एसईई दिने छात्राको हत्यामा अदालतको फैसला

गोरीकलाका हत्यारालाई ३२ वर्ष कैद, प्रहरी पनि ठहरिए अपराधी

सुर्खेत – सुर्खेतको पञ्चपुरी नगरपालिका–३ चौरकी गोरीकला रोकायको हत्यामा संलग्न तीन जनालाई अदालतले जन्मकैद फैसला सुनाएको छ।

पञ्चपुरी–८ का लक्ष्मीप्रसाद बास्तोला, खुमप्रसाद बास्तोला र दैलेख घर भई इलाका प्रहरी बाबियाचौरका ट्राफिक प्रहरी हरीप्रसाद कोइरालालाई जिल्ला अदालत सुर्खेतले दोषी ठहर गरेको हो।

सूर्यप्रकाश माध्यामिक विद्यालय पञ्चपुरी–४ पलैटेबाट एसइई दिन बाबियाचौर पुगेकी गोरीकलाको २०७४ साल चैत १३ गते हत्या भएको थियो।

१३ गते नै जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ताको भएको उक्त घटनाको २०७५ वैशाख ९ गते मात्रै जिल्ला अदालत सुर्खेतमा मुद्दा दायर भएको थियो।

वैशाख ११ गते पुर्पक्षमा राख्न आदेश दिएको अदालतले मुद्दा दायर भएको आठ महिना पछि फैसला सुनाएको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार भुपाल भण्डारीले जानकारी दिए।

फैसलाअनुसार उनीहरुलाई ३२ वर्षको जेल सजाय तोकिएको छ। हत्या र जवरजस्ती करणीको अभियोग पुष्टि गर्दै अदालतले २० वर्ष जन्मकैदसँगै थप १२ वर्ष कैद सजाय तोकेको हो। जिल्ला न्यायाधीश धुब्रकुमार शाहको एकल इजलासले गोरीकला हत्याको फौसला सुनाएको हो।

‘प्रतिवादी तीनै जनाले तत्कालिन मुलुकी ऐन २०२० को ज्यानसम्बन्धी महल १ र १३ (३) अनुसार कसुर गरेको पुष्टि हुन आएकाले नीजहरुलाई सोही महलको १३ (३) अनुसार जन्मकैदको सजाय हुनेछ,’ फैसलामा भनिएको छ, ‘नीजहरुले जबरजस्ती करणीको कसुर गरेकाले मुलुकी ऐन २०२० बमोजिम जबरजस्ती करणी महल १ र ३ नम्बर महल अनुसारको कसुर गरेकाले ३(४) नम्बर अनुसार ७ वर्ष र ३(क) अनुसार थप ५ वर्ष कैद सजाय हुनेछ।’

अदालतको फैसला अनुसार मृतकका तीनै जनाले जबरजस्ती करणी महल १० नम्बर अनुसार एक लाख क्षतिपूर्ति भराउनुपर्ने छ।

परीक्षा केन्द्र परिवर्तन हुँदा सूर्यप्रकाश माध्यामिक विद्यालय पलैटेबाट एसईई परीक्षामा दिन गोरीकला बाबियाचौर गएकी थिइन्।

वि.सं. २०७५ चैत ८ गतेदेखि शुरु भएको एसईई परीक्षामा दिन विद्याज्योति मावि बावियाचौर बसेकी गोरीकला डेरामै मृत अवस्थामा भेटिएकी थिइन्।

अंग्रेजी, नेपाली र विज्ञान विषयको परीक्षा दिएकी गोरीकलाको हत्या २०७४ चैत १३ गते राती भएको थियो। हत्यामा संलग्न लक्ष्मी, खुम र हरीलाई जिल्ला कारागार सुर्खेतमा राखिएको छ।

 

पुस १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्