कर्मचारी समायोजनका लागि अनलाइन फारम भर्न हेल्प डेस्क सञ्चालन गर्ने

फाइल फोटो

काठमाडौँ – सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारी समायोजनका लागि अनलाइन फारम भर्न सबै सरकारी कार्यालयमा ‘हेल्प डेस्क’ सञ्चालनमा ल्याउने भएको छ ।

समायोजनमा जाने कर्मचारीलाई सहज र सुलभका लागि हेल्प डेस्क सञ्चालन गर्न थालिएको मन्त्रालयका समायोजन शाखाका प्रमुख केदार पनेरुले जानकारी दिए । समायोजनमा जाने सबै कर्मचारीले सोही डेस्कबाट नै फारम भर्नुपर्नेछ । उनका अनुसार मन्त्रालय, आयोग, सचिवालय, सातवटै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जिल्ला प्रशासन कार्यालय, जिल्ला समन्वय समिति र सबै स्थानीय तहमा सो डेस्क सञ्चालन हुनेछन् ।

सबै सरकारी कार्यालयमा डेस्क सञ्चालन गर्नका लागि मन्त्रालयले पत्राचार गरिसकेको छ । उनले पुसको पहिलो हप्ताभित्रमा डेस्क सञ्चालन गरिने बताए ।

समायोजनमा जाने कर्मचारीका लागि सबै स्थानीय तहमा बिहान ८ देखि साँझ ६ बजेसम्म डेस्क सञ्चालन हुनेछ ।

मन्त्रालयले पुस मसान्तभित्र कर्मचारी समायोजन गरिसक्ने गरी आवश्यक सबै तयारी सुरु गरेको छ । अनलाइन फारम भर्नका लागि मन्त्रालयले अहिले सफ्टवेयर बनाइरहेको छ । सङ्घीय संरचनाअनुसार सङ्घ, प्रदेश र स्थानीय तहमा सरकारले कर्मचारी समायोजन गर्न थालेको हो ।

पुस १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्