विवाहपञ्‍चमीमा आएका योगी आदित्‍यनाथको उद्‍घोष

‘सीताको माइतीलाई राम राज्‍यले पर्यटन, कृषि र कनेक्टीभिटीले एक सूत्रमा बाँध्‍नेछ’

जनकपुरधाम- भारत उत्तर प्रदेशका मुख्‍यमन्त्री एवं गोरखनाथ पीठका महन्थ योगी आदित्‍यनाथले जनकपुर र अयोध्‍याको सम्बन्ध नङमासुजस्तै रहेको बताउँदै एक पटक जनकपुरधामको अवलोकन गर्नैपर्ने बताएका छन्। बुधबार निजी विमानमा विवाहपञ्‍चमी महामहोत्सवमा जानकी मन्दिरमा पूजाअर्चना र दर्शन लगायत कार्यक्रममा सहभागी भई करिब ६ घण्टासम्‍म बसेका योगीले जनकपुरमा भारतलगायत विश्‍वभरका मानिसलाई अवलोकनको लागि आग्रह गरेका हुन्।

योगीले उत्तर प्रदेश र प्रदेश नम्बर २ को सम्‍बन्ध सामाजिक र सांस्कृतिक रुपमा बलियो हुँदाहुँदै पनि अब भौतिक पूर्वाधार र आर्थिक तवरले विश्‍वसामू चिनाउनुपर्ने बेला आएको बताए। उनले भने, ‘भारतको आर्थिक विकासले नेपालमा सहयोग पुगोस् भन्‍ने हाम्रो सरकारको चाहना छ। हामी चाहन्छौँ- नेपालमा आर्थिक विकास, सुशासन र समृद्धि होस्। कनेक्टिभीमा नजिक रहेर काम गरौं।’

उनले नेपालमा कनेक्टिभीको क्षेत्रमा भारत साथ र सहयोग गर्न तयार रहेको बताउँदै यससँग सम्बन्धित परियोजनालाई चाँडोभन्दा चाँडो कार्यान्वयनमा ल्‍याउनुपर्ने बताए। उनले भने, ‘भारत नेपाललाई कैयौँ वर्षदेखि विकासमा सघाउँदै आएको पुरानो सहयात्री हो। एक सहयात्रीको प्रगतिको वास्तविक लाभ अर्को सहयात्रीले लिनुपर्छ। नेपालले भारतको प्रगतिबाट व्‍यापार, निवेष र जनसमुदायको दक्षताको आधारमा लाभ लियोस् भन्‍ने हाम्रो मनसाय हो। हामी नेपालको विकास, विस्तार र प्रविधिमा हातेमालो गर्न चाहन्छौं।’

उनले मिथिला र अवध परम्पराबीच आपसमा प्राचीन सम्बन्ध रहेको उल्लेख गर्दै यसबाट पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउनुका साथै रोजगारीको सिर्जना गर्न सकिने बताए। उनले नेपाल-भारतको खुला सीमाना पनि बन्धुत्वको विश्वासले गर्दा नै कायम रहेको बताउँदै आगामी दिनमा पनि हाम्रो सम्‍बन्ध रोटी र बेटीको रहने बताए।

भारतमा हुने कृषि उपयोगममार्फत नेपालको कृषिमा समेत टेवा पुर्‍याउन दुवै देशका प्रधानमन्त्रीले साझा प्रतिवद्धता जारी गरिसकेको बताउँदै उनले कृषि विज्ञान र कृषि उत्पादन गर्ने तौरतरिकामा साथ र सहयोग गर्ने प्रतिबद्धता व्‍यक्त गरे। उनले अयोध्‍या-जनकपुर तथा वाराणसी-काठमाडौंको बीचमा ‘सिस्टर सिटी’ सम्झौता भइसकेको बताउँदै अब विकासले गति लिने दृढता प्रकट गरे।

उनले भने, ‘अब जनकपुरदेखि अयोध्या-वाराणसी-काठमाडौंको सम्झौताले अन्तराष्ट्रिय पर्यटन मानचित्रमा केही प्रभाव पार्नेछ। साथै हरेक वर्ष जनकपुर भारतबाट आउने पर्यटकले आर्थिक विकासमा टेवा पुर्‍याउनेछन्।’

आफू स्वयम् जानकी मन्दिरमा आएर पवित्र पावनभूमिले गौरवान्वित महसुस गरेको भन्‍दै योगी आदित्‍यनाथले यो परम्परा विश्‍वको सबै हिन्दू श्रद्धालुमा भएको दाबी गरे। उनले भने, ‘कुनै यस्तो हिन्दु हुँदैन जसको हृदयमा अयोध्‍या र जनकपुरधामको तीर्थयात्रा गर्ने अभिलाषा हुँदैन। नेपाली र भारतीयलाई यिनै दुई पवित्र भूमिले एकसूत्रमा बाँधिदिएको छ।’

मंसिर २६, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्