नेपालगञ्जमा सरसफाई महाअभियान (फोटो फिचर)

नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले सरसफाई महाअभियान सुरु गरेको छ । सडकमा टिप्न सकिने फोहोरको व्यवस्थापनका लागि यो अभियान थालिएको हो । ‘फोहोरको शहर’ का रुपमा चित्रण गरिदै आएको नेपालगञ्जमा विभिन्न नाम दिएर बेलाबेलामा सरसफाईका गतिविधि भइरहेका छन् ।

लामो समयसम्म शनिबार सरसफाई हुँदै आएकोमा त्यो रोकिएपछि फेरि सरसफाई महाअभियान नाम दिएर सरसफाईलाई अगाडि बढाइएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका, नेपालगञ्ज उद्योग वाणिज्य संघ, इन्प्रोक नेपाल र नगरपालिकासँग समन्वय गरेर दैनिक फोहोर व्यवस्थापन गरिरहेका निजी संस्थाहरुको अगुवाईमा विभिन्न व्यक्तित्वहरु सरसफाईका लागि सडकमा आएका थिए ।

सबै जनालाई सरसफाई अझ अभिप्रेरित गर्न किर्तिपुर निवासी विश्व सरसफाई अभियान्ता राजमान मानव सडकमा निस्किएका छन् ।

नेपालगञ्ज उपमहानगरपालिकाका मेयर धवल शमशेर राणा र उपमेयर उमा थापाले नगरलाई स्वच्छ, सफा बनाउन अभियान थालेको बताए । मेयर राणाले नाली निर्माणका काम सकिएपछि फोहोर व्यवस्थापनलाई व्यवस्थित र कडाईका साथ अघि बढाउने बताए ।

विश्व सरसफाई अभियान्ता मानवले सबैले सडकमा फोहोर नफाल्ने बानी बसाएर शहरलाई फोहोर मुक्त गराउनु पर्ने बताए । उनी एक दशकदेखि देशभरका नगरपालिकाहरुमा सरसफाई गतिविधि गर्दै हिडेका छन् ।

नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले नेपालगञ्जलाई सफा र स्वच्छ बनाउन सबैजना लाग्नु पर्ने बताए । उनले यस कार्यमा व्यापारीहरु एकजुट रहेको बताए । नेपालगञ्ज उपमहानगरपालिकाका सरसफाई शाखाका प्रमुख अशोक केसीका अनुसार, २२ ठाउँलाई केन्द्रित रहेर सरसफाई गर्ने योजना बनाइएको थियो । त्यसमा २० ठाउँमा सरसफाई भएको छ । जहाँ जहाँ सरसफाईका लागि मुख्य ठाउँ तोकिएको थियो । त्यहाँ त्यहाँ त्यही वडाका अध्यक्षले नेतृत्व गरेका थिए ।

सरसफाईमा सहभागी हुने एकजनाले ६ मिटरको दुरी सफा गर्नुपर्ने नियम बनाइएको भएपनि त्यो हुन सकेको थिएन । आगामी दिनमा यो नियमलाई समातेर अगाडि बढ्ने सरसफाई शाखाका प्रमुख केसीले बताए ।

नेपालगञ्जमा दैनिक ३२/३३ टन फोहोर निस्किन्छ । त्यसमध्ये नगरपालिका र निजी संस्थाले गरी २६÷२७ टन फोहोर उही दिन व्यवस्थापन गर्छन् । अरु फोहोर यत्रातत्र छरिन्छ । कतिपय नगरवासीले नगरपालिका या निजी संस्थाको फोहोर बोक्न आउने ट्याक्टर गइसकेपछि सडकमा ल्याएर फोहोर फाल्ने गर्दछन् । नगरपालिकाले ठाउँठाउँमा फोहोर फाल्ने डष्टविन पनि राखेको छ ।

यद्यपि, कतिपय ठाउँमा भने डष्टविन भरिएपनि समयमा फालिएको पाइँदैन ।नेपालगञ्ज उपमहानगरपालिकासँग अहिलेसम्म फोहोर फाल्ने ठाउँ छैन । दैनिक फोहोर फाल्न पनि उसले संघर्ष गरिरहेको छ । नगरपालिकाले हिरमिनियामा आधुनिक ल्याण्डफिल साइट बनाइरहेको छ ।

मंसिर २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्