उनको कला, चित्रकारिताका बारेमा कुरा गर्नु थियो । कुराको केन्द्र जीवन र जगत बन्दै गयो ।
उनले आफ्नो अनुभवको आँखाले देखे, बुझेको जीवनको अर्थ बोल्दै गए । केही समय उनका अनुभवहरु सुन्दै जाँदा बुझियो कि उनका चित्रहरुले जीवन–जगतकै कथाहरु बोल्ने रहेछन् ।
साढे तीन दशकदेखि चित्रकला तर्थात पेटिङ्गमा सक्रिय डेविड डगल्ससँगको भेट, उनका पेटिङ्ग र त्यससँग जोडिएका कथा र अर्थहरुमा केन्द्रित थियो ।
व्यक्तिगत कुराहरुमा त्यति खुल्न रुची नदेखाउने डेविड कुरा गर्दै जाँदा खुल्दै गए र थाहा लाग्यो, सादा क्यानभासमा बन्ने अधिकांश आकृतिहरुमा उनका अनुभवहरुको चित्र उत्रिन्छ ।
रंगहरु, त्यसलाई आकृति दिने ब्रस र नयाँ रुपमा उत्रिने क्यानभास, उनले बाँचेको जीवनका अंशहरुका प्रमाण हुन् ।
आफ्नो स्टुडियो देखाउँदै गर्दा डेविडले भनेका थिए, ‘काम पूजा हो र यो अनन्तः छ । हरेकमा सपनाहरु छन् र विपनाहरु पनि । कहिले सपनाहरु विपना बन्छन्, कहले विपनाहरु नै सपना बनेर आउँछन् । व्यवस्थित त छैन तर यहि अव्यवस्थाको क्रम नै हाम्रो अर्थ रहेछ ।’
उनले जीवन–यात्रालाई अव्यवस्थाहरुको भोगाई भने पनि उनका चित्रहरुमा जीवनका अर्थहरुको व्यवस्थित रुप भेटिन्छ ।
‘हिजोको पर्खाल’
सानै र सजिलै किन नहोस् अवरोध तोड्न, सुरुमा प्रायः लाई भयानक नै लाग्छ । यस्तै सानाठूला अवरोधहरु डेविडले पनि भोगेका छन् । एउटा अप्ठ्यारोलाई जितेपछि त्यसैलाई सम्झेर बस्नु हुँदैन भन्ने ति अनुभवहरुले उनलाई सिकाएका छन् । उनले भने, ‘हिजोलाई हामीले हाम्रो आज र भोलिको पर्खाल बन्न दिनु हुँदैन । बितेको गइसक्यो । अहिले जे छ त्यो र भोलि हुन सक्ने तर्फ ध्यान भयो भने जीवन असजिलोमा पनि सजिलो हुने रहेछ ।’
विगतका खुशीहरु पनि भोलिका सम्भावित खुशीहरुका अवरोध बन्न सक्छन् । उनी भन्छन्, ‘हिजो मै रमायो भने आज अनि भोलि कसरी राम्रो होला र ? कम्तिमा आँट भने जीवित राख्नका लागि हिजोमा ‘स्टक’ भएर बस्नु हुँदैन जस्तो लाग्छ ।’
उनले आफ्ना चित्रहरुमा भोगेर आएका समय र त्यससँगै गरेका अनुभवहरु उतारेका छन्, तर त्यसमै भुलेर भने बसेका छैनन् । अहिले पनि डेविडलाई घरभरि झुण्ड्याएका पुराना चित्रहरुले ति समयको याद गराउँछन् । त्यो भन्दा पछि आउने दिनका लागि सम्भावनाहरुको बाटो पनि देखाउँछन् तिनले ।
हेर्दै जाँदा उनका चित्रहरुले नयाँ रहस्य खोल्दै जान्थे । उनका कुराहरुमा त्यस्तै गहिराइ अभिव्यक्त हुन्थे । चित्रहरु मार्फत र चित्रहरुकै लागि विविध अनुभव संगालेका डेविडले अहिले पनि आफ्नो अनुभवको यात्रालाई सुरु गर्दाको जस्तै आलो ठान्छन् । भन्छन्, ‘उमेर र बितेको समय अंक मात्रै हो जस्तो लाग्छ । हरेक दिन नयाँ र ताजा लाग्छ । क्यानभासहरुमा हरेक पटक नयाँ भएर प्रस्तुत हुन्छु ।’
‘जति भरे पनि नपोखिने’
जति भरे पनि नपोखिने, सायद त्यसको अर्को अथए पनि लाग्थ्यो : जति पोखे पनि नभरिने । खेर नजाने !
कुराकानीसँगै उनका चित्रहरु पनि हेरिँदै थियो । त्यहि क्रममा स्टुडियो पस्ने गल्लीमा मानोमा अन्न भर्दै गरेको चित्र थियो ।
चित्र देखाउँदै उनले जीवनको एउटा भव्य दर्शन भने, ‘हाम्रा अनुभवहरु र जीवनमा केही गर्ने चाह जति भरे पनि नपोखिने हुनु पर्छ ।’
उनले यो भनेनन् कि जिन्दगीको मानो भरिनु हुँदैन, उनको जोड पोखिनु हुँदैन भन्नेमा थियो ।
उनका अनुसार क्यानभासहरुमा प्रयोग गर्ने रंगहरु र त्यसबाट बन्ने चित्रहरुको कथा पोखिन दिएका छैनन् । यो अर्थमा कि जुन रंगहरुको प्रयोगबाट चित्रहरु बनेका छन् त्यसमा उनले आफू र अरु मार्फत आफूले बाँचेका समयहरु उतारेका छन् ।
कुरा गर्दा थाहा पाउन सजिलै थियो कि उनको झुकाव जीवन दर्शनमा बलियो गरेर छ । तर उनले आफ्नो बुझाईमा अरु सहमत हुनु पर्छ भन्ने कदापी नचाहने प्रष्ट बनाए ।
रंगहरु पोख्ने पेशाजीवि डेविडले अनुभवहरुको जतन गर्ने दर्शन मानोको चित्रबाट बताएका छन् । यस्तै अरुहरु पनि छन्, जसमा कतै खोलाहरु छन्, कतै सम्पदाहरु अनि कतै जीवजन्तु छन् । सबैले जीवन समेटेर राखेका छन्, क्यानभासमा अनि सजीव भएर बाँचेका छन् ।
सजीव चित्रहरु
डेविडले जीविका नै रंगहरुबाट चलाएका छन् । धेरै चित्रहरु बनाएका र ति चित्रहरु धेरैले मूल्य तिरेर किनेका छन् । तर ति चित्रहरुको मूल्य बेचिएको मूल्यमा सीमित हुँदैन । उनलाई किन्नेहरुले दिएको मूल्य भन्दा उनीहरुले त्यसमार्फत गरेको अनुभव प्रिय लाग्छ । उनीहरुका प्रतिक्रियाहरु हौसला हुन्छन् डेविडका लागि ।
कहिले काँही उनलाई आफ्नो कलामा केही अलौकिक गरिएछ कि जस्तो लाग्छ । तर त्षृ आभास ‘अहम’ बाट मुक्त छ । यस्तो त्यो बेला लाग्छ, जतिबेला हेर्नेहरुले चित्रमा जीवन देख्छन् । चित्रलाई सजीव भन्छन् र त्यसमा विभिन्न कथाहरु भेट्छन् ।
हुन पनि उनले चित्रहरु बनाउँदा चित्र नै बाँचेका हुने रहेछन् । त्यसलाई सकेसम्म भोग्ने प्रयासमा हुने रहेछन् ।
उर्जा दिने पूण्यभूमि
नाम सुन्दा विदेशी हुन् कि जस्तो लागे पनि डेविड नेपाली हुन् । उनमा नेपाली जनजीविकाको सुगन्ध बाँचेको छ । नेपाली सौन्दर्यका निरन्तर साधक रही आएका छन् उनी ।
दर्शन–अध्यात्मसँग आफूलाई नजिक पाउने उनले संस्कृतिलाई चित्रमा उतारेका छन् । बुद्धदेखि मन्दिर र व्यक्तिदेखि जमिनसम्मका विशाल आयाम उनका क्यानभासमा समेटिएका छन् जिउँदा कथा बोल्ने जिउँदा पात्र बनेर ।
चाँगुमा जन्मिएका डेविडले नेपाल बाहिरको जीवन पनि बाँचेका छन् । तर उनलाई यो भूमि जति प्रिय अरु लाग्दैन । यो भूमिले उर्जा मात्रै दिइरहने उनले बताए । भने, ‘यो माटोले मलाई गुनासो गर्न कहिले सिकाएन । कमजोर महसुस हुँदा सधैँ अघि बढ्ने उर्जा दियो । पूण्य छ यो माटो, धन्य छ यो धर्ती ।’
यहि भएर हुन सक्छ उनलाई अब नेपालका विविध जातजाति र उनीहरुका जनजीविका चित्रमा समेट्ने मन छ । सपनाहरु छन् कि आफ्नो बुताले भ्याएसम्म संस्कृतिलाई प्रस्तुत गर्न सकुँ ।