जन्ती बोकेको जीप दुर्घटना

जन्ती बने मलामी, शोकमा डुब्‍यो ओभरी गाउँ

शोकमा डुबेको ओभरी गाउँ। तस्बिर-देश सञ्‍चार

दाङ- बेहुली लिन जन्ती हिँडेकाहरु नै मलामी बनेका छन्। समाजमा यस्तो घटना विरलै हुने गरेको छ। यही पीडादायी घटना व्यहोर्नु परेको छ, बाँके राप्ती सोनारी गाउँपालिका वडा नं -८ ओभरी गाउँका स्थानीयले। दुलही भित्र्याउन सिंगारिएको घरबाट शव निकाल्ने तयारी छ।

लमही अस्पतालमा शव पोष्टर्माटम गरिदै छ। यहाँबाट ट्रकमा शव ओभरी गाउँ लगिने र त्यहाँबाट राप्ती नदीको घाटमा अन्तिम संस्कारको तयारी भइरहेको बेहुलकाका आफन्त जीतबहादुर खत्रीले बताए।

बेहुलाको घरमा मात्रै तीन जनाको मृत्यु भएको छ। बाजे, बज्यै र नातिको अकाल मृत्युको पीडा भोग्नु पर्‍यो। बिवाहको उत्सवमा मृत्युको पीडा सहनु पर्दा गाउँनै शोकमा डुबेको छ।

दुलही भित्र्याउन ठिक्क परेका स्थानीयको आँखा एकाएक रसाउन पुग्यो। जन्ती कुरेर बसेका आफन्त, पाहुना तथा गाउँलेहरु शव यात्रामा जानु पर्ने भयो। जन्ती बोकेका गाडी विरलै दुर्घटना पर्छन् तर, निकै पीडादायी हुन्छन्।

लमही नगरपालिका वडा नं. ९ रिहार नजिक भएको जन्ती बोकेको जीप दुर्घटनामा पर्दा प्यूठानमा एउटा गाउँ रित्तिनेगरीनै जन्ती बस पल्टिएको घटना स्मरण गरिएको छ।

स्कारपियोमा सवार ८ जना मध्य ६ जनाको मृत्यु हुन पुग्यो, भने २ जना घाईते भएका छन्। चितवन गीतानगरबाट बाँकेको सम्मेरगञ्ज फर्कदै गरेको बा १२ च ३१२२ नम्बरको स्कारपियो र महेन्द्रनगरबाट काठमाडौं जादै गरेको ना ५ ख ४०९० नम्बरको बस ठोक्किएर दुर्घटना भएको हो।

दुलाहाको बुवा राप्ती सोनारी गाउँपालिका वडा नम्बर ८ निवासी ५३ वर्षीय मानबहादुर केसी, ४५ वर्षीय आमा विमला खत्री, दुलाहाको दाईको छोरा ५ वर्षीय प्रविण केसी, ४९ वर्षीय बिश्वनाथ अधिकारी, ३१ वर्षीय दिपककुमार खड्का, कोहलपुर नगरपालिका १२ निवासी ७८ वर्षीय दत्तबहादुर खत्रीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय अमिलियाले जानकारी दिएको छ।

दुर्घटनामा दुलाहाका फुपु ४५ वर्षीय गीतादेवी खत्री र चालक २१ वर्षीय यमबहादुर मगर घाइते भएका छन्। चालक गम्भीर घाईते छन् भने गीतादेवीको खुट्टा भाँचिएको छ। दुवै जनाको कोहलपुरमा उपचार भैरहेको छ।

शम्शेरगञ्ज निवासी २७ बर्षिय यज्ञबहादुर केसी र चितवन निवासी २५ वर्षीय लक्ष्मी पौडेलबिच विवाह भएको हो। बेहुली लिन जन्ती चितवन पुगेका थिए ।

जन्ती बोकेको जिप तिव्र गतीमा गुडेको र चालक निदाउदा दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक निस्कर्ष निकालेको छ । जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरिक्षक राजन गौतमको नेतृत्वमा घटना स्थल पुगेको प्रहरीको टोलिले जन्ती बोकेको जिपका चालक निदाउदा वस संग ढोक्कीन पुगेको प्रारम्भिक निस्कर्ष निकालेको हो।

बेहुलाका आफन्त जीतबहादुर खत्रीको बयान

‘बेहुलाका बुवा बसमा हुनुहुन्थ्यो। आमा दुलही संग कारमा हुनुहुन्थ्यो। सिसहनियामा खाना खाँदै गर्दा अलि छिटो घरका मुख्य व्यक्ति जाने कुरा चल्यो । दुलहीको गाडीबाट आमा ओर्लनु भयो। वसबाट दुलाहको बुवा।

दुलाहको भतिजा र फूपु सहित अन्य गाउँका व्यक्तिगरी जम्मा ८ जना स्कारपियोमा चढ्नु भयो। हामी भने विस्तारै आराम गर्दै आउने भनेर जन्ती बोकेको वस र बेहुला–बेहुली चढेको कार पछिनै थियो। छिटो पुग्ने भनेपछि त्यही अनुसार गाडी परिवर्तन गरेर पठाईयो । तर, सोच्दै नसोचेको घटना हुन पुग्यो। पुजाको तयारी गर्न अलि छिटो जान खोज्दा यस्तो भयो।’

मंसिर २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्