नेकपा विवाद

ओलीमाथि एकलौटीरुपमा सरकार र दल सञ्चालन गरेको वामदेव गौतमको गम्भीर आरोप

फाइल फाेटाे।

काठमाडौँ— सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीमाथि एकलौटीरुपमा सरकार र दल सञ्चालन गरेको गम्भीर आरोप लगाएका छन्।

शनिबार पार्टी कार्यालय धुमबाराहीमा बसेको पार्टी स्थायी समिति बैठकमा नेता गौतमले खासगरी ओली विरुद्ध लक्षित १६ पेज लामो प्रतिवेदनका अंश पढेर सुुनाएका थिए।

हालै युनिफिकेशन चर्चको सम्मेलनमा सरकार सहआयोजक बनेकोदेखि मन्त्री परिषद् गठन, सरकार तथा दल सञ्चालनमा ओलीका त्रुटि औल्याउँदै तत्काल तिनीहरुलाई संवोधन नगरे जनताको नजरमा सरकारप्रति वितृष्णा बढ्ने चेतावनी समेत उनले दिएका छन्।

सचिवहरु मन्त्रीबाट नभई प्रधानमन्त्रीबाट निर्देशित

सरकारलाई राम्रो बनाउन मलाई केही भन्नु छ भन्ने प्रारम्भिक अभिव्यक्तिका साथ उनी ओलीविरुद्ध खनिएका थिए। उनले शान्ति प्रक्रियाले अझै पूर्णता नपाएकोदेखि राष्ट्रिय अनुसन्धान लगायतका निकायहरु प्रधानमन्त्री कार्यालयमा गाभिएको र सचिव तथा मन्त्रीहरुबाट नभई प्रधानमन्त्रीबाट सिधै निर्देशित हुने गरेकामा आपत्ति जनाए।

पटकपटक उनले अहिलेको परिस्थितिले इतिहासकै सर्वशक्तिमान पार्टीलाई अर्को चुनावमा जनताबाट दण्डित हुने परिस्थितिबारे प्रधाननमन्त्री तथा पार्टी नेतृत्वलाई चेतावनी दिइनै राखे। ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउदा पार्टी कमिटी बैठकबाट निर्णय गराउनुको सट्टा हतारहतारमा संसदीय दलको नेता मनोनीत गरी त्यसै दिन साँझ राष्ट्रपतिबाट शपथ दिलाउनु, मन्त्रीपरिषद्लाई विभिन्न चरणमा विस्तार गर्दा पार्टीलाई संलग्न नगराउँनु, पार्टीको संस्थागत निर्णय बिना थप्नु, नीति तथा कार्यक्रम र बजेटबारे पार्टी एवं नेताहरुलाई जानकारी नगराउनु, राष्ट्रियसभामा तीन जना सदस्यहरू मनोनयन गर्दा पार्टीको कुनै सल्लाह सुझाव नलिनु ओली कार्यशैलीका प्रमाण भएको उनले बताए।

नेताहरुको शीरमाथि तरवार झुण्डिरहेको छ

त्यस्तै गौतमले प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया समाप्त भएको दावीलाई चुनौति दिँदै त्यसका महत्वपूर्ण काम वेपत्ता पारिएका व्यक्तिको छानविन र सत्यनिरुपण तथा मेलमिलाव आयोगको काम अहिले सम्म सम्पन्न नभएको बताए। यो काम सम्पन्न नगर्दासम्म तत्कालिन दुवै युद्धरत पक्षका अनेकन नेताहरुको शीरमाथि तरवार झुण्डिरहने उनले चेतावनी दिएका छन्। यस्तै विभिन्न देशका राजदूतहरू नियुक्त गर्दा पार्टीको कुनै निकायमा छलफल नगरिएकोमा उनले आपत्ती जनाए।

एसिया प्यासिफिक समिटको सहभागिता माथि प्रश्न

हालै काठमाडौँमा सम्पन्न एक चर्चको एसिया प्यासिफिक समिटमा पार्टीका उच्च पदस्थ नेताहरू, केन्द्र, प्रदेश र स्थानीय तहका सरकारहरूलाई सामेल गराउँदा त्यसबारे पार्टीबाट निर्णय नगराइएकोमा पनि गौतमले आपत्ती जनाए। पार्टीका अर्का प्रभावशाली नेता भीम रावलपछि यसबारे प्रधानमन्त्री ओलीको आलोचनामा गौतम पनि उत्रेर रावललाई थप रक्षात्मक बनाएका छन्। नौ महिनामा सरकारले प्रगतिशील परिवर्तन र प्रगति पथमा अघि बढ्न नसकेको सावित गरेको, संविधानले मार्गदर्शन गरेको समाजवाद उन्मुख सामाजिक—आर्थिक रूपान्तरणको कुनै कार्य नगरेको, निर्वाचन घोषणापत्रका नीति र कार्यक्रम कार्यान्वयन गर्न नसकेको र पार्टीमा छलफल गरी कुनै रणनीतिक योजना समेत तर्जुमा नगरेको आरोप पनि उनले ओलीमाथि लगाए।

मन्त्री र नेताहरुमा दुई तिहाई बहुमतको दम्भ

गौतमले जनतालाई तत्काल गास, बास, शिक्षा, स्वास्थ्य र रोजगारी तथा सम्मानपूर्ण समृद्ध जीवन चाहिएपनि सरकार गम्भीरताका साथ त्यसतर्फ नलागेको बताए। मन्त्रीहरू र पार्टीका ठूला नेताहरूमा दुई तिहाई बहुमतको सरकारको दंभ देखिएता पनि वर्तमान सरकार दिनानुदिन अलोकप्रिय बन्दै जनताबाट विस्थापित भइरहेको दावी पनि उनले गरे। प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति कटाक्ष गर्दै गौतमले भने,’ पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले जति आह्वान गरे पनि कार्यकर्ताहरू न त अरिंगाल बन्न सकेका छन् न मौरी बनेर मह दिन सकेका छन्।’ उनले दुई तिहाई समर्थन प्राप्त सरकारको पक्षमा न संसदमा, न सडकमा, न छापामा, न भाषणमा, न बोलीमा, कतै पनि समाजका जिम्मेवार व्यक्ति तथा जनताले पक्षपोषण नगरेको बताए । ‘चारैतिर नेकपाका नेता, कार्यकर्ता तथा सदस्यहरू ऊर्जा समाप्त भएका उत्साहहीन, चिन्तित र मौनधारणको अवस्थामा छन्,’ उनले भने अझ ओलीप्रति प्रत्यक्ष हमला गर्दै उनले भने,’ यस्तो अवस्था कसरी सिर्जना भयो? सरकारमा गएका र बाहिर रहेका पार्टीका नेताहरूले स्पष्ट जवाफ दिने आवश्यकता ठानेका छैनन्। सरकारका कमजोरीहरूमाथि पर्दा लगाउने कोसिस भने गरिरहेका छन्।’

अलोकप्रिय नीति, कार्यक्रम र बजेट

केन्द्र, प्रदेश र स्थानीय तहमा नेपाल कम्युनिस्ट पार्टीको वर्चश्वयुक्त सरकार बनेपनि सरकारले अवसरको सदुपयोग गर्नुको सट्टा उपरोक्त सबै आधारहरूलाई बेवास्ता गर्दै योजना आयोगको जानकारीबिना नै गैरजिम्मेवार र अलोकप्रिय नीति, कार्यक्रम र बजेट प्रस्तुत ग¥यो। यसले आमनेपाली जनताको आशामा तुषारापात गराएको आरोप पनि उनले लगाए। उनले भने,’सरकारको विरोधमा पार्टीबाट कोही लागेको छैनन् तर बजेटलाई समर्थन पनि कसैले गरेका छैनन्। उनले भने,’ पार्टीमा कुनै पनि छलफल नगरी नीति प्रतिष्ठान बनाइएको तर प्रतिष्ठानले योजना आयोगको भन्दा भिन्न के काम गर्छ र योजना आयोगसँग यसको तादाम्य कसरी हुन्छ भन्ने कुनै कानुनी आधार छैन।’ सरकारको यस्तो कार्यबाट योजना आयोग सदस्यहरु अचम्मित भएको दावी गरे। प्रधानमन्त्री योजनामै नपरेका विषयहरूलाई चमत्कारीक रूपमा प्रस्तुत गर्नुहुन्छ र मन्त्रीहरू पनि त्यसकै अनुसरण गरिरहेका छन्,’ गौतमले थप आरोप लगाए।

मन्त्रीहरुको स्वायत्तता  किन खोसियाे

गौतमले प्रधानमन्त्रीले मन्त्रीहरुको स्वायत्तता खोसेको र सर्वशक्तिमान बनेको घुमाउरो आरोप लगाए। ‘मन्त्रालयका सचिवहरू मन्त्रीहरूको होइन, प्रधानमन्त्री कार्यालयको निर्देशनमा काम गर्छन् र दैनिक प्रतिवेदन पनि उतै पठाउँछन्। मन्त्रालयहरूले गर्ने निर्णय र नियुक्तिहरू प्रधानमन्त्रीको निर्देशन बमोजिम गरिन्छन्। यस्तो अवस्थामा मन्त्रीहरू मान खाने व्यक्ति बन्न पुगेका छन्,’ उनले भने। ‘अहिले त लगानी बोर्ड तथा मन्त्रालयहरूले गर्ने विकास निर्माणका ठूला कामहरू पनि प्रधानमन्त्री कार्यालय अन्तर्गत लगिने भएका छन्,’ उनले अगाडी भने। गौतमले वर्तमान अवस्थामा सक्रिय र प्रधावकारी रूपमा संचालन गरिनुपर्ने राष्ट्रिय अनुसन्धान विभाग जस्तो संस्थालाई कुनै कानुनी आधारबिना प्रधानमन्त्री कार्यालयमा तानिएकोमा आपत्ती जनाउँदै त्यसको प्रभावकारितामा अवरोध पुगेको बताएका छन्।

भ्रष्टाचार रोक्न प्रधानमन्त्री असफल

उनले भ्रष्टाचार, कालोबजारी, घुसखोरीका घटनाहरू बढ्दै गएको चर्चा स्वयं प्रधानमन्त्रीले गरेको सुनिन थालेको र श्रमशक्तिकारूपमा रहेका लाखौँ युवालाई स्वदेशमै रोजगारी सिर्जना गरी काममा लगाउनुको बदला वैदेशिक रोजगारमा जानका निम्ति सहजता, सुगमता र सुलभता प्रदान गरिएकामा आक्रोश पोखेका छन्। गौतमले बहुराष्ट्रिय सैनिक अभ्यासमा नेपालको सहभागिता, बेलायती सेनामा नेपाली महिलाहरूको भर्तीको सुरुवातदेखि एसिया प्रसान्त क्षेत्रीय सम्मेलनका साथै नागरिकतासम्बन्धी विधेयकमा समेत राष्ट्रिय स्वाधीनताका विरुद्धमा कमजोरी प्रकट भएको बताएका छन्।

शक्तिशाली पार्टी नेकपालाई गम्भीर धक्का

यी असफलताको परिणामबारे सचेत गराउँदै उनले भने,’ नेपाली इतिहासमा पहिलो स्थिर र शक्तिशाली सरकारको यही गति र अवस्था रह्यो भने अब हुने आमनिर्वाचनमा सरकारले आफूलाई मात्र होइन, इतिहासको पहिलो शक्तिशाली पार्टी नेकपालाई समेत गम्भीर धक्का लगाउने पक्का देखिन्छ।’ सुझावस्वरुप उनले प्रधानमन्त्रीलाई आग्रह गरे,’ नेकपा र आजको यो सरकारलाई असफल हुने कुनै छुट छैन। पार्टी र सरकारको सम्पूर्ण शक्ति त्यसतर्फ परिचालित हुनुपर्छ। जसले असफल गराउने भूमिका खेल्नेछ, त्यसलाई इतिहासले कहिल्यै क्षमा दिने छैन।

त्यसअघि प्रधानमन्त्री ओलीले आफु नेतृत्वको सरकारले असाधारण सफलता प्राप्त गरेपनि त्यो जनतालाई बुझाउन नेता कार्याकर्ता अग्रसर हुन नसकेको गुनासो गरेका थिए। ‘पार्टी पंक्ति एक भएर सरकारी कामकारवाहीलाई जनतासम्म पु¥याउनु पर्ने अहिलेको दायीत्व हो,’ प्रधानमन्त्री ओलीलाई उद्धित गर्दै बैठकमा सहभागि अर्का एक नेताले देशसञ्चारसँग भने। दाहालले पनि ओलीसँग मिल्दो अभिव्यक्ति दिँदै नेतृत्वको कार्यशैलीमा असन्तुष्ट स्थायी समितिका सदस्यहरुलाई फकाउने कोशिस गरेका थिए।

उनले भनेका थिए,’ जनताको विकास र समृद्धिको चाहना पुरा गर्न हामी एक हुनुको विकल्प छैन । आन्तरिक संंघर्षको अन्त्य गर्दै एकतामा बाँधिएर अघि बढ्नु पर्छ अनि मात्रै हाम्रो जनतासँग गरेको प्रतिवद्धता कार्यान्वय हुने छ।’

बैठक अघि पहिले दाहालले मंसिर २२ गते नेतृत्वले निर्धारित समयको पालना नगरेको भन्दै पार्टीको बालुवाटारको केन्द्रीय सचिवालय बैठक परित्याग गरेका वरिष्ठ नेता माधवकुमार नेपाल, नझलनाथ खनाल, वामदेव गौतम र नारायणकाजी श्रेष्ठसँग छुुट्टै छलफल समेत गरेका थिए।

मंसिर २९, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्