सिक्किमका सफल शासक

पवन चाम्लिङको सत्तारोहणका २५ वर्षः भन्छन्, ‘जनताको साथबाटै विकास र समृद्धि’

नयाँ दिल्ली – सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङले जनताको साथ पाएकै कारण राज्यको विकास र समृद्धि हासिल भएको बताएका छन्।

सिक्किमका जनताले प्राप्त गरेजस्तो लोकतान्त्रिक अधिकार, समावेशी न्याय, शान्ति, सुरक्षा, समान इज्जत र सम्मान देशका अन्य भागका जनताले नपाएको दावी गरेका छन्।

सिक्किम डेमोक्य्राटिक फ्रण्टको सरकार गठन भएको २५औँ वर्ष प्रवेशका अवसरमा चाम्लिङले राज्यमा प्रजातन्त्र स्थापना हुनु एसडीएफ सरकारको प्रमुख उपलब्धि भएको बताएका छन्।

राज्यका जनताको आधारभूत आवश्यकता आफ्नो सरकारले पूरा गरेको बताउँदै चाम्लिङले यस प्रकारको सर्वांगीण एवं द्रूततर विकास गर्ने सिक्किम एक मात्र राज्य भएको बताए।

आफ्नो शासनकालमा हरेक क्षेत्रमा जनतालाई दिने काम भएको, राज्यमा लैंगिक विभेद नरहेको, जनताका आधारभूत आवश्यकता पूरा गरिएको र राज्यका जनताको इज्जत र सम्मान बढेको उनको भनाई थियो।

चाम्लिङले एसडीएफ सरकार ‘दिने सरकार’ हो भन्ने सन्देश जनतामा गएको दावी गर्दै मुख्यमन्त्री चाम्लिङले जनताको सरकारप्रति बढी अपेक्षा रहेको र आवश्कयताभन्दा बढी आश्रित हुनुपनि राम्रो नभएको बताए।

आफूले २४ वर्षमा गरेको कामप्रति सन्तुष्टि जनाउँदै चाम्लिङले जनताले जस्तै आफूले पनि हरेक समय उनीहरुलाई साथ र सहयोग दिएको स्मरण गरे।

२०१९ को चुनावबारे देश सञ्चारले सोधेको प्रश्नमा चाम्लिङले आफूहरु सिक्किमलाई विश्वकै विकसित राज्य बनाउन लागि परेको उल्लेख गरे।

सिक्किमका जनतालाई नयाँ सपना लिएर आइरहेको बताउँदै उनले स्थापनाकालदेखि नै बन्धनमुक्त पार्टी भएको र एक्लै चुनाव लड्ने प्रष्ट पारेका छन्।

२४ वर्षको शासनकाल निकै चुनौतीपूर्ण रहेको स्मरण गर्दै चाम्लिङले आफ्नो सरकार २५ वर्षमा प्रवेश गरेकोमा सिक्किमबासीलाई शुभकामना पनि दिएका छन्।

मंसिर २८, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्