काठमाडौँ – नेपाली कांग्रेसको महासमिति बैठक शनिबारबाट सुरु हुँदैछ। बैठकको तयारी तीव्र रुपमा भइरहेको छ।

कांग्रेसले महाधिवेशन नजिकिएकै झझल्को दिने गरी कांग्रेसले काठमाडौँका सडक तथा सार्वजनिकस्थलहरुमा पोस्टरिङ गरेको छ। साथै कार्यक्रमस्थललाई पनि आकर्षक बनाइएको छ।

यसैबीच, कांग्रेसले महत्वपूर्ण तीन वटा प्रस्ताव पारित गरेको छ। शुक्रबार साँझ बसेको केन्द्रीय समितिको बैठकले विधान मस्यौदा बाहेकका प्रस्ताव पारित गरेको हो।

विधान मस्यौदामा सहमति जुटाउन कार्यदल बनाएको छ। कार्यदलले शनिबार महासमिति बैठकको बन्दसत्रमा पेश गर्ने गरी सहमति जुटाउने जिम्मेवारी पाएको छ।

कांग्रेस महासमितिको बैठकको तयारी। तस्बिरहरुः सुलभ श्रेष्ठ/देश सञ्चार

शुक्रबारको बैठकमा उपसभापति विमलेन्द्र निधिले पेश गरेको राजनीतिक प्रस्ताव, महामन्त्री शशांक कोइरालाले पेश गरेको सांगठनिक आर्थिक नीतिसम्बन्धी प्रस्ताव र कोषाध्यक्ष सीतादेवी यादवले पेश गरेको आर्थिक प्रस्ताव पारित गरेको हो।

सहमहामन्त्री प्रकाशशरण महतले प्रस्ताव गरेको आर्थिक नीतिसम्बन्धी प्रस्ताव यसअघिको बैठकमै पारित भइसकेको छ। विधान मस्यौदाका विषयमा सहमति जुटाउन नसकेपछि महामन्त्री पुर्णबहादुर खड्का, केन्द्रीय सदस्यहरु अर्जुननरसिंह केसी, मिनेन्द्र रिजाल र रमेश लेखक रहेको कार्यदल बनाएको छ।

पदाधिकारी बढाउने विषयमा कांग्रेसमा सहमति जुटिसके पनि कुन–कुन पद बढाउने भन्ने विषय टुंगो लाग्न बाँकी रहेको केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानाले जानकारी दिए। उपसभापति र सहमहामन्त्री बढाउन सक्ने अनुमान गरिएको छ। केन्द्रीय सदस्यको संख्या १ सय ४१ रहने सहमति जुटिसकेको छ।

यस्तै, सदस्यता दुई प्रकारकै रहने भएपनि अब क्रियाशील सदस्य र नेपाली कांग्रेसका सदस्य भनिने छ। महासमिति बैठक शनिबार ११ बजे बस्ने तय भएको छ।