बदलिदो कृषि प्रणाली

औजारीकरणले कृषिमा समृद्धिः ११ वटा कस्टम हाइरिङ सेन्टर स्थापना

कस्टम हाइरिङ सेन्टरमा राखिएका कृषि औजार। तस्बिरः दशरथ घिमिरे/देश सञ्चार

दाङ – प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै सुपरजोनले राजपुर गाउँपालिका वडा नम्बर–२ मा रहेको सूर्याेदय कृषक बहुउद्देश्यीय सहकारी संस्थालाई कृषि औजार हस्तान्तरण गरेको छ।

मकै सुपरजोन र सहकारी संस्थाको ५०–५० प्रतिशत लगानीमा जग्गा चक्लाबन्दी कार्यक्रम अन्तर्गत स्थापना गरिएको कस्टम हाइरिङ सेन्टरको लागि कृषि औजार हस्तान्तरण गरिएको हो।

२६ लाखको लागतमा मकै छर्ने मेसिन ट्रयाक्टर, मकै गोड्ने मेसिन २ वटा, मकै छोडाउने मेसिन, धान, गहुँ काट्ने मेसिन, मकै छर्ने हाते मेसिन ज्याव प्लान्टर १२ वटा हस्तान्तरण गरिएको छ।

दाङ जिल्लामा योसँगै ११ वटा कस्टम हाइरिङ सेन्टर स्थापना भएका छन्। लमही नगरपालिकामा ५ वटा, राप्ती गाउँ पालिकामा ५ वटा कस्टम हाइरिङ सेन्टर स्थापना भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन इकाई लमहीका प्रमुख महेश रेग्मीले जानकारी दिए। कस्टम हाइरिङ सेन्टरमा रहेका कृषि औजारका सामग्री किसानले सहुलियतमा भाडामा औजारको उपभोग गरेर उत्पादन बढाउन सक्नेछन्।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका संघीय सचिव डाक्टर युवकध्वज जिसी र प्रदेश सभा सदस्य रेवतीरमण शर्माले संयुक्त रुपमा सहकारी संस्थालाई कृषि औजार हस्तान्तरण गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि कृषि तथा पशुपक्षी विकास मन्त्रालयका संघीय सचिव डाक्टर युवकध्वज जिसीले कृषिको व्यवसायिकरणले मात्रै देशलाई समृद्ध बनाउन सक्ने बताए।

‘कृषिको उत्पादकत्व बढाउन आवश्यक छ, कृषि क्षेत्रामा आकर्षित गर्न कृषि पेशालाई सम्मानित बनाउनु पर्छ,’ उनले भने, ‘उत्पादकत्व बढाउन उन्नत बिउको प्रयोग र प्रविधि हो। यान्त्रीकरणमा जानै पर्छ।’

प्रदेशसभा सदस्य रेवतीरमण शर्माले कृषिमा यान्त्रीकरण र व्यवसायीकरण गर्न प्रदेश सरकारले ध्यान दिएको बताए। ‘सुखी जनता समृद्ध नेपालको अवधारणा साकार बनाउन कृषि क्षेत्रको विकासले सम्भव छ,’ उनले भने, ‘सन्तुलित विकासका लागि सबैले ध्यान दिनुपर्छ।’

पुस १, २०७५ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्