नेपालगञ्जमा हर्न निषेध

हर्न बजाउने चालकलाई पाँच सय रुपैयाँको चिट

फाइल तस्बिर।

नेपालगञ्ज – सवारी साधनमा हर्न बजाउने बानी छ? यदि यस्तो बानी छ भने हटाई हाल्नुस्। ट्राफिक प्रहरीले आइतबारदेखि नेपालगञ्जमा हर्न बजाउनेलाई जरिवाना काट्न शुरु गरेको छ।

नेपालगञ्ज उपमहानगरपालिकालाई हर्न निषेधको घोषणा एक महिनाअघि नै गरिएको हो। ट्राफिक प्रहरीले एक महिना जनचेतनाका लागि भन्दै छुट दिएको थियो। आइतबारदेखि प्रहरीले ठाउँको ठाउँको जरिवाना तिराउन शुरु गरेको छ।

आइतबार हर्न बजाएका १२ वटा सवारीसाधनलाई कारबाही गरिएको छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयका इञ्चार्ज हिरेन्द्र रोकायका अनुसार ५ वटा मोटरसाइकल, तीन वटा कार, जीप, दुई–दुई वटा बस र ट्रक कारबाहीमा परेका छन्। यी सवारी साधनलाई कारबाही गरेवापत ५ हजार पाँच सय रुपैयाँ राजश्व असुली भएको छ।

प्रहरीले पहिलो पटकलाई पाँच सय रुपैयाँ जरिवाना गराएको छ। जरिवाना एक हजार पाँच सयसम्म हुने रोकायले बताए। ‘पहिलो पटकलाई भनेर हामीले पाँच सय तिराएका छौं, दोस्रो पटकमा एक हजार र तेस्रो पटकमा एक हजार पाँच सय रुपैयाँ जरिवाना गर्छौं,’ ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरीक्षक भीम वलीले भने।

ट्राफिक प्रहरीले ‘नो हर्न’को घोषणा गरेसँगै बजारमा हर्न बजाउन कम भएको छ। अहिले बजारमा आउने भारतीय नम्बर प्लेटका मोटरसाइकलले बढी हर्न बजाइरहेका छन्।

सीमावर्ती बजार भएकाले नेपालगञ्जमा दैनिक ठूलो संख्यामा भारतीय नम्बर प्लेटका मोटरसाइकल भित्रिन्छ। उनीहरुलाई यहाँ हर्न बजाउन पाइदैन भन्ने थाहा नभएकाले पनि हर्न बजाइरहेका छन्। यद्यपि, शहरका ठाउँटाउँमा नो हर्नका बोर्डहरु लगाइएको छ।

ट्राफिक प्रहरीको बजारमा त्यति उपस्थिति छैन। चोकचोकमा बसेका ट्राफिक प्रहरीलाई देखेपछि मात्रै हर्न बजाउन रोक्ने गरिएको छ।

जताततै प्रहरीको उपस्थिति जनाउने तथा दैनिक नै कारबाही प्रक्रिया अघि बढाउने हो भने नेपालगञ्ज हर्न निषेध हुनेमा दुई मत नरहेको सरोकारवालाहरुको धारणा छ।

पुस १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्