तराई मुक्ति मोर्चाको विवेक समूहद्वारा आत्मसमर्पण, तीन थान पेस्तोल बुझायो

विराटनगर – तराई क्षेत्रमा भूमिगत गतिविधि गर्दै आएको अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चा विवेक समूहले विराटनगरमा हतियारसहित आत्मसमर्पण गरेको छ।

जिल्ला प्रशासन कार्यालय मोरङमा बिहीबार आयोजित पत्रकार सम्मेलनका क्रममा समूहका सदस्यले तीन वटा पेस्तोल बुझाउदै आत्मसमर्पण गरेको हो।

वि.सं. २०६७ सालमा जयकृष्ण गोइत समूहबाट अलग भएको विवेक समूहका अध्यक्ष विवेक यादव विनोदले आफूहरु हतियार बुझाउदै शान्ति प्रक्रियामा आएको बताएका हुन्। यादवसँगै प्रहरी समक्ष सार्वजनिक भएका विनयकुमार यादव चन्द्रशेखर, रामनन्दनकुमार कामत र जयप्रकाश लिचपुरिया जेपी एकैपटक प्रहरीसमक्ष उपस्थित भएका हुन्।

जिल्ला प्रशासन कार्यालय मोरङमा सरकारद्वारा गठित राजनीतिक वार्ता टोली तथा प्रहरी समक्ष उनीहरुले दुई वटा कटुवा पेस्तोल र एउटा अटोमेटिक पेस्तोल बुझाएका हुन्।

सोही क्रममा उनीहरुले आफूहरु अब शान्ति प्रक्रियामा आएको घोषणा गरेका थिए। विवेक समूहसँग पछिल्लो समय राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डेसहितको टोली वार्तामा रहँदै आएको थियो।

हतियार बुझाएर सार्वजनिक हुने कार्यक्रममा वार्ता टोलीका सदस्य सुरेश आलेमगर, ताराकान्त चौधरी, गृह मन्त्रालयका उपसचिव विश्वराज न्यौपाने, मोरङका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसी, सशस्त्र प्रहरी बलका एसपी मनिष थापा, जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।

सो क्रममा संयोजक पाण्डेले विवेक समूहसँग सिरहामा वार्ता भएको जानकारी दिए। समूहका आफूहरुसँग भएको सबै हतियार तत्काललाई फेला नपरेको बताउदै अध्यक्ष यादवले सरकारी वार्ता टोली समक्ष सबै हतियार संकलन गरेर बुझाउन पुस ७ गतेसम्मको समय मागेका छन्।

संयोजक पाण्डेले सशस्त्र संघर्ष त्यागेर शान्ति प्रक्रियामा आएको उक्त समूहलाई पुस ७ गतेसम्ममा सबै हतियार बुझाउने गरी समय दिइएको बताएका छन्।

मंसिर २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्