उता पनि उस्तै छ पीडा

हिमाचलका नेपालीभाषीलाई सरकारको सौतेलो व्यवहार, चार वर्ष लडेर लिए अधिकार

नयाँ दिल्ली – सन् १९५० को नेपाल भारत शान्ति तथा मैत्री सन्धि अन्तरगत नेपाली मूलका नागरिकलाई समान व्यवहार गर्नुपर्ने माग गरिरहेका हिमाचल प्रदेशको कुल्लु जिल्लाका नेपाली मूलका नागरिकको मुद्दा सम्बोधन हुने भएको छ।

पूर्खाहरुले वर्षौंदेखि भारतमै सेवारत भएर भारत सरकारका लागि काम गरेको भएपनि छोराछोरीहरुलाई सेवासुविधाबाट बञ्चित गरिएपछि उनीहरु असन्तुष्ट थिए।

त्यही विषयलाई लिएर मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति कुल्लु मनालीले आफ्ना माग समेटिएको पत्र कुल्लु जिल्लाका उपआयुक्तलाई लेखेको थियो।

त्यसै पत्रको जवाफ लेख्दै उपआयुक्तले १९५० अन्तरगतका नेपाली मूलका नागरिकको माग सम्बोधन गर्न आफु मातहतका निकायलाई निर्देशन दिएका छन्।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति कुल्लु मनालीका सचिव बैकुण्ठ रिमालका अनुसार हिमाचल प्रदेशको कुल्लुमा मात्रै करिब तीन हजारको संख्यामा नेपाली मूलका नागरिकको बसोबास छ।

बाबु–बाजे आएर यहाँ बसेका हजारौँ नागरिकसँग अब केवल भारतकै नागरिक भएका प्रमाणहरु छन्। तर पनि जागिर, शिक्षा, खेलकुद लगायतका क्षेत्रमा उनीहरुलाई नेपाली मूलकै भएका आधारमा अगाडि बढ्न दिइँदैन।

रिमालले विद्यालयमा पढाईमा उत्कृष्ट भएपनि छात्रवृत्ति नदिइनु, खेलकुदमा राम्रो प्रदर्शन गरेपनि जिल्ला तहभन्दा अगाडि नपठाउनु र पहिले त जागिरै नपाउनु, त्यसपछि जागिर पाइहाले पनि स्थायी नगरिनुजस्ता समस्या नेपाली मूलका नागरिकले झेल्नु परेको छ।

‘त्यसैको विरोधमा हामीले १९५० को सन्धि सम्झाउँदै उपआयुक्तलाई ध्यानाकर्षण गराएका थियौँ,’ रिमालसँग देश सञ्चारसँग भने। उनले मागप्रति सकारात्मक हुँदै आफु मातहतका निकायलाई त्यसो नगर्न निर्देशन दिएको बताएका छन्।

कहिले गरिएको थियो माग?

नेपाल–भारतबीच पौराणिक कालदेखि धार्मिक, सांस्कृतिक सम्बन्ध त छँदै छ। त्यसबाहेक एक देशले अर्को देशलाई र एक सरकारले अर्को देशका नागरिकलाई विभेद गर्नै नपाउने सन्धी भएको छ।

तर, कयौँ पटक दुवै देशका तर्फबाट दुई देशबीच भएको सन्धीलाई बेवास्ता गर्दै जनतालाई दुःख दिने काम हुने गरेको पाइएको छ। सन् १९५० मा भएको नेपाल–भारत शान्ति तथा मैत्री सन्धिअन्तरगत नेपालका नागरिकलाई भारतमा र भारतका नागरिकले नेपालमा राष्ट्रिय व्यवहार गरिनुपर्ने उल्लेख छ।

तर, सन्धि पश्चातदेखि भारतमा रहँदै आएका नेपाली नागरिकहरुले अहिलेसम्म समान व्यवहार पाउन सकेका छैनन्। हिमाचल प्रदेशमा सन् १९७० भन्दा पहिलादेखि रहदै आएका हजारौं नेपाली नागरिकहरु अझै कयौं क्षेत्रमा सरकारका सेवा सुविधाबाट बञ्चित हुनुपरेको छ।

कुल्लु मनालीमा मुलतः नेपालको रसुवा, धादिङ, सिन्धुपाल्चोक, सोलुखम्बु, ओखलढुङ्गा, रामेछाप लगायतका ठाँउबाट सम्बन्ध राख्ने नागरिकहरुको संख्या धेरै छ। तर, नेपालमा बस्ने आफन्तसँग उनीहरुको सम्पर्क नभएको मूल प्रवाह अखिल भारत नेपाली एकता समाज नगर समिति कुल्लु मनालीका सचिव बैकुण्ठ रिमाल बताउँछन्।

उनीहरु १ जनवरी १९५० देखि १९८७ को बीचमा हिमाचल पसेको तथ्यांक छ। हरेक पेशाबाट जीवनयापन गर्दै आएका नेपाली मूलका ती नागरिकलाई सरकारी सेवाको क्षेत्रमा बञ्चित गरिदै गएपछि ४ वर्षअघि मागअघि बढाएको रिमालले बताए।

मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले पटक नेपाली मूलका नागरिक र प्रवासी नेपालीहरुको समस्यालाई लिएर भारत सरकारलाई घचघच्याउने गरेको छ। उसकै नेतृत्वमा कुल्लु मनालीका करिब २ हजार २ सय प्रवासी नेपालीहरुको जागिर स्थायी गरिएको थियो।

सन् २०१३ देखि अहिलेसम्म भएका सडक दुर्घटनामा मारिएका ५० जनाभन्दा धेरै नेपालीको परिवारलाई ४ लाख क्षतिपूर्ति सम्बन्धित निकायबाट भराइएको छ।

मंसिर २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्