बेपत्ता युवतीको खोजी कार्य प्रगतिको फाइल लिएर आउन दिल्ली पुलिसलाई महिला आयोगको पत्राचार

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीस्थित संस्कार आश्रमबाट बेपत्ता भएका ८ नेपालीसहित ९ युवतीको खोजीमा भइरहेको ढिलाईबारे दिल्ली महिला आयोगले दिल्ली पुलिसको क्राइम ब्राञ्चलाई प्रष्टीकरणका लागि बोलाएको छ।
गत डिसेम्बर एक तारिख राति आश्रमबाट बेपत्ता भएका किशोरीहरुको खोजीका लागि दबाव दिँदै आएको महिला आयोगले अहिलेसम्म गरिएको प्रयास र सफलताको जानकारी दिन क्राइम ब्राञ्चलाई आउँदो मंगलवार १८ डिसेम्बरका दिन उपस्थित हुन पत्र काटेको हो।
आयोगले घटनामा गरिएको अनुसन्धानको वर्तमान प्रतिवेदन, घटनासँग सम्बन्धित सम्पूर्ण फाइलको प्रतिलिपि र यस घटनासँग सम्बन्धित अन्य रेकर्डहरुसहित क्राइम ब्रााञ्चलाई व्यक्तिगत रुपमा आयोगमा उपस्थित हुन भनेको छ। आश्रमबाट बेपत्ता भएका ८ नेपालीसहित ९ जनाको अवस्था अझै अज्ञात रहेको पुलिसको भनाई छ।
तर, दिल्ली महिला आयोगको बारम्बारको खोज–खबरका कारण प्रशासनलाई बेपत्ता भएका किशोरीहरुको खोजबिन गर्न दवाव परिरहेको छ। दिल्ली महिला आयोगले बेपत्ता भएका किशोरीहरुलाई आश्रमका कर्मचारी र वेश्यालय सञ्चालकको मिलेमतोमा फेरि वेश्यालय पुर्याइएको आशंका व्यक्त गर्दै आएको छ।
त्यसैगरी, सञ्चारमाध्यममा बेपत्ता भएका युवतीहरु २२ वर्षमुनिका भएको बताइएपनि आयोगले संस्कार आश्रममा कम उमेरका बालिकाहरु (माइनर गर्ल्स) लाई राख्ने आश्रम भएकाले उनीहरु सबै कम उमेरका भएको हुनसक्ने बताउदै आएको छ।
घर पुर्याइदिन आग्रह गर्दै करिब १ वर्षदेखि हारगुहार गरिरहेका ८ नेपाली किशोरीहरुसहित ९ जना दिल्लीको दिलशाद गार्डेनस्थित संस्कार आश्रमबाट गत १ डिसेम्बरको रातमा बेपत्ता भएका हुन्। बेपत्ता भएका नेपाली किशोरीहरुमा १८ वर्षदेखि २२ वर्षसम्मका रहेको दावी गरिएको छ।
उनीहरु ३ जना नुवाकोटकी, २ जना काभ्रेका, तेह्रथुम, मकवानपुर र सिन्धुपाल्चोकका एक–एक जना रहेका छन्। विभिन्न बहानामा ल्याइएका कम उमेरका किशोरीहरु जीबी रोडका कोठा नम्बर ५६ र ६४ मा रहेको जानकारी पाइएपछि दिल्ली महिला आयोगले क्राइम ब्राञ्चको सहयोगमा २४ र २५ नोभेम्बर २०१७ का दिन २ पटक छापा हानेर १७ जनाको उद्दार गरेको थियो। त्यसमध्ये १४ जना नेपाली किशोरी थिए।
उनीहरुलाई उद्दार गरिएपछि उनीहरुको आफन्तलाई बुझाउनका लागि तत्कालका लागि सरकारी महिला आश्रय गृह (नारी निकेतन र निर्मल छाया कम्पलेक्स) मा राखिएको थियो। त्यसपछि उनीहरुलाई क्याटेलिस्ट नामक आश्रय गृहमा राखिएको थियो।
त्यस दौरान क्याटेलिस्ट आश्रय गृहबाटनै ४ किशोरीहरु बेपत्ता भएका थिए। उनीहरुको आजसम्म पत्तो लागेको छैन। बाँकी रहेका १० जनामध्ये २ जनालाई कोर्टको माध्यमबाट आफन्तलाई बुझाइएको थियो। ८ किशोरीहरुलाई गत ४ मे २०१८ का दिन संस्कार आश्रममा पठाइएको थियो।