मध्यविन्दु

हिरो ओली – जिरो ओली!

‘मैले मुख खोल्दा बुद्धिजीवी मुर्छा पर्छन् ।’

यसबारे चर्चा गर्ने छु । यसअघि हिरो ओली–जिरो ओली!

हिजो खड्गप्रसाद ओलीका बिरुद्ध दुई शब्द लेख्न–बोल्न डराउँथे मान्छे। आज उनै प्रधानमन्त्री खड्गप्रसाद अर्थात केपी ओलीको समर्थनमा दुई शब्द लेख्न–बोल्न डराउँछन्। हिजोसम्मको हिरो ओली आज जिरो ओली भएको छ।

हिजो सगरमाथाको टुप्पोभन्दा माथि पुगेको ठान्ने खड्गप्रसाद ओली आज केचनाकलनको भासमा भासिएको छ। यो आफैंमा एक दुर्भाग्य हो।

ताली बजाउने हैन, सोच्ने बेला भएको छ। किनभने हिजो सगरमाथाको टुप्पोभन्दा माथि पुगेको ठान्ने खड्गप्रसाद ओली भन्ने एक व्यक्ति हुनुहुन्थ्यो भने आज केचनाकलनको भासमा देशको प्रधानमन्त्री खड्गप्रसाद ओली भासिनु भएको छ। प्रधानमन्त्रीसँगै सिंगो देश भासिएको छ। देशको भविष्य भासिएको छ। तीन करोड नेपालीको सपना भासिएको छ। यसकारणले यो दुर्भाग्य हो।

यो अवस्था कसरी आयो? प्रधानमन्त्री ओलीले एकपटक हेर्न जरुरी छ तर आँखा खोलेर हैन, आँखा चिम्लिएर! आँखा खोलेर हेरे अरुलाई देखिन्छ, आँखा चिम्लिएर हेरे आफूलाई देखिन्छ। शान्त मन र स्वच्छ भावले एकपटक अभ्यास गर्नु भयो भने छर्लङ्ग हुनेछ– कहाँ हुनुहुन्थ्यो, कहाँ पुग्नुभो? हिरो ओली कसरी भयो जिरो ओली? कसले भकुण्डो बनाए? कसले उचाले? कसले पछारे?

हिजो देशमा सबैभन्दा आलोचित र अलोकप्रिय कोही थिए भने लोकमान र गोपाल पराजुली थिए। अरु कसैका हैन, ती जे भएका थिए आफ्नै कारणले भएका थिए। आज देशमा सबैभन्दाआलोचित र अलोकप्रिय कोही छ भने प्रधानमन्त्री खड्गप्रसाद ओलीको नाम शिर्ष स्थानमा छ। कारक र कारण मान्छे आफैं हो।

पछिल्लो समयमा आएका बजारी सिनेमामा कास्टिङ् नसकिदै हिरोको रोल सकिएको हुन्छ तर हिरो खेल्नेले नै थाहा पाउँदैन। यस्तै भएको छ नेपाली राजनीति सिनेमाको एउटा हिरो। प्रधानमन्त्री ओलीले सायद थाहा पाउनु भएको छैन तर पाँच–सात महिनामै हिरोबाट जीरोमा झरेको दृष्य जनताका आँखामा दौडिरहेको छ। उहाँ अझै कास्टिङ्मै हुनुहुन्छ। पर्दा खसिसकेको छ।

हिजो, खड्गप्रसाद ओलीले के बोल्नु भो, आज प्रधानमन्त्री भएर के गर्नु भो? के हुनुपर्ने थियो, के भयो? के नहुनु पर्थ्यो, किन भयो?झुसिल्कीराबाट पुतली बन्छ तर पुतलीबाट झुसिल्कीरो बनेजस्तो भएको छ!

कसले ठानेको थियो, यदि ईश्वर छन् भने कार्ल मार्क्स नै हुन् भन्ने कम्युनिष्ट (?) नेता खड्गप्रसाद ओलीले येशु क्राइस्टकी सर्वाधिक नूतन नक्कली छोरीलाई ईश्वरका रुपमा स्वीकारेर त्यति ठूलो दर्शन–भक्ति गर्नु होला भनेर? कसले अनुमान गरेको थियो, त्यति ठूला राष्ट्रवादी कुरा गरेर त्यतिमाथि पुग्नु भएका प्रधानमन्त्रीले एउटी इसाई पादरीको पाउपूजामा राष्ट्रको स्वाभिमान समर्पित गरेर यति तल झर्नु होला भनेर? कसले कल्पना गरेको थियो, एउटा धर्मनिरपेक्ष मुलकका प्रधानमन्त्रीले इसाई धर्म प्रचारक एउटी नर्तकीको नाङ्गोनाच सफल गराउन सम्पूर्ण राज्यशक्ति लगाउनु होला भनेर? कसले सोचेको थियो, एउटा चर्चकी प्रमुखले राज्यको छातीमा टेकेर देशमा त्यत्रो नग्न ताण्डव मच्चाउलिन् भनेर ? कसले अडकल गरेको थियो, दौरासुरालमा ठाँटिएका नेपालीले कथित पादरीको पाउमा ढोगेको त्यो दुरुह दृष्य देख्नु पर्ला भने? कसले अन्दाज गरेको थियो, आफूलाई जादूगर मान्ने नेता आफैं एउटी नौटंकीबाजको अतिप्यारो ‘गुडिया’ बन्ला भनेर? कुन नेपालीको कल्पनामा थियो, आफ्ना नांगा आँखाले यो दुःस्वप्न देख्नुपर्ला भनेर? तर भयो, भएरै छाड्यो। हेरिनसक्ना दृश्य देखिए।

दुःस्वप्न जस्ता यी कुरुप दृश्य प्रधानमन्त्री खड्गप्रसाद ओलीका जिरोगिरीका साक्षी भएर उभिएका छन्। राष्ट्रको स्वाधिनतालाई जिस्क्याइरहेका छन्।

भनिन्छ, शक्तिले मानिसलाई साहसी बनाउँछ! तर साहस भनेको शक्नि हैन, प्रयास हो। शक्तिले मानिसलाई साहसी हैन, तामसी बनाउँछ। शक्तिशाली प्रधानमन्त्रीले प्रमाणित गरिसक्नु भएको छ।

मूनमाताको डबलीमा प्रधानमन्त्री खड्गप्रसाद हैन, खड्गबहादुर ओली बनेर तामस देखाउनु भो। पादरीको खाँडो जगाउनु भो।

माताको विरुदावली गाउनु भो। युनिफिकेश चर्चकी प्रमुखको आशिर्वाद लिन राज्यशक्तिलाई होम्ने ऐतिहासिक पुरुष बन्नु भो।

प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यू, गल्ती भएको छ। गल्तीमात्र हैन, समयको एउटा कालखण्ड नै कलङ्कित हुने गल्ती भएको छ।

प्रधानमन्त्रीले आगो सल्काउनु भो। त्यो आगोले अहिले आफ्नै घरमा जलाउँदै छ। त्यो आगो निभाउने कि, विरादरको शेखी झार्न घर जलाएर आगो ताप्ने? यो यक्ष प्रश्नले अहिले प्रधानमन्त्रीतिर हेरिरहेको छ।

प्रधानमन्त्री एउटा व्यक्तिमात्र हैन, देशको कार्यकारी सँस्था हो। प्रधानमन्त्रीको टाउको एउटा व्यक्तिको टाउको हैन, तीन करोड नेपालीको शिर हो। आज त्यो झुकेको छ। प्रश्न उठेको छ– खड्गप्रसाद ओलीज्यू, तपाईँ देशको प्रधानमन्त्री कि एउटी कथित पादरीको पाउपूजारी?

प्रधानमन्त्रीले आगो सल्काउनु भो। त्यो आगोले अहिले आफ्नै घरमा जलाउँदै छ। त्यो आगो निभाउने कि, विरादरको शेखी झार्न घर जलाएर आगो ताप्ने? यो यक्ष प्रश्नले अहिले प्रधानमन्त्रीतिर हेरिरहेको छ।

मानिसले गल्ती गर्छ, त्यसैले ऊ मानिस हो। साधरणतया: गल्ती गर्ने मानिसलाई मुर्ख भन्ने गरिन्छ। तर गल्ती गर्ने मुर्ख हैन; मूर्ख त्यो हो, जो गल्ती स्वीकार्दैन। बुद्धिमान् त्यो हो, जो गल्ती स्विकार्छ। बारम्बार गल्ती गरेर बारम्बार अहंकार गर्छ भने त्यसैलाई मुर्ख हैन पटमुर्ख भनिन्छ। समयले प्रधानमन्त्रीलाई छनौट गर्ने समय दिएको छ। प्रधानमन्त्रीज्यू, अहंकारको आगो निभाउनुस्। इगोको रापमा नतात्नुस्। गल्ती स्वीकार्नुस्। समयले तपाईँलाई फेरि साथ दिनेछ।

शब्द, शैली र स्तरका कसीमा जाँच्ने हो भने राजनीतिक तहमा बोलिने भाषा सायद योभन्दा तुच्छ हुदैन। प्रधानमन्त्रीले बोल्ने भाषा हुँदै हैन, यो। तर यिनको पनिआफ्नै ठूलो ओज र महत्व छ– ‘केशव स्थापितमार्का’हरुका लागि।

कटु यथार्य यही हो। आलोचना हैन, देशको पद्धतिलाई नै कलङ्कित गर्ने कमजोरी औंल्याइएको हो। प्रधानमन्त्रीको अहंकारले देशलाई असफलताको ओढारतिर धकेल्दैछ। आज एउटा व्यक्तिले गरेको गल्तीको धेरै ठूलो मूल्य भोलि तीन करोड नेपालीका सन्ततिले चुकाउनु पर्ने छ। कालान्तरसम्म चुकाउनुपर्ने हुन्छ।

नेपालका प्राय सबै नेता एउटा डरलाग्दो रोगले ग्रसित छन्। त्यो रोग हो–सिक्लिकल फोविया अर्थात चक्रीय भय! यो रोग लाग्नुको मुख्य कारण हो– सिक्लिकल पोभर्टी अफ इन्टेग्रेटी अर्थात चक्रीय चारित्रिक दरिद्रता! सबैमा छ। सत्तामा पुगेपछि यो चक्र घुम्न थाल्छ। अनुहारमा कुकर्मका दाग पोतिन थाल्छन्। निर्वस्त्र भएर सत्ताबाट निवृत्त हुने गरेका छन्। प्रधानमन्त्रीका व्यवहारले आफ्नै वस्त्र उतार्दैछन्। शरीर लुगाले छोपे पनि अनुहार नाङ्गै हुन्छ।

‘मैले मुख खोल्दा बुद्धिजीवी मुर्छा पर्छन्।’ माथिको पहिलो हरफमा लेखिएको यीशब्द युनिफिकेशन चर्चकी मालिक उनै मुनमातासँग जोडिएर आएका हुन्। यी शब्दले तमाम् प्रश्न उठाएका छन्– यही हो देशको प्रधानमन्त्रीले बोल्ने भाषाको स्तर? यस्तै हुन्छन् प्रधानमन्त्रीले बोल्ने शब्द र शैली?

शब्द, शैली र स्तरका कसीमा जाँच्ने हो भने राजनीतिक तहमा बोलिने भाषा सायद योभन्दा तुच्छ हुदैन। प्रधानमन्त्रीले बोल्ने भाषा हुँदै हैन, यो। तर यिनको पनिआफ्नै ठूलो ओज र महत्व छ– ‘केशव स्थापितमार्का’हरुका लागि।

प्रधानमन्त्रीलाई कसले दिन्छ यस्तो बुद्धि, जसले खड्गप्रसाद ओलीको मात्र हैन देशको प्रधानमन्त्रीको गरिमा र इज्जतलाई केराको चोपमा डुवाइदिन्छ? कसले लेखेका किताब पढ्नु हुन्छ हाम्रा प्रधानमन्त्री? जुन किताबका शब्दमा गहनता, भाषमा शालीनता र शैलीमा स्तरीयता छैन? अहिले यो स्तरको भाषाशैली बोल्नेलाई प्रधानमन्त्री मान्न लजाउनेहरु धेरै छन्।

बुद्धिको कुरा गर्ने हो भने बुद्धूजीवीसँग बुद्धिजीवीले सधैं हारेको देश हो, नेपाल। भीमसेन थापा र त्रैलोक्य विक्रमहरु हारे। गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईहरु हारे। गगन थापा र धनराज गुरुङहरु हार्दैछन्। मदन भण्डारीहरु हारेको वरुण्ड दलमा अहिले घनश्याम भूसाल र भीम रावलहरु हार्दैछन्। देशको प्रधानमन्त्रीले बोलीवचनमा ‘केशव स्थापित शैली’ र व्यवहारमा ‘लालू यादवपथ’ त्यागेर बुद्धूजीवीबाट माथि उठ्न आवश्यक छ। पद र राष्ट्रको गरिमा बचाउन खाँचो छ। नत्र नयाँ पोशाक लगाएको वादशाह बन्नमा प्रधानमन्त्री ओलीलाई कसैले रोक्न सक्दैन।

अर्को कुरा, प्रधानमन्त्रीले कि बोल्नु हुँदैनथ्यो बोलेपछि मुख खोल्नु पर्छ। के कुराले प्रधानमन्त्रीको मुख बन्द गरेको छ? जुन मुख खोल्दा बुद्धिजीवी मुर्छा पर्छन्? यदि आफ्नो कर्मको फलले कोही मुर्छा पर्छ भने त्यो बुद्धिजीवी मानिँदैन।

के हो त्यो रहस्य, के हो त्यो घटना, के हो त्यो कुरा? जनतासँग किन लुकाइन्छ? अहंकारले सत्यलाई दवाउन सक्छ तर मेटाउन सक्दैन।यस्ता विषय–वस्तु विरालाले दिसा लुकाएजस्तो लुकाउँछ भने त्यो जनताको प्रतिनिधि हैन, दुष्कर्मी शासकमात्र हुन्छ। स्वच्छता र पारदर्शिता लोकतान्त्रिक मुलुकको प्रधानमन्त्रीका परिधान हुन्। सुकिला वस्त्रले चरित्र छोप्दैन।

लोकतान्त्रिक पद्धतिले पहिर्‍याएको त्यो परिधान देशको प्रधानमन्त्रीले पहिरने कि नपहिरने? समयले अझै समय दिएको छ, छनौट प्रधानमन्त्री खड्गप्रसाद ओलीज्यूले गर्नु पर्ने छ।

हिरो र जीरो कुनै बोटमा फल्ने दाना हैनन्। आफ्नै कर्मले फलाउने जीवनका फल हुन्। शुभकामना!

मंसिर २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्