विश्‍वास गुमाउँदै प्रहरी

सुदूरपश्‍चिमका ठूला अपराधिक घटनाको अनुसन्धानमा प्रहरी असफल

फाइलफोटो: नविल बैक लुटपाट गरिएको जीप। मालाखेती-३,चौकीडाँडा सामुदायिक वनको जङगलबाट जीप नियन्त्रणमा लिएका थिए।

धनगढी-सुदूरपश्चिममा भएका ठूला अपराधिक घटनाको अनुसन्धानमा प्रहरी असफल भएको छ। नयाँ आउने प्रहरी अधिकारीले घटनाबारे चासो नलिदा मुद्दाको टुंगो लाग्नेमा आशंका व्यक्त गरिएको छ।

कैलाली जिल्लामा भएका दुई घटनामा प्रहरीको अनुसनधान असफल भएको हो। गोदवारी नगरपालिकाको मालाखेतीबाट नबिल बैंकको रकम लुटिएको सोमबार पाँच बर्ष पुरा भइसकेको छ। तर रकम कसले लुटेको हो भन्ने अझै खुल्न सकेको छैन्।यसअघि गरिएका थुप्रै अनुसन्धान निष्कर्षविहीन छन्।

पाँच वर्षअघि नबिल बैंकको महेन्द्रनगर शाखाबाट धनगढीस्थित नेपाल राष्ट्र बैंक कार्यालयमा जम्मा गर्नका लागि ल्याउन लागिएको २ करोड ३० लाख ६० हजार रुपैया ट्राफिकको पोसाकमा रहेका लुटेराले फिल्मी शैलीमा कैलालीको साबिकको मालाखेती-३,चौकीडाँडा सामुदायिक वनको जङगलबाट जिप नियन्त्रणमा लिएर लुटेका थिए।

गाडीमा नबिल बैंकको काठमाडौं कार्यालयबाट केही दिनका लागि आएका अडिटर शुक्रराज भट्टराई, क्यासियर सत्यमान तामाङ, गार्ड गंगादत्त भट्ट र चालक दिलबहादुर चन्द थिए। उनीहरु लगायत केहीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिएपछि केही प्रमाण नभेटाउँदा प्रहरीले छाडेको थियो।

घटना सम्बन्धमा नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सिआइबी) को टोलीले समेत छानविन गरेपनि कुनै परिणाम दिन सकेको सकेन। सोही घटनामा पोलिग्राफ (साचो झुटा बोलेको जाच गर्ने मेसिन) को प्रयोग गरिएपनि अनुसन्धान सफल हुन सकेको थिएन।

फाइल फोटो: हत्या गरिएका ओमप्रकाश पन्त।

सरुवा भइ आउने हरेक प्रहरी अधिकारीले यो घटनामा अनुसन्धान गर्ने बताउने गरेका थिए। यो घटनापछि पाँच जना डिआइजीले यो प्रदेशको प्रहरीको नेतृत्व सम्हालेका छन् भने दुई जना एआइजीले पनि छोटो अवधिका लागि नेतृत्व सम्हालेका छन्। यो घटना हुँदा नेतृत्वमा रहेका केही प्रहरी अधिकारी सेवा निबृत समेत भइसकेका छन्।

पुरानो घटना भएका कारण अनुसन्धान कहाँ पुगेको छ भन्‍ने नै आफुलाई जानकारी नभएको सुदूरपश्चिम प्रदेशका डिआइजी सुरज केसीले बताए। नबिल बैंक लुटपाट प्रकरण जस्तै प्रहरी अनुसन्धान सफल नभएको अर्को घटना ओमप्रकाश पन्त हत्या प्रकरण हो।

छ वर्षअघि धनगढी-४ उत्तरबेहडीका पन्तको तारानगरमा बिभत्स हत्या भएको थियो। ओम प्रकाशको हत्या भएको ६ वर्ष पुरा भएपनि अहिलेसम्म हत्यारा पत्ता लाग्न सकेको छैन्।

यस प्रकरणमा पनि जिल्ला प्रहरी कार्यालय, कैलालीको टोलीसँगै सिआईवीदेखि उच्च स्तरीय छानविन टोली समेत गठन भएपनि अनुसन्धानमा कुनै सफलता प्राप्त हुन सकेको छैन् । यो घटना भएपछि कैलालीमा प्रहरी उपरिक्षकका रुपमा ८ जना प्रहरी अधिकारीहरुले काम गरिसकेका छन्।

हाल यी दुबै घटनामा प्रहरीले अनुसन्धान नै बन्द गरिसकेको प्रहरी स्रोतले बताएको छ । घटनापछि सुदूरपश्चिम आउने प्रत्येक प्रहरी महानिरीक्षकदेखि यस क्षेत्रका डिआईजी, एआईजी, एसपी लगायतले यसअघि घटेका ठूला अपराधिक घटनाको छानविन थाल्ने आश्वासन भने दिएका थिए।

तर, ठूला अपराधिक घटनाको छानविन थाल्ने आश्वासन दिएका प्रहरी अधिकारीले घटनामा चासो नदिदा पीडित पक्षले समेत न्याय पाइने आशा मारिसकेको छ।
पछिल्लो समय नयाँ आएका प्रहरी अधिकारीले त पुराना घटना बारे जानकारी समेत लिन छाडेका छन्।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख सुरज केसीले घटना पुरानो भएका कारण आफूले यसबारे अध्ययन नगरेका कारण केही जानकारी नभएको बताए।
कैलालीमा नयाँ आएका प्रमुख प्रहरी उपरीक्षक आभूषण तिमिल्सेनाले पनि ओम प्रकाश पन्त प्रकरण र नविल बैक लुटपाट घटनाबारे अनविज्ञता जनाए। उनले केही दिनमा घटनाबारे जानकारी लिने बताए।

यसले पनि प्रदेश र जिल्लामा नया आउने प्रहरी अधिकारीले पुराना घटनाको अनुसन्धानमा ध्यान नदिएको प्रष्ट पारिदिएको छ। धनगढीको तारानगरमा ६ बर्ष अघि मारिएका ओमप्रकाश पन्तका आफन्तले घटनाको अनुसन्धानमा प्रहरीले चासो नदिएको गुनासो गरेका छन्।

ओमप्रकाशका वुवा श्रीकृष्ण पन्तले हत्याराको खोजि गरि कार्वाहीका लागि बिभिन्न निकायमा आग्रह गरे पनि ६ बर्ष पुग्दा समेत सम्बन्धित निकायले कुनै पनि चासो नदिएको मंगलवार धनगढीमा पत्रकार सम्मेलन गर्दै गुनासो गरे।

पोष्टमार्टम रिपोर्ट अनुसार ओमप्रकाशको धारिलो हतियार प्रयोग गरि हत्या गरिएको खुलेको थियो। हत्यारालाई कानुनी कठ्घरामा पुर्‍याउन नसक्दा परिवारको नै बिचल्ली भएको पन्तको गुनासो छ।

मंसिर २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्