बलात्कार अभियोगमा दुई अभियुक्त पक्राउ

काठमाडौं – प्रहरीले जबरजस्ती करणी अभियोग लागेका दुईजना अभियुक्तलाई पक्राउ गरेको छ ।

ललितपुर गोदामचौरका विशाल ध्वज कार्की र पवन कुँवरलाई महानगरीय अपराध अनुसन्धान महाशाखाले मंगलबार पक्राउ गरेको हो ।

गत वर्ष पुस ९ गते ललिपुर जिल्ला अदालतको आदेशमा तारिखमा छुटेका कार्की र कुँवरलाई पाटन उच्च अदालतले तारिखमा छाड्न दिएको आदेश उल्ट्याएपछि महाशाखाले उनीहरुलाई ललितपुरबाट पक्राउ गरेको हो ।

पाटन उच्च अदालतले गत वर्ष माघ २५ गते नै जिल्लाको आदेशलाई उल्ट्याउँदै पुर्नपक्ष थुनामा राखेर मुद्दा अघि बढाउन आदेश दिएको थियो । कार्की र कुँवरसँगै रघु सिलवालविरुद्ध प्रहरीले जबरजस्ती करणी मुद्दा चलाएको थियो ।

सिलवाल भने अझै फरार रहेको प्रहरीले जनाएको छ । उनीहरु विरुद्ध विवाहित युवतीलाई सामूहिक बलात्कार गरेको अभियोग लागेको छ ।

मंसिर २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्