अमेरिका–साउदी अरेबिया सम्बन्ध

साउदी युवराजमाथि सर्वसम्मत रुपमा लाग्यो हत्या आरोप, समस्यामा ट्रम्प

अमेरिका–साउदी अरेबिया सम्बन्धमा गम्भीर झड्का लाग्ने सम्भावना देखिएको छ । अमेरिकी सिनेटले साउदी अरेबियाको नेतृत्वमा यमनमा भइरहेको सैन्य अभियानका लागि दिइँदै आएको सहयोग बन्द गर्ने पक्षमा मत दिएको छ ।

यस्तै पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी अरेबियाका क्राउन प्रिन्स (युवराज) मोहम्मद बिन सलमान (एमबिएस) दोषी रहेको पनि सिनेटरले बताएका छन् ।

सन् १९७३ को वार पावरस एक्ट अन्तर्गत अमेरिकाले सैन्य सहयोग गर्दै आएको कुनै पनि अभियानमा सहयोग रोक्का गर्ने पक्षमा अमेरिकी सिनेटमा पहिलो मतदान भएको हो ।

राष्ट्रपति डोनाल्ड ट्रम्पकै पार्टी रिपब्लिकनकै केही सिनेटरले सहयोग रोक्का गर्ने पक्षमा मत दिएपछि यस सम्बन्धी प्रस्ताव सिनेटमा ५६–४१ ले पारित भएको छ । यो प्रस्ताव यमनको युद्धमा अमेरिकी विचारधाराको रुपमा हेरिएको छ तर यो कानुन बन्ने सम्भावना भने त्यति देखिएको छैन ।

यस्तै सिनेटले गएको अक्टोबर २ मा टर्कीको स्थानबुलस्थित साउदी कन्सुलर कार्यालयमा भएको पत्रकार जमाल खाशोग्गीको हत्यामा साउदी क्राउन प्रिन्स एमबिएसको संलग्नता रहेको भन्ने सम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।

अमेरिकी पत्रिका द वासिङ्गटन पोस्टमा लेख्दै आएका पत्रकार खाशोग्गीको हत्यामा क्राउन प्रिन्सको संलग्नता रहेको आरोप लाग्दै आएको भए पनि पहिलो पटक अमेरिकी सिनेटले औपचारिक रुपमा उनीमाथि यो आरोप लगाएको छ ।

साउदी अरेबियाले खराब नियत भएका एजेन्टको रफ अपरेशनको क्रममा पत्रकार खाशोग्गीको हत्या भएको बताएको छ । उसले पत्रकार खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएससहित राज परिवारका कुनै पनि सदस्यको संलग्नता नरहेको बताउँदै आएको छ ।

दशक भन्दा लामो समय साउदी राज परिवारका सल्लाहकार रहेका पत्रकार खाशोग्गी पछिल्लो समय विशेष गरी क्राउन प्रिन्स एमबिएसका तीव्र आलोचक भएका थिए । यहि कारण क्राउन प्रिन्सकै निर्देशनमा खाशोग्गीको हत्या भएको आरोप लाग्ने गरेको छ ।

अमेरिकी सिनेटले हत्यामा क्राउन प्रिन्सको संलग्नता रहेको औपचारिक आरोप लगाउँदै संलग्नतहरुमाथि कारवाही गर्न साउदी अरेबियासँग माग गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लगातार साउदी अरेबियासँगको व्यवसायिक तथा रणनीतिक सम्बन्धको पक्षमा बोल्दै आएका छन् । उनले अमेरिका–साउदी अरेबियाबिचको सैन्य सहकार्यलाई जोड दिँदै आएको भए पनि सिनेटले यमनका सम्बन्धमा सैन्य सहयोग रोक्का गर्ने पक्षमा मत दिएको हो ।

यस्तै राष्ट्रपति ट्रम्पले लगातार बचाउ गर्दै आएको भए पनि सिनेटले पत्रकार खाशोग्गीको हत्यामा क्राउन प्रिन्स एमबिएसमाथि आरोप लगाएको हो ।

सिनेटले पास गरे पनि सैन्य सहयोग रोक्का गर्ने सम्बन्धी प्रस्तावले कानुनको रुप लिन हाउस अफ रिप्रिजेन्टेटिभको स्वीकृति लिनु पर्छ । त्यसपछि पनि राष्ट्रपतिको मन्जुरी आवश्यक पर्छ । तर ट्रम्पले यसमा भिटो प्रयोग गर्ने सम्भावना छ ।

मंसिर २८, २०७५ मा प्रकाशित