साङ्केतिक तस्बिर।

नेपालगञ्ज – बाँकेमा आफ्नै हजुरबाले १३ वर्षीया नातिनीलाई जबरजस्ती गरे । पाल्लामा १० वर्षीया र रुपन्देही जिल्लामा १४ वर्षीयालाई शिक्षकले नै यौन दुव्र्यवहार गरे । बर्दिया जिल्लामा विद्यालयको शौचालयमा नै बालिका बलात्कृत भइन् ।

दाङ र रुपन्देहीमा सुस्त मनस्थिति भएकी महिला बलात्कृत भए । कपिलबस्तुमा ३० वर्षीया सकुन्तला यादवले पतिबाट हुने हिंसा सहन नसकेर छोराछोरीलाई आफ्नो शरीरमा बाँधेर मट्टितेल खन्याई आगो लगाइन् । रुपन्देहीमा दाइजो नल्याएको आरोपमा महिलाको संवेदनशील अंगमा डाम्ने काम भयो ।

जनवरीदेखि नोभेम्बर (पुसदेखि मंसीर) सम्ममा ५ नम्बर प्रदेशमा यी लगायत यस्ता धेरै मानव अधिकारविरुद्धका घटना भएको इन्सेकले जनाएको छ । मानव अधिकारका क्षेत्रमा काम गर्ने संस्था इन्सेकले यो अवधिमा एक सय ५१ बालिका पीडित भएको जनाएको छ ।

‘धेरैजसो आफन्ती, चिनेका व्यक्तिबाटै बलात्कृत भएका छन्, इन्सेकका ५ नम्बर प्रदेश संयोजक भोला महतले भने, ‘१ सय ५१ जनामा केहीमात्रै कुटपिट, यातनाका छन् ।’

तथ्यांकले विशेष गरेर बालिकाहरु घरभित्रै असुरक्षित रहेको देखाउँछ । आफन्ती अझ हाडनाता नै पर्ने व्यक्तिद्वारा बालिका असुरक्षित भएका छन् । ‘विद्यालयदेखि घरभित्र बालिका असुरक्षित भएका छन्, यो डरलाग्दो छ’, महतले भने ।

यो अवधिमा राज्य पक्षबाट दुईजना पुरुषको हत्या भएको छ भने गैरराज्य पक्षबाट १६ जना महिला मारिएका छन् । महिलाविरुद्ध हुने सबै प्रकारका भेदभावमा ४ सय ३० जना पीडित भएका छन् । आर्थिक, सामाजिक र सांस्कृतिक अधिकारका दश वटा घटना भएका छन् ।

जातीय विभेदमा १३ जना प्रताडित भएका छन् । ५ नम्बर प्रदेशमा १२ जिल्ला रहेका छन् । यो प्रदेशमा ६७.६७ प्रतिशत साक्षरता रहेको छ ।

मंसिर २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्