कांग्रेस महासमिति बैठक

हिन्दु राष्ट्रको हैसियत फर्काउन पाँच सयभन्दा बढीको हस्ताक्षर

काठमाडौँ— नेपाललाई हिन्दुराष्ट्रको हैसियतमा फर्काउने व्यवस्था विधानमै समावेश गर्न नेपाली कांग्रेस महासमितिका पाँच सय भन्दा बढी सदस्यहरुले हस्ताक्षर गरेका छन्।

त्यसमा राजधानीदेखि डढेलधुरादेखि स्याङ्जासम्मका महासमिति सदस्य संलग्न छन्। कांग्रेस महासमिति बैठक सुरु भएदेखि नै सुरु भएको हस्ताक्षर अभियानमा आइतबार दिउँसोसम्म पाँच सय जना सामेल भएको हिन्दु राष्ट्रका पक्षधर बैतडीका महासमिति सदस्य उत्तरबहादुर ऐरले जानकारी दिए।

उनका अनुसार उक्त हस्ताक्षरपत्र आइतबार सभापति शेरबहादुर देउवालाई बुझाउने या सोमबार महासमितिको बन्दसत्रमा पेश गरिने कार्यक्रम रहेको छ।

सिंहदरबार गेट अघिको यलम्बर पार्टी प्यालेसमा जारी बैठकमा ती सदस्यहरुले नेपाललाई हिन्दु राष्ट्र निर्माणको विकल्प नभएको र त्यो कांग्रेसबाटै संभव भएको भन्दै नेतृत्वलाई दबाब दिएका छन्।

महासमिति बैठकमा एजेण्डा उठान गर्न चार सय संख्या आवश्यक पर्छ। ‘९२ प्रतिशत ओमकार जनसंख्या रहेको यो मुलुकमा विदेशीको दबाबमा धर्मनिरपेक्ष राष्ट्र घोषणा गरियो । हिन्दुराष्ट्र कायम गर्ने या नगर्ने भन्नेबारे जनमत संग्रह गर्नु पर्थ्यो। त्यो पनि गरिएन। त्यसैले कांग्रेसले हिन्दु राष्ट्र निर्माणको अभियानमा लाग्नु पर्छ,’ बैतडीका महासमिति सदस्य ऐरले भने।

हस्ताक्षर संकलनका अर्का एक अभियान्ताका अनुसार हिन्दु राष्ट्रका पक्षमा कांग्रेसका अधिकांश शीर्ष नेताहरु पनि रहेको तर अहिले नै सार्वजनिक हुन चाहेका छैनन्।

यसअघि कांग्रेसका महामन्त्री शशांक कोइरालाले हिन्दु राष्ट्रका लागि जनमत संग्रह गर्नु पर्ने अभिव्यक्ति दिएका थिए।

पुस १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्