जनकपुरमा कसरी हुनेछ राम र सीताको विवाह?

जनकपुरधाम – भगवान राम र सीताको मंसिर शुक्लपञ्चमी तिथिका दिन विवाह भएको स्मरणमा जनकपुरमा बुधबार धुमधामका साथ विवाहपञ्चमी मनाईँदैछ ।
त्रेता युगमा अयोध्याका राजा दशरथ पुत्र राम र मिथिलाको राजा जनक सुपुत्री सीता आजकै दिन परिणय सूत्रमा बाँधिएको स्मरणमा प्रत्येक वर्ष जनकपुरवासीले भव्यताका साथ सीताराम विवाहमहोत्सव मनाउँदै आएका छन् ।

मिथिलाको राजधानी जनकपुरमा सम्पन्न भएको विवाह अनुसार नै जनकपुरमा एकहप्ता पहिला देखी नै वैवाहिक विधी शुरु हुन्छ, भने विवाहको एकदिन अगाडि अयोध्याबाट जन्ती आउने गर्दछन् ।

सप्ताहव्यापी रुपमा मनाइने विवाहपञ्चमी महोत्सव अन्तर्गत आज स्वंयवर तथा शुभविवाह हुँदै छ । मंसिर २१ गतेबाट सुरु भएको विवाहोत्सवमा पहिलो दिन मंसिर २१ गते नगरदर्शन, मंसिर २२ गते फूलवारी लिला, मंसिर २३ गते धनुष यज्ञ, मंसिर २४ गते तिल्कोत्सव र विवाहको पूर्व संध्यामा मंसिर २५ गते अर्थात मंगलबार राम र जानकीको मटकोर कार्यक्रम सम्पन्न भइसकेको छ ।

आज छैटौं दिन रामाजानकीको विवाह पश्चात रामकलेवा गरी विधिवत रुपमा सीताराम विवाहपञ्चमी महोत्सव समापन हुने जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णवले जानकारी दिए ।

विवाहपञ्चमीको एकदिन पहिले देखिनै श्रद्धालुले भरिएका जनकपुरमा आज पुष्पवृटि हुन लागेको छ । आज जानकी मन्दिरमा रामजानकी विवाह आम वैवाहिक सम्बन्ध भन्दा फरक रहेपनि वैवाहिक प्रक्रियाको पालना भने आम स्वरूपमा नै हुन्छ ।

जन्ती रथ र घोडा सहित जनकपुर पुगे


विवाहपञ्चमीमा प्रत्येक वर्ष लाखौं श्रद्धालु जनकपुरधाम आउने गर्छन् । यसवर्ष पनि जन्ती पौराणिक शैलीमा यात्रा गरी अयोध्याबाट जनकपुरधामसम्म आइपुगेका छन् । घोडा, रथ, राम, लक्ष्मण, विश्वामिंत्रको झाँकी सहित ऐतिहासिक जन्ती यसवर्ष जटहि नाका भएर नेपाल छिरेका हुन् ।

पहिला पहिला भिठ्ठामोड भएर जनकपुर छिर्ने जनती यसवर्ष रुट परिवर्तन गर्दै जटही नाकाबाट नेपाल छिरेका छन् ।

यस्तै, विवाहोत्सवमा भारतको विभिन्न ठाउँ अयोध्या, यूपी, विहार, दिल्ली, गोरखपुर, लखनउँ र आंध्र प्रदेशबाट जनतीसँगै श्रद्धालु आएका छन् भने नेपालको धनुषा सहित महोत्तरी, सिरहा सर्लाही, सप्तरी, बारा यस्तै राजधानी काठमाडौँबाट पनि श्रद्धालुहरु जनकपुर पुगेका छन् ।

मंसिर २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्