उच्च अदालतको आदेश

सनम हत्या र सुनकाण्डका आरोपी शाक्य र पोद्दारलाई जनही १० लाख धरौटी

विराटनगर – विराटनगरस्थित उच्च अदालतले अज्ञात अवस्थामा रहेको साढे ३३ किलो सुन र उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका व्यवसायी राजेन्द्रकुमार शाक्य आरके र विमाल पोद्दारलाई धरौटीमा छाड्ने आदेश दिएको छ।

बिहीबार अदालतले पुर्पक्षका लागि थुनामा रहेका दुवै जनालाई समान १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको हो। यसअघि, दुवैजनालाई जिल्ला अदालत मोरङले भदौ १३ गते थुनामा राख्न आदेश दिएको थियो।

सो आदेशलाई उल्टाउदै न्यायाधीश नागेन्द्रलाभ कर्ण र थिरबहादुर कार्कीको संयुक्त इजलासले धरौटीमा छाड्ने आदेश दिएको उच्च अदालत विराटनगरका रजिष्टार नारायण रेग्मीले जानकारी दिए।

व्यवसायी दीपक मल्होत्राका साझेदार रहेका भारतीय नागरिक पोद्दारले सुन तस्करी प्रकरणका लागि हुण्डीमार्फत सहयोग गरेको खुलेपछि पक्राउ गरी मुद्दा दायर गरिएको थियो।

गत असार ६ गते पक्राउ परेका पौद्दारसहित सञ्जय खेतान भनिने प्रभात अग्रवाल, आरडी राजु भनिने राजकुमार दारुका, डब्बु भनिने इस्तियाज उद्दिन, अबु सलमान खान भनिने सैयाद अकबर साहलाई दोस्रो पुरक अभियोगमा जिल्ला न्यायधिस नारायणप्रसाद शर्माको इजलासले थुनामा राख्न आदेश दिएका थिए।

जिल्लाको आदेशपछि पुर्पक्षका लागि थुनामा रहेका पोद्दारले गत असोज १६ गते जिल्लाको आदेश बदरको माग सहित उच्च अदालतमा पुनरावेदन गरेका थिए।

६ पटक पेसी सरेको पोद्दारको मुद्दामा बिहीबार अन्तिम आदेश आएको हो। गत जेठ ८ गतेको आदेशपछि कारागारमा रहेका आरके भन्ने राजेन्द्रकुमार शाक्यले गत साउन १ गते उच्च अदालतमा निवेदन दायर गरेका थिए। शाक्यको हकमा २६ पटक पेसी सरेपछि २७औँ पटकमा धरौटीमा छाड्ने आदेश आएको हो।

गत फागुन १८ गते मोरङ उर्लाबारीका सनम शाक्यको हत्या प्रकरणको अनुसन्धानका क्रममा खुलेको सुन तस्करी प्रकरणमा दुई वटा पुरकसहित ७५ जनाविरुद्ध १७ अर्ब १ करोड ८० लाख ७१ हजार ४ सय ७३ रुपैयाँ बराबरको ३७ लाख ९९ हजार ५ सय ६३ ग्राम आयात गरेको दावीसहित जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ मुद्दा दायर गरिएको थियो।

मंसिर २७, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू