कालो मरिच तस्करी

नाकामा थुपार्ने, पायक पर्दा पास गर्ने

नेपालगञ्ज – नेपालगञ्जबाट ठूलो मात्रामा कालो मरिचको तस्करी हुँदै आएको खुलासा भएको छ । नेपालगञ्जबाट दशगजासँग जोडिएको गाउँमा लगेर मरिच थुपार्ने र रातिको समयमा भारततिर पास गर्ने गरेको पाइएको हो ।

यस्तो धन्दामा नेपाल र भारतका तस्करहरु मिलेका छन् । कालो मरिच र कस्मेटिक सामान नेपालबाट भारततर्फ जाने गर्दछ । भारतबाट कपडालगायतका सामान ल्याउने गरिन्छ । विशेष सूचनाका आधारमा बिहीबार राति नेपालगञ्ज प्रहरीले नाकामा रहेको जमुनाहा गाउँबाट १२ क्विन्टल बढी कालो मरिच र ६ पेटी कस्मेटिक सामान बरामद गरेको छ ।

जमुनाहा गाउँको छोट्टन कवाडिया राई, साहीद कवाडिया राई, लोटाराम खटिक र लज्जी खटिकको घर–गोठबाट कालो मरिच र कस्मेटिक सामान बरामद भएको छ । यी सबै सामान नेपालगञ्जबाट अटो–रिक्सामा लगेर जम्मा पारिएको थियो । त्यहाँबाट रातिको समयमा ‘पायक’ पर्दा भारततर्फ तस्करी गर्ने योजना थियो उनीहरुको ।

वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज नारायण डाँगीका अनुसार, एक हजार दुई सय ५ किलो कालो मरिच र लेडिज फाउण्डेसन क्रिम ६ पेटी (१६८० पिस) बरामद गरिएको छ । कालो मरीजको मूल्य चार लाख ८२ हजार र एक लाख ६८ हजार बराबरको क्रिम बरामद गरेको प्रहरी निरीक्षक डाँगीले बताए ।

कालो मरिच तस्करीमा जयसपुरका भौखी र भारत रुपैडिहाका नन्कौ, तिलकराम धोवी, सोनी पाठकलगायत संलग्न रहेको स्रोतले बतायो । प्रहरीले कालो मरीज र क्रिम बरामद गर्दा भौखी त्यही उपस्थित थिए । प्रहरीले ‘भौखी को हो ?’ भनेर खोजी थालेपछि उनी त्यहाँबाट लुसुक्क भागेका थिए । वडा प्रहरी कार्यालय, नेपालगञ्जका इन्चार्ज डाँगीले कालो मरीजमा ठूल्ठूला व्यक्ति संलग्न रहेकाले उनीहरुको खोजी गरिरहेको बताए ।

यसैबिच, वडा प्रहरी कार्यालयको मोबाइल गस्तीले गोसाईगाउँबाट कपडा बरामद गरेको छ । भारतबाट ल्याइरहेको पर्दा, कालो कपडा र लेडिज सुट बरामद गरेको हो । यसको मूल्य ७० हजार ८ सय ८० रुपैया कायम गरिएको छ । प्रहरीले कालो मरिच, क्रिम, कपडा सबै भन्सार कार्यालयमा बुझाएको छ ।

मंसिर २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्