ब्रेकअपपछि भावुक हुँदै सामाजिक सञ्जालमा नेहा कक्कडले पोखिन् मनको बह

मुम्बई – गायिका नेहा कक्कड आफ्नो गीतका कारण मात्रै चर्चित छैनन्, उनी टेलिभिजनका लागि एकदमै परिचित अनुहार हुन्। अहिले उनी भारतको गायक रियालिटी शो ‘इन्डियन आइडल १०’ की निर्णायक पनि छिन्। उनी स्वच्छ व्यवहार गर्ने व्यक्तित्वको रुपमा पनि परिचित छिन्।

हिजोआज उनी प्रेम विछोडको प्रसंगबाट पनि चर्चित छिन्। उनको नायक हिमांश कोहलीसँग ब्रेकअप भएको छ। ब्रेकअपपछि भावुक हुँदै उनले आफ्नो इन्स्टाग्राममा एउटा नोट लेखेकी छन्।

‘मलाई थाहा छ सेलिब्रेटी भएर मैले यस्तो लेख्नु हुने थिएन। तर म पनि मानिस हुँ, आज केही बढी टुटेकी छु, त्यसैले मेरो भावनालाई बाध्न सकिँन। थाहा छ, सेलिब्रेटीको दुई वटा अनुहार हुन्छ। एउटा, व्यावसायिक र एउटा व्यक्तिगत। व्यक्तिगत जीवन जति नै खराब भएपनि व्यावसायिक जीवनमा हामीलाई सधैँ हाँसिरहेको देख्नुहुन्छ।’

‘मलाई थाहा छ सबैले यसको बारेमा धेरैले कुरा गर्छन्। मानिसहरु म कस्ती भनेर अड्कल काट्छन्। मलाई थाहा छैन उनीहरु के भन्छन्। कोहीले पक्कै भन्नेछन्, –जुन काम मैले कहिले पनि गरेको छैन। मलाई यस्ता सबै कुरा सुन्ने बानी नै भइसक्यो,’ उनले लेखेकी छिन्।

नेहा कार्यक्रमका सहभागीले मायाको गीत गाउँदा निकै भावुक देखिइन्। केही समय अगाडि हिमांशले इन्डियन आइडलको सेटमा नेहालाई भेट्न आएका थिए। उनले त्यति बेला आफ्नो भावना पोखेका थिए। नेहालाई साथीभन्दा माथि रहेको बताएका थिए। उनले त्यतिबेला ‘नेहाले हुन्छ भने विवाह गर्न पनि तयार भएको’ बताएका थिए।

अहिले उनीहरुको ब्रेकअप भएको खबर आएको छ। डिबी पोस्ट डटकमका अनुसार नेहा अहिले नराम्रो समयमा छिन्। उनी सुटिङको सेटमा नै रोइन्। सेटमा सधैँ मस्त, खुशी देखिने नेहा सधैँजस्तो देखिएकी थिइनन्।

भर्खरै नेहाले गाएको ‘सिम्बा’ को गीत ‘आँख मारे’ हिट भएको छ। योभन्दा अगाडि ‘सत्य मेव जयते’मा उनले गाएको दिलबर गीत चर्चित भएको थियो।

पुस १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्