पहिलो खेल हारेको ज्ञानेन्द्रको टोली लगातार तीन खेल जितेर प्ले अफमा

काठमाडौँ- ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको ललितपुर प्याट्रियट्सले एभरेस्ट प्रिमियर लिग-इपिएल क्रिकेटमा पहिलो खेल हारेपनि त्यसपछि लगातार तीन खेल जित्दै प्ले अफमा पुगेको छ। ललितपुरले आफ्नो चौथो खेलमा बुधबार काठमाडौँ किङ्स इलेभेनलाई १० विकेटले हरायो।

काठमाडौँले केवल एक सय १० रनको लक्ष्य प्रस्तुत गरेको थियो। ललितपुरले १० ओभर ३ बलमा विकेट नगुमाई लक्ष्य पुरा गर्‍यो। प्रारम्भिक ब्याट्सम्यानद्धय गौरव तोमारले ८० र जयकिसन कोल्सवालाले २७ रन बनाए। तोमारले ३५ बलमा पाँच छक्का र ९ चौका हिर्काए। कोल्सवालाले २८ बलमा चार चौका हिर्काए।

तीन खेलबाट ६ अंक भएको भैरहवा ग्लाडियटर्स शीर्षस्थानमा छ। दोस्रो स्थानमा रहेको ललितपुरको चार खेलबाट ६ अंक छ। ६ टोली सहभागी प्रतियोगितामा हरेक टोलीले पाँच खेल खेलिसकेपछि शीर्ष चार स्थानमा रहने टोली प्ले अफमा पुग्नेछन्।

शीर्ष दुई टोलीबीच क्वालिफायर तथा तेस्रो र चौथो स्थानको टोलीबीच एलिमिनेटर हुने छ। तीन खेलपछि पाचौँ स्थानमा रहेको टोलीले खाता खोल्न नसकेकाले भैरहवासँगै ललितपुर पनि प्ले अफमा पुग्ने निश्चित भएको हो। काठमाडौँको दुई खेलबाट दुई अंकमात्र छ।

मंसिर २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्