तीसगढमा कांग्रेसले ९० मध्ये ६८ सिट जितेको छ । यो राज्यमा राहुलले चुनावी अभियानका लागि पाँचपटक भ्रमण गरे । उनले १८ वटा चुनावी सभामा सम्बोधन गरे ।

राज्यका वरिष्ठ पत्रकार दिवाकर मुक्तिबोध भन्छन्, ‘राहुल गान्धीका सबै सभामा जनताको उपस्थिति राम्रो थियो, खासगरी उनले आफूहरुको सरकार बनेमा १० दिन भित्र किसानको ऋण माफी गर्ने र घोषणा पत्रमा रहेका सबै दाबीहरु समय–सीमा भित्रै पूरा गर्ने बताए ।’

छत्तीसगढमा कांग्रेसले भाजपाको तुलनामा १० प्रतिशत बढी मत पायो । राजस्थान, मध्य प्रदेशमा भन्दा छत्तीसगढमा कांग्रेसले बलियो जित हाँसिल गर्न सक्यो ।

मध्य प्रदेश र राजस्थानमा भाजपाले कांग्रेसलाई कडा टक्कर दियो तर राहुल गान्धीका लागि खुशीको कुरा यो हो कि यी दुई राज्य भाजपा र राष्ट्रिय स्वयंसेवक संघको प्रभावको हिसाबले बलिया हुन्, यस्तोमा पनि जित निकाल्न सक्नु राहुल गान्धी तथा कांग्रेसका लागि आत्मविश्वास बढाउने कुरा हो ।

वर्षभरिमा चमत्कार


यो रोचक र उत्साहप्रद छ कि यी नतिजा राहुल गान्धी कांग्रेसको अध्यक्ष बनेको ठीक एक वर्षपछि आएका हुन् । लोकसभा चुनाव आउन चार महिना पहिला भाजपाले सबैभन्दा धेरै सिट जितेका राज्यमा सत्ता हाँसिल गर्नमा राहुल गान्धी सफल हुँदैछन् । यसले राहुल गान्धीलाई सन् २०१९ को प्रतिस्पधाको ‘टोन’ दिएको छ ।

पञ्जाब, गुजरात अनि कर्नाटक, त्यसपछि मध्य प्रदेश, राजस्थान र छत्तीसगढको चुनावी नेतृत्व सम्हालेका राहुल समयसँगै राजनीतिक रुपमा परिपक्क हुँदै गएको देखिएको छ । मध्ये प्रदेशमा राहुल गान्धीले २६ तथा राजस्थानमा १५ वटा चुनावी सभालाई सम्बोधन गरे । यी दुई राज्यमा प्रधानमन्त्री नरेन्द्र मोदीले १०–१० वटा चुनावी सभामा सम्बोधन गरेका थिए ।

राजस्थानमा एउटा चुनावी सभामा राहुल गान्धीले भनेका थिए, ‘यदि राजस्थानमा कांग्रेसको सरकार बन्यो भने विश्वास गर्नुस् तपाईँहरुको सरकार पहिले हुनेछ र कांग्रेसको त्यसपछि ।’

रशीद किदवई भन्छन्, ‘चुनाव जितेपछि अब राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा कसरी मुख्यमन्त्री चयन गर्ने छन् भन्ने कुराले पनि राहुल गान्धीको राजनीतिक परिपक्कता देखिने छ ।’

ती राज्यको नतिजापछि राहुल गान्धीलाई ठूलो फाइदा यो हुनेछ कि आउँदा दिनमा उनको नेतृत्वमा क्षेत्रीय पार्टीका नेताबाट कुनै चुनौतीको सामना गर्नु पर्ने छैन । चाहे तृणमुल कांग्रेसकी ममता बेनर्जी हुन् या बहुजन समाज पार्टीकी मायावती, यी सबैका लागि राहुल गान्धीको नेतृत्वमा प्रश्न गर्न त्यति सजिलो छैन ।

यसका संकेत समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले मध्य प्रदेशको चुनावी नतिजा आउँदै गर्दाको ट्वीट गरेर कांग्रेसलाई समर्थन गर्ने घोषणाबाट मिल्छ । अखिलेशले ट्वीट गरेका छन्, ‘जब एक–एक मिलेर ११ हुन्छ, तब ठूला–ठूला नौ–दुई एघार हुन्छन् ।’

अझै पनि शक्तिशाली छन् मोदी–शाह


यो स्पष्ट छ कि राहुल गान्धीको स्वीकार्यता आम जनतासँगै अरु राजनीतिक दलमा पनि बढेको छ । राहुलको पल्ला भारी हुने अर्को एक फ्याक्टर पनि छन् ।

राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा चुनावी सभामा राहुल गान्धीले लगातार आम जनता, गरिब, दलित र किसानका मुद्दा उठाए । यसबाहेक रफायल मुद्दा र बैंकहरुका डुबेका रकमका बारेमा उनले प्रश्न गर्दै गए ।

अर्को तर्फ उनको सामु नरेन्द्र मोदी छन्, जो लगातार यी प्रश्नको जवाफ दिनबाट पर भाग्दै आएका छन् । किनकी यी प्रश्नको सीधा उत्तर मोदीसँग छैन । पाँच वर्ष सरकार चलाएपछि जवाफ दिने पालो मोदीको हुनेछ । प्रधानमन्त्रीका रुपमा अब उनी हरेक कुराको जिम्मेवारी बितेको ७० वर्षलाई दिन पाउने छैनन् ।

यसबिचमा राहुल गान्धी हिन्दु मतदातालाई रिझाउनका लागि मन्दिर धाउन पनि सिकेका छन् । यो उनले भाजपाबाटै सिकेका हुन् । तर यो सत्य हो कि राहुल गान्धी अति आत्मविश्वासको अवस्थाबाट बच्नु पर्ने छ ।

किनकी देशभर लोकप्रिताको हिसाबमा अझै पनि नरेन्द्र मोदी सबैभन्दा अघि देखिन्छन् । र मध्य प्रदेश–राजस्थान जस्ता राज्यमा भाजपाको भोट प्रतिशतमा खासै कमी आएको पनि छैन ।

(यो सामग्री बिबिसी हिन्दीका लागि पत्रकार प्रदीप कुमारले तयार पारेको लेखबाट साभार गरिएको हो ।)

मंसिर २६, २०७५ मा प्रकाशित