राज्य व्यवस्था समितिको बैठकमा सांसदहरुले भने,

‘काठमाडौँ–निजगढ द्रूतमार्ग निर्माण हुन नदिन गम्भीर षडयन्त्र’

काठमाडौँ – प्रतिनिधिसभाका सांसदहरुले काठमाडौँ–निजगढ द्रूतमार्ग निर्माण हुन नदिन गम्भीर षडयन्त्र भइरहेको दावी गरेका छन्।

प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बिहिबारको बैठकमा बोल्दै सांसदहरुले सो द्रूतमार्गको जग्गाको मुआब्जासम्बन्धी समस्या जबरजस्ती खडा गरी दिएर निर्माण हुन नदिन षडयन्त्र भइरहेको बताएका हुन्।

बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले विज्ञहरुसँग सुझाव लिएर सो द्रूतमार्गको प्रस्थानबिन्दु खोकना र बुङमतीको जग्गाको मुआब्जामा देखिएको असन्तुष्टि तत्काल सम्बोधन गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए।

एक अर्ब ७० करोड जग्गाको मुआब्जा वितरण भएपछि सो सम्बन्धी समस्या आउनुको कारणको खोजी गर्न पनि सरकारलाई सांसद सिंहको आग्रह छ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पम्फा भुसालले पनि खोकना र बुङमतीको जग्गाको मुआब्जासम्बन्धी विवाद समाधान गर्न प्रधानमन्त्री केपी ओलीको गम्भीर ध्यानाकर्षण गराएकी छिन्। भुसालले द्रूतमार्ग निर्माण गर्दा स्थानीय धार्मिक तथा ऐतिहासिक महत्वका सम्पदाहरुको संरक्षण गर्नुपर्ने आवश्यकता पनि औंल्याएकी छिन्।

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले सो द्रूतमार्ग निर्माणको लागत बढ्न जाने देखिएको उल्लेख गर्दै त्यसमा सचेत रहन सरकारलाई आग्रह गरेका छन्। उनले देशको सन्तुलित विकास गर्न ध्यान दिन पनि सरकारसँग आग्रह गरेका छन्।

सांसद सुवालले सो द्रूतमार्ग निर्माणमा खर्चको लागत बढ्न जाने र त्यसले राम्रो परिणाम नदिने दावी पनि गरे। नेपाली सेनाले निर्माण कार्यअघि बढाएको सो राष्ट्रिय गौरवको आयोजनाको अनुमानित लागत एक खर्ब १६ अर्ब रहेको छ।

सांसद सुवालले सो द्रूतमार्ग निर्माणको लागत बढेर २ खर्ब पुग्ने अवस्था देखिएको उल्लेख गर्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।

मंसिर २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्