गलत नम्बरको लभले आत्महत्या गरायो

नेपालगञ्ज – बर्दिया बाँसगढीका देवले ‘जहाँ पर्छ, पर्छ’ भनेर मोबाइलबाट जथाभावी नम्बर डायल गरे । ठाकुरबाबा नगरपालिकाकी रञ्जना विष्टको मोबाइलमा घण्टी बज्यो । उताबाट केटीको आवाज आएपछि देव खुशी भए । वास्तवमा उनले केटीकै खोजीमा जथाभावी नम्बर डायल गरेका थिए । त्यसदिन रंगनम्बरको बहानामा देवको केहीबेर रञ्जनासँग कुराकानी भयो ।

त्यसपछि देवले रञ्जनालाई दैनिकजसो नै फोन गर्न थाले । तीन वर्ष कतार बसेर आएका देवले फोन गरिरहेपछि रञ्जना पनि आकर्षित भइन् । उनी देवको ‘देखावटी’ प्रेममा फसिन् । देवले हप्तामा एक सय ३५ पटकसम्म फोन गरको खुलेको छ । दुईका बीचमा कुराकानी भइरह्यो ।

रङनम्बरबाट शुरु भएको ‘गफ’ मायाप्रेममा बदलियो । उनीहरुको यो सिलसिला तीन महिनासम्म चल्यो । एक महिनाअघि बर्दियाको भूरीगाउँमा दुवैले भेटघाट गरे । फोनमा सीमित रहेको मायाप्रेम अंगालोमा बाँधियो । एक दिन बाँकेको कोहलपुरमा भेटेर एकरात होटलमा पनि बसे । अविवाहित रञ्जना विवाहित देवको ‘चंगुल’मा फस्दै गइन् ।

मंसीर २३ गते कोहलपुरको मुगु होटलको एउटा कोठामा रञ्जनाले झुण्डिएर आत्महत्या गरिन् । रञ्जनालाई होटलमा बसाएका देव राती त आएनन् नै, भोलीपल्ट पनि मोबाइल स्वीचअफ गरेर सम्पर्कविहीन भए ।

‘जसका लागि घरपरिवार त्यागेर कोहलपुरसम्म आएकी थिइन्, उही व्यक्तिले धोका दिएपछि’ रञ्जनालाई सैह्य भएन । उनले प्राण त्यागिन् । यी सबै कुरा रञ्जनाले ‘सुसाइड नोट’मा लेखिन् । उनले विहे गर्छु भनेर मायाप्रेममा पारेर धोका दिएको सुसाइड नोटमा लेखिकी छन् ।

प्रहरीमा जाहेरी त आत्महत्यामै आएको छ । रञ्जनाको साथबाट सुसाइड नोट फेला परेपछि घटनाले नयाँ रुप लिएको छ । प्रहरी देवको खोजीमा लागेको छ ।
नयाँ कानूनमा ‘मर्न बाध्य पार्ने’लाई पाँच वर्षसम्म कैदको व्यवस्था गरिएको छ ।

नेपालगञ्जमा रंगनम्बरबाट लभ परेर जोखिमपूर्ण यात्रामा जानेको तथ्यांक पनि कम छैन । नियत खराब रहेका तथा दलालले रंगनम्बर, मिसकलको रणनीति अपनाउने गर्दछन् । रंगनम्बर आएर एकपटक कुराकानी भएर टुंगिएपछि फेरि त्यही नम्बरमा फोन आउदा ‘मस्किने’ युवतीहरु जोखिममा पर्ने गरेका छन् । त्यहीमध्येकी रञ्जनाले अन्ततः धोकामात्रै पाइनन्, संसार नै त्यागिन् ।

पुस १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्