प्रधान न्यायाधिशमा सिफारिस जबराबारे सुनुवाई प्रक्रिया सुरु

संसदीय सुनुवाई विशेष समितिको बैठक। फाइल तस्बिर

काठमाडौँ – संसदीय सुनुवाई विशेष समितिले प्रधान न्यायाधिशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश चोलेन्द्रशमशेर जबराको सुनुवाई प्रक्रिया सुरु गरेको छ ।

संसदीय सुनुवाई विशेष समितिको आइतबार बिहान सिंहदरबारमा बसेको बैठकले प्रधानन्यायाधिशमा सिफारिस सर्वोच्च अदालतका न्यायाधिश जबराविरुद्ध उजुरी दिन सोमबारबाट आह्वान गर्ने निर्णय गरेको हो ।

गत बिहिबार बसेको संवैधानिक परिषदको बैठकले जबरालाई प्रधानन्यायाधिशमा सिफारिस गर्ने निर्णय गर्दै सुनुवाई गर्न समितिलाई पत्राचार गरेको थियो । सोही पत्राचारमाथि छलफल गर्दै समितिले भोली (सोमबार)बाट १० दिनसम्मका लागि प्रधानन्यायाधिशमा सिफारिस जबराविरुद्ध उजुरी आह्वान गर्ने निर्णय गरेको हो । प्रधानन्यायाधिशमा सिफारिस जबराविरुद्धको उजुरी सोमबारबाट आह्वान गर्ने निर्णय गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

प्रधानन्यायाधिशमा सिफारिस जबराविरुद्ध आह्वान गरिएको उजुरीको म्याद १० दिनमा सकिएपछि सो उजुरीको सम्बन्धमा उजुरीकर्तासँग आवश्यक छलफल गर्नुपर्ने हुन्छ ।

सभापति कर्णले उजुरीकर्ताको उजुरीउपर छलफल गरेपछि तत्काल प्रधानन्यायाधिशमा सिफारिस जबरासँग सुनुवाई हुने पनि स्पष्ट पारे ।

समितिले जबराको सुनुवाई चित्त बुझे प्रधानन्यायाधिशमा उनको नाम अनुमोदन गर्नेछ । संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि जबरालाई राष्ट्रपतिले प्रधानन्यायाधिशमा नियुक्त गर्ने संवैधानिक व्यवस्था छ । यस अघि संसदीय सुनुवाई विशेष समितिले अयोग्य ठहर गरेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधिश दिपकराज जोशीपछि दोस्रो वरियतामा रहेका भएका जबरालाई संवैधानिक परिषदले प्रधानन्यायाधिशमा सिफारिस गरेको हो ।

पुस १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्