बिहेको गाडी दुर्घटनाः

एकै गाउँका ६ जना गुमेपछि शोकमा शमशेरगञ्ज (फोटो फिचर)

नेपालगञ्ज – सबैका अनुहार मलिन छन्। गाउँका सबै मानिसहरु मृतकका घर र सडक आसपासमा उभिएका छन्, झुण्ड–झुण्डमा। बाँकेको शमशेरगञ्ज पूर्व–पश्चिम राजमार्गमा पर्ने एउटा सानो बजार नै हो।

सधैँ चहलपहल भइरहने यो बजार बिहीबार बिहानैदेखि सुनसान छ। बजारमात्रै होइन, आसपासका गाउँका मानिसहरु पनि छिमेकीको शोकमा मिसिएका छन्। हावा चल्दा पातको आवाज आएको छ। तर, मानिसहरु चुपचाप छन्। शान्त छन्। शोकमा डुबेका छन्।

बजारकै अलिकति पूर्वतिर रहेको मनबहादुर केसीको घरमा पुग्नेहरुको आँखा रसाएका छन्। २४ घण्टा अघिसम्म खुशीमा रमेको यो घरमा चट्याङ नै परेको छ। घरको अगाडि लस्करै चार वटा बासको घार (लाश बोक्ने) बन्दै छ।

चितवन गीतानगरबाट छोराको बिहे गरेर फर्किएका मनबहादुर, उनकी श्रीमती बिमला खत्री, नाति प्रवीण केसी कहिल्यै नफर्किने गरी अस्ताएका छन्।

शमशेरगञ्ज बजारमै रहेको विश्वनाथ अधिकारी, अलिकति पर स्कूल पछाडि घर रहेका दीपकबहादुर खड्का र कोहलपुरका दत्तबहादुर खत्री पनि कहिल्यै फर्किने छैनन्।

मनबहादुर गाउँकै स्कूलमा पढाउँथे। अधिकारीले क्लिनिक चलाइरहेका थिए। खड्काका पनि गाउँका चल्ताफूर्ता मानिन्थे। यी गन्यमान्यहरुको मृत्यु भएपछि शमशेरगञ्ज शोकमा डुबेको छ।

छोराको बिहे गरेर घर फर्कंदै गरेका मनबहादुरसहित ६ जना बा१२च २१२२ नम्बरको स्कोरपियोमा सवार थिए। जुन स्कोपियो राति महेन्द्रनगरबाट काठमाडौँतर्फ जादै गरेको ना५ख ४०९० नम्बरको बससँग दाङको रिहार नजिक ठोक्किएको थियो।

स्कोरपियोमा आठ जना सवार थिए। दुई जना बाँचेका छन्। गीतादेवी खत्री र चालक यमबहादुर मगर घाइते भएका छन्। दुवै जनाको नेपालगञ्ज मेडिकल कलेजमा उपचार भइरहेको छ। अवस्था गम्भीर नै रहेको छ।

अपरान्ह ५ बजेसम्म शव घरमा पुगेको छैन। लमही अस्पतालमा पोष्टमार्टम गरेर ल्याउन ढिलाई भएको छ। आफन्त तथा स्थानीयले यतिबेलासम्ममा बासको घार बनाउनेदेखि चिता बनाउने काम गरिसकेका छन्। ‘आज नै दाहसंस्कार गर्ने तयारीमा छौँ,’ स्थानीय अगुवाहरु भन्दै थिए।

चार वटा स्कोरपियो र एउटा बस जन्ती गएको थियो। दुलही लिएर आउदा सिसहनियामा खाना खाएर दुर्घटना भएको स्कोरपियो अगाडि बढेको थियो। अलि अगाडि नै घरमा पुगेर आउने जन्तीलाई स्वागत गर्न मनबहादुरसहित आठ जना अगाडि निस्केका थिए।

घटनास्थलमा पुगेका प्रहरी निरीक्षक राजन गौतमले स्कोरपियोले आफ्नो लेन छोडेर अर्कोतिर आधामा पुगेको देखिदा चालक निदाएको आशंका गरे।

‘स्कोरपियो गलत साइडमा गएको देख्दा विपरीत दिशाबाट बस नआएको भएपनि सडकबाट तल झर्ने अवस्था देखिन्छ,’ गौतमले भने।

आफन्त तथा त्यस क्षेत्रबाटै चुनाव जितेकी प्रदेश सांसद कृष्णा केसी शमशेरगञ्ज पुगेर मृतकका आफन्तलाई सान्त्वना दिएकी छन्। उनले अस्पतालमा पनि पुगेर घाइतेको अवस्था बुझेकी थिइन्।

मंसिर २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्